‘आर्थिक गतिविधि सुस्त हुँदा ३० देखि ४० प्रतिशत सटरहरु खालि भए’
काठमाडौं । अर्थतन्त्रमा देखिको समस्याले व्यावसायिक मन्दी हुँदा सहरी क्षेत्रमा व्यापारिक प्रयोजनमा प्रयोग भइरहेका ४० प्रतिशत सटरहरु खालि भएका छन् ।
पछिल्लो समय आर्थिक संकट तथा बैंकको ब्याजदर उच्च रुपमा वृद्धि भएपछि व्यवसाय चलाउन नसक्दा व्यवसायीहरु पलायन हुने क्रम बढेसँगै शहरी क्षेत्रमा व्यवसायिक सटर तथा गोदामहरु धमाधम खालि हुन थालेका हुन् ।
बजारमा देखिएको बैंकिङ तरलताको कारण व्यापार व्यवसाय उत्साहजनक छैन । उनीहरुले मुख्य शहरी क्षेत्रसँगै भित्री बस्तीमा सञ्चालन भएका सटर तथा पसल बन्द भएको बताए ।
व्यवसायीहरुले आर्थिक गतिविधि नियमित नहुँदा व्यापार व्यवसाय चल्न छोडे पनि सरकारले व्यवसायीहरुको माग सम्बोधन गर्न सक्दा व्यवसायीहरुले पसल नै बन्द गरेर बस्न बाध्य भएको बताए ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका पूर्वअध्यक्ष नरेश कटुवालले पछिल्लो समय आर्थिक गतिविधि सुस्त हुँदा व्यापार व्यवसायबाट पलायन हुनेको सख्या दिनप्रतिदिन बढ्दै गएको बताए ।
घरधनीको भाडा वृद्धि, बैंकको उच्च ब्याजदर, ऋणको किस्ता तिर्न नसक्दा ३५ देखि ४० प्रतिशत व्यवसायीक सटरहरु खालि भएको उनले बताए ।
‘पछिल्लो समय सटर खाली गरेर व्यवसायीहरु पलायन हुनुको मुख्य कारण घर भाडा लगातार रुपमा वृद्धि हुनु,घर भाडा घट्ने भन्दा पनि प्रत्येक वर्ष १० प्रतिशतका दरले बढ्ने गरेको छ, ‘ उनले भने, ‘ प्रत्येक दुई वर्षमा २० प्रतिशतले भाडा वृद्धि हुने लिखित सम्झौता नै हुने गरेको छ । बैंकको वृद्धि भएको ब्याजदर कम भएको छैन । प्रधानमन्त्री स्वयंले बैंकको ब्याजदर एकल अंकमा ल्याउने भनेर बोलेपनि व्यवहारमा ल्याउन सकेको देखिँदैन । यस्ता विविध कारणले ३५ देखि ४० प्रतिशत व्यवसायीक सटरहरु खालि भएका छन् ।’
खाद्य किरानासँगै अत्यावश्यक व्यवसाय चलेपनि अन्य व्यवसायमा कारोबार न्युन रहेको भन्दै सरकारले तत्काल अहिलेको समस्या समाधान गर्न आवश्यक रहेको उनले बताए ।
पूर्वअध्यक्ष कटुवालले घर भाडा घट्नेभन्दा पनि प्रत्येक वर्ष १० प्रतिशतका दरले बढ्ने गरेको गुनासो गरे ।
उनले प्रत्येक दुई वर्षमा २० प्रतिशतले भाडा वृद्धि हुने लिखित सम्झौता नै हुने गरेकाले व्यवसायीहरु मारमा परेको बताए ।
सरकारले निजी क्षेत्र भनेर केही व्यवसायीहरुलाई मात्रै बोलाउने गरेको भन्दै वास्तविक पीडित व्यवसायीहरु सरकारको नजरमा कहिल्यै नपरेको उनको भनाइ छ ।
चारदेखि पाँच वटा सटर लिएर व्यवसाय गर्ने व्यवसायीले खर्च धान्न नसकेर दुईवटा सटरमा व्यवसाय गर्न थालेको उनको भनाइ छ ।
पछिल्लो समय काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा ‘टुलेट’सहितका पोस्टर तथा होर्डिङ बोर्ड जताततै देखिन्छन् । काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ठाउँमा आवास तथा व्यावसायिक प्रयोजनका लागि भनेर राखिएका ‘टुलेट’ पोस्टर हेरक घरमा देखिन थालेका छन् ।