२४ घण्टाभित्र कर नतिरे काठमाडौं फनपार्कमा सिलबन्दी गर्ने महानगरको चेतावनी



काठमाडौं । काठमाडौं महानगरपालिकाले २४ घण्टाभित्र कर नतिरे प्रदर्शनीमार्गमा सञ्चालित काठमाडौं फनपार्कमा सिलबन्दी गर्ने चेतावनी दिएको छ ।

महानगरपालिकाको तर्फबाट बुधबार राजस्व विभाग प्रमुख शिवराज अधिकारीले २४ घण्टाभित्र सम्पूर्ण कर वक्यौता र जरिवाना तिर्न काठमाडौं फनपार्कलाई पत्र पठाएका हुन् ।

काठमाडौं फनपार्कले वर्षौदेखि व्यवसाय कर, बाहल कर, विज्ञापन कर तथा मनोरञ्जन कर नबुझाइ व्यवसाय सञ्चालन गरेको महानगरले पठाएको पत्रमा उल्लेख छ ।

पत्रमा भनिएको छ, ‘पटकपटक ताकेता गर्दा पनि कर नबुझाइएकाले २४ घण्टाभित्र व्यवसाय कर र बहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन र मनोरञ्जन कर महानगरपालिकाको राजस्व विभागमा बुझाउन अनुरोध छ ।’

तोकिएको समयभित्र सम्पूर्ण कर नबुझाएमा फनपार्क सिलबन्दी गरि तिर्नुपर्ने राजस्व सरकारी बाँकी सरह असुलउपर गरिने महानगरले चेतावनी दिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ जारी भएपछि फनपार्कमा कर लगाउने अधिकार महानगरपालिकामा आएको थियो । तर, २०७५ सालदेखि महानगरपालिकालाई कर बुझाउनु पर्नेमा काठमाडौं फन पार्कले कुनै पनि विवरण नदिँइ अटेरी गर्दै आएको महानगरको राजस्व विभाग प्रमुख शिवराज अधिकारीले जानकारी दिए ।

‘७५ सालअघि संघीय सरकारलाई विवरण दिएको थियो वा थिएन थाहा छैन । तर त्यसपछि हामीलाई कुनै विवरण उपलव्ध गराएको छैन । उसले विवरण बुझाएपछि मात्र के/कति असुल गर्नुपर्ने हो त्यसबारे जानकारी हुन्छ’ उनले भने ।


क्लिकमान्डु