मंसिरमा ब्याजदर हेरफेर हुने सम्भावना न्यून
काठमाडौं । बाणिज्य बैंकहरुले मंसिरमा ब्याजदर हेरफेर नगर्ने भएका छन् ।
एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)का अनुसार अहिलेको अवस्थामा तत्काल ब्याजदर घटाउने वा बढाउने विषयमा कुनै निर्णय हुने सम्भावना छैन ।
नेपाल बैंकर्स संघ(एबिए)को प्रत्येक महिनाको अन्त्यमा बस्ने बैठकले बनाउने समान धारणका आधारमा वाणिज्य बैंकले ब्याजदर घटाउने र बढाउने निर्णय गर्ने गरेका छन् ।
बैंकर्स संघले भदौं मसान्तमा ब्याजदर बढाउने धारणा बनाएपछि बैंक तथा वित्तीय संस्थाले असोजदेखि निक्षेपमा ब्याजदर बढाएका थिए ।
केही बैंकले रेमिट्यान्स मुद्दती निक्षेपमा १५.१३३ प्रतिशतसम्म ब्याज दिन थालेका थिए । यस्तै, वाणिज्य बैंकहरुले निक्षेप खातामै ९.१३३ प्रतिशत ब्याज दिन थालेका थिए ।
निक्षेपमा ब्याजदर बढेपछि पछिल्लो समय कर्जाको ब्याज समेत बढेको छ । हाल केही वाणिज्य बैंकले कर्जामा १९.०७ प्रतिशतसम्म ब्याज लिन थालेका छन् ।
संघले असोज मसान्तमा ब्याजदर हेरफेर नगर्ने निर्णय गरेको थियो । यो साता बस्ने एनबिएको बैंठकले समेत ब्याजदर बढाउने गरी कुनै निर्णय नगर्ने एक बैंकका सीईओले जानकारी दिए ।
‘हामीले ब्याजदर बढाएपछि पनि निक्षेप बढेको छैन,’ एक वाणिज्य बैंकका सीईओले भने, ‘अहिले ब्याजदर घटाउँदा निक्षेप झनै घट्न सक्छ त्यसैले तत्काल ब्याजदर परिवर्तन हुँदैन ।’