महिलालाई हेभी इक्युपमेन्ट अपरेटर तालिम, ढकाल भन्छन्: सीपले महिला सशक्तीकरणमा पनि ठूलो प्रभाव पार्छ



काठमाडौं । आईएमई अटोमोटिभ एस्कर्टस्ले महिलाहरुलाई नि:शुल्क हेभी ईक्यूपमेन्ट अपरेटर, ब्याक हो लोडर, तालिमको आयोजना गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिहीबारदेखि सुरुभएको उक्त तालिमको उद्घाटन गरे ।

कार्यक्रममा अध्यक्ष ढकालले महासंघको अध्यक्षको रुपमा आफूले राखेका पाँचवटा प्राथमिकतामा सीपयुक्त जनशक्ति उत्पादन उच्च प्राथमिकतामा रहेको बताए ।

जनशक्तिलाई दक्ष बनाउन सकेमा उद्योग व्यवसायमा आवश्यक दक्ष जनशक्तिको अभाव पूरा हुने र वैदेशिक रोजगारमा जाँदा पनि प्रतिष्ठित र उच्च तलबमान पाउन सकिने हुनाले आफूले सीपमूलक तालिम र दक्ष जनशक्ति उत्पादन तथा विकासमा विशेष पहल लिने अध्यक्ष ढकालले उल्लेख गरे ।

अध्यक्ष ढकालले महिलालाई सीप दिई दक्ष बनाउन सकेमा महिला सशक्तीकरणमा समेत विशेष योगदान पुग्ने धारणा राखे । उनले यस तालिमले सीप आर्जन गरी रोजगारीको अवसर पाउने र महिलालाई हेर्ने पुरातन सामाजिक सोँचमासमेत परिवर्तन आउने बताए ।

“हामीले सवारी चालक भन्ने वित्तिकै पुरुषलाई बुझ्ने गर्छौँ । तर समय बदलिएकोसँगै, हेभी ईक्यूपमेन्ट अपरेटरमासमेत महिलाहरुले आफूलाई प्रमाणित गर्न सुरुगरिसकेका छन् । तपाईहरु पनि त्यो पुरातन सोँच र धारणालाई परिवर्तन गर्दै ब्याक हो लोडरको तालिममा सहभागी हुनुभएको छ । तपाईहरुले राम्रोसँग तालिममा सहभागी भई सीप सिकेर दक्ष बन्न भरपुर प्रयास गर्नु होला । यसले सीप सिकेर रोजगारी मात्र होइन महिला सशक्तीकरणमा पनि ठूलो प्रभाव पार्नेछ,” उनले भने ।

तालिममा सहभागी महिलाहरुलाई सुरक्षित र प्रभावकारीरुपमा ब्याक हो लोडर अपरेशन गर्न आवश्यक सबै किसिमका सीप तथा ज्ञान प्रदान गरिने कम्पनीले जनाएको छ । तालिममा १५ जना महिलाहरु सहभागि छन् ।


क्लिकमान्डु