राकेश झुनझुनवालाः सेयर बजारका माहिर खेलाडी किन उडाउन खोज्दैछन् ‘आकासा’ ?



एजेन्सी । सेयर बजारका लगानीकर्ताहरुको आँखा विमान कम्पनीहरुको सेयरमा भइरहनु स्वभाविक नै हो । कहिले तीव्र गतिमा त कहिले मन्द गतिमा उनीहरुले सेयर मूल्य दाँजिरहेका हुन्छन् ।

विमान कम्पनीहरुको सेयरमा लामो समयसम्म पैसा लगानी गरेर धेरै पैसा कमाउने वा धेरै पैसा कमाउनका लागि धैर्यताका साथ लगानी गर्ने अर्थात् भ्यालु इन्भेस्टिरहरु भने सहजैसँग विमान कम्पनीहरुको नाम भने लिँदैनन् ।

धेरैजसो लगानीकर्ताहरु भन्छन्, ‘राम्रो विमानमा यात्रा गर्नु र त्यसको आनन्द लिनु राम्रो हो तर विमान कम्पनीमै पैसा लगानी गरेर जोखिम मोल्नु भने राम्रो होइन ।’

यसैबीच भारतमा वारेन वफेटका नामले परिचित प्रसिद्ध भ्यालू इन्भेष्टर राकेश झुनझुनवालाले भने सञ्चालन भइरहेको विमान कम्पनीमा पैसा लगानी गर्नुभन्दा एक कदम अघि बढेर नयाँ विमान कम्पनी शुरु गर्न किन तम्सिए त ?

भारतको आकाशमा आइतबारदेखि उडान शुरु गरेको नयाँ एयरलाइन्स कम्पनीको नाम को ‘आकासा’ ।

राकेश झुनझुनवालासँगै यस कम्पनीमा कम्तीमा ६ जनाको संस्थापकको नाम सार्वजनिक भएको छ । जसमा पहिलो नाम हो विनय दुबेको छ । दुबे जेट एयरवेज तथा गो एयरमा सीइओ भइसकेका व्यक्ति हुन् । आकासा एयरलाइन्स शुरु गर्ने आइडिया पनि दुबै कै थियो भने कम्पनीमा अन्य संस्थापक र राकेश झुनझुनवालालाई पैसा लगाउनका लागि पनि उनैले मनाएका थिए ।

दुबे आकाशा एयरलाइन्सको सीइओ हुनेछन् । अर्थात् विमान कम्पनी सञ्चालनका लागि पनि उनैको जिम्मेवारी हुनेछ । कम्पनीको वेवसाइटमा उनीसँग पाँच जना अन्य संस्थापक भनिए पनि ९ जनाको तस्बिर देखिन्छ । जसमा राकेश झुनझुनवालाको तस्बिर भने छैन । तर आश्चर्यरुपमा आदित्य घोषको नाम छ । घोष जसले इन्डिगोलाई भारतको सबैभन्दा ठूलो विमान कम्पनी बनाउनका लागि महत्वपूर्ण भूमिका खेलेका थिए ।

सायद विनय र आदित्य जस्ता नामकै कारण बिग बिल राकेश झुनझुनवालाले यो जोखिम लिन तयार भएका हुन् ।

झुनझुनवालालाई हवाई सेवा सञ्चालनको जोखिम लिन वा नोक्सानी हुने डरबारे ज्ञान नभएको होइन । किनभने भारतमा मात्रै पनि ७७ हजार करोड भारुको घाटामा गएको एयर इन्डियालाई सरकारले कसरी पन्छ्याउन सक्यो भन्ने कथा सबैको आँखा अगाडि नै छ । त्यति मात्रै होइन, जेट एयरवेजका नरेश गोयल तथा किङफिसरका विजय माल्याको अवस्था पनि उदाहरण छ ।

त्यसभन्दा अघि सहारा, एनईपीसी, मोदीलुफ्त तथा यस्तै कैयन साना तथा ठूला नाम पनि छन् ।

पछिल्लो सउमय विश्वको अर्थतन्त्रमा आर्थिक मन्दीका संकेतहरु पटक पटक देखिएका छन् । तै राकेश झुनझुनवाला किन यो कारोबारमा हात हालेका छन् त ?

भारतमा सन् २०१४ मा नरेन्द्र मोदीको नेतृत्वमा सरकार बनेपछि यो नयाँ विमान कम्पनी हो । प्रधानमन्त्री मोदीसँग राकेश झुनझुनवालाको भेट र तस्बिरहरु सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भाइरल नै भएका थिए । साथै, उक्त भेटपछि आकाशा एयरलाइन्स एयरलाइन्सलाई ग्रीन सिंग्नल प्राप्त भएको थियो ।

आकासा एयरको शुरुवात पनि धुँवाधार भएको छ । ४ सय जना कर्मचारीका साथ शुरु भएको विमान कम्पनीको सञ्चालन आगामी मार्च महिनासम्म २ हजार कर्मचारी पुर्याउने तयारी समेत छ ।

मार्च महिनासम्म कम्पनीसँग १८ विमान ठूला विमान हुनेछन् । यसअघि भारतीय विमान कम्पनी इन्डिगोलाई विमानको संख्या १८ पुर्याउनका लागि डेढ वर्षको समय लागेको थियो ।

त्यसबाहेक भिस्तारा, एयर एशिया तथा स्पाइस जेटलाई भने यही काम गर्नका लागि तीन वर्ष लागेको थियो । अहिले कम्पनीसँग दुईवटा ७३७ म्याक्स विमान छन् । साथै आगामी पाँच वर्षमा ७२ वटा विमान हुनेछन् ।

कम्पनीको शुरुवात विनय दुबे तथा उनका २ भाइले शुरु गरेका थिए । तर पछि पैसा जुटाउन थालेपछि कम्पनीमा उनीहरुको हिस्सा ३१ प्रतिशतमा सीमित भएको थियो । अब कम्पनीमा सबैभन्दा बढी हिस्सेदारी ४५.९७ प्रतिशत सेयर झुनझुनवालासँग छ ।

विमान कम्पनीमा यति ठूलो लगानी गरेर झुनझुनवालाले ठूलो खेल खेलेको स्पष्ट देखिन्छ । केही महिनाअघि दिएको एक अन्तर्वार्तामा उनले भनेका थिए, ‘विमान कम्पनीमा लगानीलाई लिएर धेरै व्यक्तिहरुलाई प्रश्न उठाएका छन्, तर म जवाफ दिनुको साटो म असफल हुनका लागि तयार छु । केही काम नगर्नुभन्दा केही काम गरेर असफल हुनु नै राम्रो हो ।

यद्यपि प्रश्न उठाउनेहरु पनि गलत भने होइनन् । एयर इन्डियाको बर्बादीको कथा राजनीतिक, कर्मचारी तथा व्यवस्थापनमा हस्तक्षेपका नाममा लेख्न सकिन्छ । तर एयर सहाराको घाटाको सिलसिला तथा अन्तिममा जेट एयरवेजसँग बिक्री हुनुको कारण घाटा नै थियो ।

जेट एयरवेज सन् २०१९ मा जुन घाटाको बोझमा बन्द भयो त्यसको कारण धेरैजसो व्यक्तिहरु सहाराको खरिदको सम्झौतालाई नै मानछन् । विजय माल्या पनि बैंकको किस्ता तिर्न नसकेर भागेर विदेशमा शरण लिने प्रयासमा छन् त्यसको कारण पनि किङफिसर एयरलाइन्स डुब्नु नै हो ।

तर हरेक सिक्काको दोस्रो पाटो पनि हुन्छ । एभिएसनको कारोबारको दुनियाामा सबैभन्दा धेरे पैसा कमाउने प्रमोटरहरुमा भारतीय नै छन् । इन्डिगोका राहुल भाटिया तथा राकेश गंगवालसँग ४÷४ अर्ब डलरभन्दा बढी सम्पत्ति छ । उनीहरुले त्यो सम्पत्ति एयरलाइन्स कारोबारबाटै बनाएका हुन् ।

अहिले इन्डिगो भारतको सबैभन्दा ठूलो विमान कम्पनी हो । र, सबैभन्दा धेरै नाफा पनि कमाउँछ । यसको कारण सस्ता मूल्यका टिकट, विमानस्थलमा विमान अवतरण र उडानबीच कमभन्दा कम समय खर्चिनु तथा सिटका साथै खाजासम्म फरक फरक चिजबाट प्राप्त हुने आम्दानी पनि हो । इन्डिगो एक लो कस्ट एयरलाइन्स हो । तर आजभोलि कुनै पनि रुटमा उसको भाडा आमरुपमा भिस्तार जस्तो फूल सर्भिस एयरलाइन्सलाई पनि टक्कर दिएको देखिन्छ ।

कम्पनीको दाबी अनुसार आकासा यूएलसीसी (अल्ट्रा लो कस्ट क्यारियर) अर्थात् सस्तोभन्दा पनि सस्तो विमान कम्पनी हो । कम्पनीले भारतीय आकाशमाथि कब्जा गर्नका लागि सस्तोभन्दा सस्तोमा टिकट बिक्री गरी बजार हिस्सा बढाउन चाहन्छ ।

भारत सरकार अहिले देशका हरेक क्षेत्रलाई हवाई उडानमार्फत् जोड्न र हवाई चप्पल लगाउनेहरुलाई समेत हवाई यात्रा गराउने अभियानमा जुटेको छ । यस्तो अवस्थामा आकासाका लागि अवसर अनुकुल हुने देखिएको छ ।

दोस्रोतर्फ कोरोनाको मारपछि बन्द व्यापार, कारोबार तथा हवाई यात्रामा फेरि तीव्रता देखिएको छ । त्यसैले एकातर्फ मन्दीको आशंका गरिरहेको समयमा नयाँ विमान कम्पनी शुरु गर्नु जति जोखिमपूर्ण देखिएको छ त्यसैगरी अर्कोतर्फ नयाँ विमान कम्पनीको उडानका लागि आकाश सफा र अनुकुल भएको समय पनि सायद यही नै हुनसक्छ ।

व्यापार कस्तो चल्छ तथा आकासामा पैसा लगाउनेहरुको सम्पत्ति के होला भन्ने उत्तर पाउन केही समय अझै बाँकी छ ।-बीबीसी


क्लिकमान्डु