भ्रष्टाचारको स्वरुप फेरियो, भ्रष्टाचारीहरु पैसा छाडेर सेयर, सुन र हिरामा लागे: स्वर्णिम वाग्ले



राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदसमेत रहेका अर्थशास्त्री डा स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणलाई सामसुम हुन दिन नहुने बताएका छन् । प्रहरीको अनुसन्धान हस्तक्षेप विना अघि बढ्नु पर्ने उनको भनाइ छ ।

आइतबार काठमाडौंमा आयोजित नक्कली शरणार्थी प्रकरणसम्बन्धी बहसमा डा वाग्लेले ठगी, किर्ते, भ्रष्टाचार, मानवतस्करी, संगठित अपराध लगायत सबै देखिएकोले यो प्रकरण राजद्रोहमै गएर टुंगिनु पर्ने बताए ।

उनले कानुनी व्यवस्था, ऐन कानुन, मूल्य मान्यतामा टेकेर भ्रष्टाचारविरुद्धको मुद्दालाई उचाइमा पुर्याउनु पर्ने बताए ।

नक्कली भुटानी प्रकरणमा आफूले संयुक्त राष्ट्रका महासचिवलाई मेन्सन गरेर ट्विट गर्दा कतिपयले आफूलाई अन्तर्राष्ट्रियकरणको आरोप लगाएको भन्दै उनले अब नेपाल कुवाको भ्यागुता जस्तो आइसोलेटेड नरहेको बताए ।

‘नेपाल कुवाको भ्यागुता जस्तो आइसोलेटेड रहेन । लाखौं नेपाली विदेशमा हुनुहुन्छ’ उनले भने, ‘नेपालबाट सिर्जित यो घटनामा अमेरिका पठाउने काण्डबारे जानकार को हुँदैन । क्यानडा बेलायत लगायका देशमा नेपालीको उल्लेख्य उपस्थिति छ ।’

यस्ता घटनाले विदेशमा बस्ने नेपाली वा नेपाली मूलका व्यक्तिलाई नराम्रो लाग्ने र उनीहरुको आत्मसम्मानमा चोट पुग्ने उनले बताए ।

‘त्यहाँ बसेका नेपाली नागरिक वा मूलका साथीहरुका लागि सम्मानका कुराहरु भयो’ उनले भने, ‘यो राष्ट्रकै विश्वसनीयताको विषय भएको छ र यो प्रवासीसँग जोडिएको विषय हो यसलाई सामसुम हुन दिनु हुन्न ।’

अपराध अन्तराष्ट्रिय भएपछि अलिक अलर्ट बनेको उनको भनाइ छ ।

पछिल्लो समय भ्रष्टाचारीहरुको स्वरुप फेरिएको भन्दै त्यसलाई सम्बोधन गर्ने गरि नीतिगत व्यवस्था गर्नुपर्ने उनले बताए । भ्रष्टाचारीहरुले पनि अहिले आफूलाई प्रमाणीत गरेर देखाउन र जेल हाल्न चुनौती दिने अवस्था आएको उनको भनाइ थियो ।

‘भ्रष्टाचारी हो भन्ने समाजमा थाहा भएको र देखिने मान्छेले पनि अहिले ल मलाई प्रमाणीत गरेर देखान त, जेल हालेर देखा त भन्ने अवस्था कसरी आयो ?’ वाग्लेले भने, ‘यी कुराहरु महत्वपूर्ण र चुनौतीपूर्ण छन् ।’

पहिला नगदमै भ्रष्टाचार हुने गरेको भए पनि अहिले त्यसको स्वरुप फेरिएर सेयर तिर र त्यहाँबाट पनि अघि बढेर अहिले सुन हिरा तिर सरेको उनको भनाइ छ ।

‘पुरानो भ्रष्टाचारको विधि थियो होला नगद ट्रान्सफर गर्ने र तकिया मुनी राखेर बस्ने । खाडलै खनेर राखिन्थ्यो होला पहिला’ उनले भने, ‘विश्वस्त सूचनाका आधारमा खनेर पत्ता लगाइन्थ्यो होला । तर अहिले बिस्तारै सेयरका कुरा आउन थाले । हात्ताहात्ति पैसा ट्रान्सफर्म नहुने फलानोको नाममा सेयरहरु राखिदिने इत्यादी गरी कारोबार हुन थालेको छ ।’

गत निर्वाचन अघि एक जना सम्पादकले पत्रिकामा टिकट पाए वापत यति रोपनी जग्गा पास भनेर नै लेखेको भन्दै उनले पछिल्लो समय भ्रष्टारवापत लिने रकमको स्वरुप फेरिएको बताए ।

नगर र सेयरमा पनि असुरक्षित भएपछि पछिल्लो समय भ्रष्टहरुले हिरा र सुनमा ध्यान दिएको उनले बताए । ‘क्यास र सेयर पनि रिस्कि भयो भनेर हिरा र सुनमा गयो रे । यी कुराहरु महत्वपूर्ण छन् ।’

डा वाग्लेले आम्दानी र खर्चको हिसाबकिताव गर्दामात्र कयौं मानिस जेल पर्ने बताए ।

तर यी विषयहरु चुनौतीपूर्ण रहेको उनले बताए ।

आफूले यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसँग पनि कुरा गरेको उनले बताए ।

‘मैले अख्तियारका प्रमुख आयुक्त प्रेम राईलाई सूर्यनाथजीहरुले त गर्नुभयो तपाईं पनि गरेर देखाउनू न भनेर पनि भने’ राईको जवाफबारे वाग्लेले भने, ‘उहाँले तपाईंले अहिले जसकोबारे अनुसन्धान गर्ने हो उसको बैंक खाता हेर्ने हो भने दुई तीन लाख पनि नहुन सक्छ भन्नु भयो ।’

पछिल्लो समय भ्रष्टहरुले कानुनी क्षेत्रमै प्रभाव पारिसकेको बताए । अख्तियारले गर्ने गरेको स्टिङ अप्रेसन रोकिएको भन्दै वाग्लेले त्यसमा भ्रष्टहरुको प्रभाव रहेको हुनसक्ने बताए ।

‘भ्रष्टाचारीहरुलाई रंगेहात समात्नका लागि स्टिङ अप्रेसनको विधि थियो । त्यसलाई कोर्टले बन्द गरिदियो । भ्रष्टहरुले अदालतलाई पनि प्रभावमा पारिसके । हामीले सिस्टमलाई करप्सन फ्रेन्ड्ली बनाइसकेको हो कि भन्ने भइसक्यो ।’

राजनीतिक दलहरुमा विभिन्न संस्थामा भागवण्डा हुने गरेको र त्यसले संस्थागत कब्जा हुँदा भ्रष्टाचार बढ्ने उनले बताए ।

‘राजनीतिक दलहरुले भाग लगाएर संस्थागत कब्जा गरेपछि समस्या हुन थाल्यो’ उनले भने ‘यसको उपचार के हुनसक्छ भनेर हेर्नु पर्छ । करप्पसनलाई लिगलाइज गरेर नियमावली संशोधन गरेर नै काम गर्ने अवस्था बनेको छ ।’


क्लिकमान्डु