रवि लामिछानेको निर्वाचन क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन



काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुने भएको छ ।

निर्वाचन आयोगको आज बसेको बैठकले आगामी वैशाख १० गते आइतबार चितवन क्षेत्र नम्बर २ मा रिक्त प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन गर्ने गरी मिति तोक्ने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ बमोजिम अयोग्य भएको भनी सर्वोच्च अदालतबाट आदेश भै आएको र संघीय संसदको पत्रबाट लामिछानेको प्रतिनिधि सभा सदस्य पद नेपालको संविधानको धारा ८९ को (ख) बमोजिम रिक्त भएको जानकारी प्राप्त भएको आयोगले जनाएको छ ।

संविधानको धारा ८४ को उपधारा ७ मा प्रतिनिधि सभाको कार्यकाल ६ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ भन्ने व्यवस्था रहेको छ ।

साथै प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ ले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रतिनिधि सभाको अवधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिने व्यवस्था भए बमोजिम आयोगले उपनिर्वाचनको मिति तोकेको हो ।

आयोगले आज स्वीकृत गरेको उपनिर्वाचन सम्बन्धी निर्वाचन कार्यक्रम अनुसार भोलि २०७९ फागुन १ गतेदेखि २०७९ चैत १६ गतेसम्म मतदाता नमावली अद्यावधिक कार्यक्रम सञ्चालन हुनेछ ।

त्यसैगरी उम्मेदवारको मनोनयन दर्ता २०७९ चैत २० गते, उम्मेदवारको विरोधमा उजुरी दिने चैत २१ गते, मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने चैत २२ गते, उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्य चैत २३ गते हुनेछ ।


क्लिकमान्डु