निःशुल्क मौसमी कामदार पठाउने निर्देशिका कार्यान्वयन, स्थानीय सरकारले पनि पठाउन सक्ने



काठमाडौं । सरकारले वैदेशिक राजेगारीका लागि जाने मौसमी कामदारहरुलाई निःशूल्क गन्तव्य मुलुक पठाउने भएको छ ।

सरकारले ‘मौसमी कामदार व्यवस्थापन निर्देशिका, २०७९’ जारी गर्दै मौसमी प्रकृतिका कामका लागि छोटो अवधि वैदेशिक रोजगारमा जानेहरुलाई निःशूल्क गन्तव्य मुलुक पठाउने भएको छ ।

कम्तीमा तीन महिनादेखि एक वर्षसम्म करार अवधि भएको वैदेशिक रोजगारीमा जाने कामदारहरु वैदेशिक रोजगार सुरक्षित, कम खर्चिलो, मर्यादित र व्यवस्थित बनाउनका लागि आइतबार (पुस १७ गते) निर्देशिका जारी भएको छ ।

सरकारले तयार गरेको निर्देशिकामा गन्तव्य मुलुकका रोजगारदाताहरुले मौसमी रोजगारीमा नेपालबाट कामदार लैजानेदेखि कामदारको छनौट प्रक्रिया, रोजगारी सम्झौता, प्रवेशाज्ञाका लागि सिफारिस गर्ने प्रक्रियालगायतका विषय समेटिएका छन् ।

निर्देशिकामा नेपालबाट कामदार लैजान चाहने गन्तव्य मुलुकको सम्बन्धित रोजगारदाता संस्थाले नेपालबाट कामदार छनौट गरी सम्बन्धित मुलुकमा नपुग्दासम्म छनौट भएको कामदारले कुनै शूल्क बुझाउनु नपर्ने तथा मौसमी कामदारको अवधि समाप्त भएपछि रोजगारदाताकै खर्चमा स्वदेश फर्काउनुपर्ने उल्लेख गरिएको छ ।

निर्देशिकाकाअनुसार सरकारले नेपाली नागरिकले मौसमी रोजगारीको लागि वैदेशिक रोजगार प्राप्त गर्न सक्ने देखिएमा मन्त्रालयले सम्बन्धित मुलुकको सरकारसँग छलफल गरी द्विपक्षीय श्रम सम्बन्ध स्थापना गर्न सक्नेछ ।

मौसमी रोजगार लैजानका लागि गन्तव्य मुलुकको सम्ब्न्धित रोजगार संस्थाले नेपाली नागरिकलाई सम्बन्धित मुलुक वा संस्थाको कानुनअनुसार रोजगारदाताको सहजीकरण गर्ने गरी दर्ता भएको स्थानीय निकाय वा संस्थाले मागपत्र प्रमाणिकरण गर्न सक्ने निर्देशिकामा जनाइएको छ ।

यसका लागि सम्बन्धित नेपाली कूटनीतिक नियोगमा रोजगारदाताहरुले विभिन्न विवरण पेश गर्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ । जसमा रोजगारदाताको पूर्ण विवरण (कम्पनीको हकमा सम्बन्धित मुलुकको कानून अनुसार कम्पनी दर्ता भएको प्रमाणपत्र र कर चुक्ताको प्रमाणपत्र), रोजगारीको किसिम र संख्या, न्यूनतम सेवा र सुविधा, आवास, खाना, स्वास्थ्य बीमा र कामदारको सुरक्षा, सम्बन्धित मुलुकको प्रवेशाज्ञा लिँदा लाग्ने शुल्क तथा कामदार पठाउँदा लाग्ने अन्य शुल्क रोजगारदाताले व्यहोर्ने सुनिश्चितता,सम्बन्धित मुलुकमा कामदारको लागि सुरक्षित कार्यस्थलको सुरक्षण भएको प्रत्याभूति पत्र र नेपालबाट कामदार छनौट गरी सम्बन्धित मुलुकमा नपुग्दासम्म छनौट भएको कामदारले कुनै शुल्क बुझाउनु नपर्ने तथा मौसमी रोजगारको अवधि समाप्त भए पछि रोजगारदाताको खर्चमा स्वदेश फर्काउने कुराको प्रत्याभूतिं पत्र बुझाउनु पर्नेछ ।

नेपालबाट मौसमी कामदार लैजान चाहनेहरुले सम्बन्धित देशको नेपाली कुटनीतिक नियोगमा आफ्नो मागपत्र बुझाएपश्चात नियोगले मागपत्र जाँचबुझ गरेर प्रक्रिया अघि बढाइने निर्देशिकामा उल्लेख छ । जसअनुसार मागपत्र जारी भएको सात दिनभित्र विभागले मौसमी रोजगारीको लागि जान चाहने व्यक्तिहरुको छनोट गरेर वा कुनै खास स्थानीय तहमार्फत उम्मेदवार छनौट गरिनेछ । विभागले पनि मौसमी रोजगारीको लागि जान चाहनेहरु व्यक्तिहरु छनौट गरि पठाउन उल्लेख भएको स्थानीय तहलाई जानकारी गराउन पनि सक्ने निर्देशिकामा जनाइएको छ ।

मौसमी कामदारका रुपमा जान चाहनेहरुको छनौट भने सम्ब्न्धित स्थानीय तहले मौसमी रोजगारीका लागि वैदेशिक रोजगारमा जान चाहने व्यक्तिसँग आवेदन माग गरी सार्वजनिक सूचना प्रकाशन गरेपश्चात सोहीअनुसार स्थानयि तहले गर्नेछन् ।

यसरी मौसमी कामदारका लागि जाने व्यक्तिमरुको रोजगार सम्झौता प्रचलित कानुन अनुसार हुनेछ । त्यस्तै, कामदारहरुलाई सम्बन्धित मुलुकमा जानुअघि कम्तीमा दुई दिनको अभिमुखिकरण तालिम लिनुपर्ने, सम्बन्धित मुलुकमा जानुअघि बिमा गर्नुपर्ने, स्वास्थ्य परिक्षण लगायत पनि गर्नुपर्ने छ ।


क्लिकमान्डु