महाथिर मोहम्मदको चेतावनी- ‘श्रीलंका संकटले अन्य देशलाई पनि पिर्छ, आईएमएफको शरणमा नजाऊ’



एजेन्सी । मलेसियालाई आजको शानदार मलेसिया बनाएका महाथिर मोहम्मदले श्रीलंकामा देखिएको आर्थिक संकटका बारेमा चिन्ता व्यक्त गरेका छन् । उनले यो संकट केवल श्रीलंकाको मात्रै नभई समग्र एशियाका लागि संकटको संकेत भएको बताएका छन् ।

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदले एशियामा सन् १९९७ मा देखा परेको आर्थिक संकट जस्तै अहिले श्रीलंकामा देखिएको संकटलाई तुलना गरेका छन् ।

त्यसले यस क्षेत्रमा नै गतिलो झट्का दिन सक्ने बताएका छन् । उनले यो संकटलाई सामान्य नठान्न समेत सबैलाई आग्रह गरेका छन् ।

महाथिर मोहम्मदले सन् १९९७ को एसियाली आर्थिक संकटको २५ वर्ष पूरा भएको अवसरमा एसिया निक्कीलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘कि परिस्थिति परिवर्तन नभएकाले यो संकटले फेरि ढकढक्याउन सक्छ ।’

महाथिरले भनेका छन्, ‘जब यहाँ धेरै मानिस मुद्रा बजारको प्रतिस्पर्धामा संलग्न हुन्छन्, नियम र नैतिकताको कुरा छाडिन्छ । तपाईं सायद मुद्राको मूल्य घटाउन चाहनुहुन्छ तर अरूले यसको मूल्य बढाउन चाहन्छन् । यहाँ मान्छेहरु एकअर्कालाई कुटिरहन्छन् ।’

संकटको गति र मतिका कारणहरुको मसिनो गरी खोज्नुको साटो प्रचार–प्रचार केवल प्रचार र रोइलो गर्नुको कुनै अर्थ नभएको उनको भनाइ छ ।

महाथिरले भनेका छन्, ‘आज श्रीलंकामा संकट परेको त हो नी भनेर बसियो भने त्यसले पार्ने प्रभाव यस क्षेत्रमा नै पर्ने छ । सबैको गति र मति उस्तै उस्तै छ । कोही पनि पानीमाथि बसेर म ओभानो नै छु भन्ने अवस्थामा छैन । विचार गरौ, होशियार बनौ ।’

यसका पछाडि केही तथ्यहरु छन् । थाइल्याण्डले एक दशकभन्दा बढी समयपछि सन् १९९७ जुलाईमा आफ्नो मुद्रा अवमूल्यन गरेको थियो । निर्यात बढाउने उद्देश्यले थाइल्याण्डले यस्तो निर्णय गरेको हो ।

थाइल्यान्डले पहिले आफ्नो मुद्राको मूल्य कायम राख्न अर्बौं डलर खर्च गर्यो तर पछि सरकारले त्यो हतियार त्यागेर अन्तर्राष्ट्रिय लगानीकर्ताहरूको अगाडि झुक्नुपर्यो।

त्यसपछि थाइल्याण्डको मुद्रा १५ प्रतिशतले अवमूल्यन भएको थियो । अर्थात्, डलरको तुलनामा १५ प्रतिशतले जानाजानी कमजोर बनाइएको थियो ।

यसलाई एशियाली मौद्रिक नीतिमा ठूलो परिवर्तनका रूपमा हेरिएको थियो । यसअघि सन् १९८४ मा पनि थाइल्याण्डले आफ्नो मुद्रा अवमूल्यन गरेको थियो ।

तर यो संकट थाइल्याण्डमा मात्रै थिएन । १९९८ मा बाघ अर्थव्यवस्था भनिएका देशहरू दक्षिण कोरिया, थाइल्याण्ड, मलेसिया, इन्डोनेसिया, सिंगापुर र फिलिपिन्स; सबैको एउटै हालत थियो ।

यी देशहरूको वार्षिक वृद्धिदर ५ देखि ९ प्रतिशत थियो । तर सन् १९९७ को अन्तिम ५/६ महिनामा यी देशको सेयर बजार र मुद्रामा भारी गिरावट आएको थियो । सन् १९९८ को जनवरीसम्ममा धेरै देशको मुद्रा ७० प्रतिशतसम्म झरेको थियो ।

एशियाको वित्तीय संकट पनि ‘एसेट बबल’बाट शुरु भएको थियो । यसको अर्थ छोटो अवधिमा आवास, सुन र स्टकमा नाटकीय वृद्धि भएको थियो । यसमा, सबैले कुनै पनि तर्क र तथ्य बिना नै सम्पत्ति खरिद गरेका थिए ।

अन्ततः यो बबल फुट्छ र मूल्यहरू द्रुत रूपमा तल आउँछ भन्ने थियो ।

यी क्षेत्रमा निर्यातमा आधारित अर्थतन्त्र तीव्र गतिमा बढिरहेको थियो । प्रत्यक्ष वैदेशिक लगानी बढ्दै गएको छ । फलस्वरूप, हङकङ र बैंककमा घरजग्गाको मूल्य बढेको थियो । कर्पोरेट खर्च बढ्दै गयो र सार्वजनिक पूर्वाधार परियोजनाहरूमा पनि लगानी गरिएको थियो ।

फलस्वरूप, बैंकहरूबाट ठूलो ऋण लिइयो । कर्जाको पहुँचका कारण लगानीको गुणस्तर अक्सर प्रभावित भएर गयो ।

आईएमएफ यस प्रवृत्तिको बारेमा चिन्तित थियो । उता मेक्सिकोको मुद्रा पेसो पतन भएपछि उसले चेतावनी नै दिएको थियो । तर उसको चेतावनी कसैले सुनेन ।

तर अमेरिकी फेडरल रिजर्भले मुद्रास्फीतिसँग लड्न ब्याजदर बढायो । यसको प्रत्यक्ष असर लगानीमा परेको थियो । फलस्वरूप एसियाली अर्थतन्त्रमा लगानीमा ठूलो कमी आयो ।

परिणाम भयावह थियो । सोपारसंग नामक कम्पनी भूमि विकासकर्ता थियो । थाइल्याण्डको सबैभन्दा ठूलो वित्तीय कम्पनी रहेको सो संस्था सन् १९९७ मा संकटमा फस्यो ।

मुद्रा व्यापारीहरूले थाई मुद्राको वजनलाई लक्षित गरे । त्यहाँको सरकारले यसलाई रोक्न सकेन र अन्ततः अवमूल्यन गर्नुपर्यो । उपभोक्ता खर्च गर्न सक्ने अवस्थामा थिएनन् । चाँडै नै बाँकी एशियाली देशहरूको मुद्रा सोही श्रेणीमा आयो ।

मलेसियाको रिङ्गिट, इन्डोनेसियाको रुपिया र सिंगापुरको डलर पनि टिक्न सकेन । यी मुद्राहरू अवमूल्यन गरियो र यसले मुद्रास्फीति बढ्यो । यसको प्रभाव जापान र दक्षिण कोरियासम्म पुग्यो ।

विगत २५ वर्षमा मुद्रा बजार बेलुन झैं फुलेको छ । बैंक फर इन्टरनेशनल सेटलमेन्टले गरेको सर्वेक्षण अनुसार २०१९ मा औसत विदेशी विनिमय कारोबार दैनिक ६.६ ट्रिलियन डलर छ । यो ९० को दशकको मध्यमा भन्दा पाँच गुणा बढी थियो ।

महाथिर मोहम्मद सन् १९८१ देखि २००३ सम्म मलेसियाका प्रधानमन्त्री थिए । उनले भनेका छन् कि मुद्रा व्यापारीहरू अझै धेरै बलियो छन् र तिनीहरूले विशेष मुद्रालाई कमजोर पार्ने काम गरिरहन्छन् । उनले आफूहरू बेलायत र इटाली जस्ता विकसित अर्थतन्त्रबाट काम गर्ने र वर्षौंदेखि मुद्रा बजारमा हस्तक्षेप गर्दै आएको बताएका छन् ।

सन् १९९७ को संकटमा मलेसिया यो संकटको चपेटामा परेको देशमध्ये एक थियो ।

रिङ्गिट मुद्रा ५० प्रतिशतले गिरावट आएको थियो । मलेसियाको सेयर बजार परिसूचक ७५ प्रतिशतले घटेको थियो । विदेशी मुद्रा लगानीकर्ता बजारबाट बाहिरिएका थिए ।

यसअघि मलेसियाले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग परामर्श गरेको थियो । सरकारी खर्च घट्यो र ब्याजदर बढ्यो । विदेशी लगानीकर्तालाई फिर्ता ल्याउनका लागि यस्तो गरिएको हो ।

महाथिर भन्छन्, ‘यदि तपाईं आईएमएफ र विश्व बैंकमा जानुहुन्छ भने तिनीहरूको एकमात्र ब्याज ऋणको भुक्तानी हो । देशमा राजनीतिक र आर्थिक तहमा के हुने हो भन्ने कुराको वास्ता छैन । देशको आर्थिक नीति आफैं बनाउन चाहन्छन् । यसको मतलब हामीले उनीहरूसामू आत्मसमर्पण गर्नुपर्छ ।’

महाथिर मोहम्मद यसै महिना ९७ वर्ष पुगेका छन् र अझै सक्रिय राजनीतिबाट टाढा छैनन् ।

महाथिर आफ्ना पूर्वसहायक अनवर इब्राहिमसँग मतभेद छ, जो पछि शत्रु बनेका थिए, । अनवर महाथिर मोहम्मदको मन्त्रिपरिषदमा मन्त्री थिए र पश्चिमी समाधानको वकालत गर्दै आएका थिए ।

उनले एशिया निक्कीलाई भने कि, ‘श्रीलंकाको वर्तमान ऋण संकट एशियाका अन्य सरकारहरूलाई जिम्मेवार वित्तीय नीतिहरू अवलम्बन गर्ने कि निर्दयी आईएमएफको हातमा खेलौना बन्न तयार रहने भनेर छनौट गर्न चेतावनी दिएका छन् ।’

श्रीलंकाको विदेशी मुद्रा सञ्चिति घटेको छ र आयातको बिल तिर्न पनि पैसा छैन । खाद्यान्न र अन्य अत्यावश्यक वस्तुको अभावमा मानिसहरु समस्यामा परेका छन् । श्रीलंकाले विदेशी ऋण तिर्न रोकेको छ र हाल नयाँ ऋणको लागि आईएमएफको आश्रयमा पुगेको छ ।

कमजोर मौद्रिक व्यवस्थापन र आधारहीन लगानी नीतिका कारण श्रीलंकाको यस्तो अवस्था भएको महाथिर मोहम्मदको भनाइ छ । महाथिरले भने कि श्रीलंकामा जे भइरहेको छ, त्यो हाम्रा लागि पाठ हो ।

महाथिरले चीनको अर्थतन्त्र निकै बलियो रहेको र त्यसबाट कुनै पनि देश आर्थिक संकटबाट बाहिर निस्कन सक्ने बताए ।

महाथिरले एशियाका विकासोन्मुख राष्ट्रले सतर्क रहनुपर्ने बताए । चीनमा मुद्रा
व्यापारीहरू मनमानी हुन सक्दैनन्, तर अन्य विकासोन्मुख देशहरूले सावधानी अपनाउनुपर्छ ।

अमेरिकी मुद्रा डलर विगत २० वर्ष यताकै उच्च विन्दुमा रहेको र सबै एशियाली मुलुकका मुद्रा कमजोर भएका बेला महाथिरको भनाइ आएको हो । यस्तो अवस्थामा मुद्रास्फीति बढ्दै गएको छ र डलरको ऋणको बोझ पनि बढिरहेको छ ।

उनी मुद्रामा थोरै उतारचढाव सामान्य भएको बताउँछन् ।

‘बजारमा गति छ भन्ने देखाउने भएकाले ५ प्रतिशतसम्मको तलमाथि स्वीकार्य छ,’ उनले भने, ‘तर ५० प्रतिशतको अवमूल्यनले जनतालाई गरिब बनाउँछ र यो स्वीकार्य हुन सक्दैन । यसबाट बाहिर निस्कन प्रयास गर्नैपर्छ ।’

तर, आईएमएफको शरणमा पुगेर आर्थिक संकटको समाधान हुन सक्दैन । यो गल्ती नगर्न उनले श्रीलंकालाई सुझाव दिएका छन् र अरु देशलाई सचेत बनाएका छन् । किनकी, समस्या टाउकोमा छ, नाइटोमा ओखती लगाएर समस्याको समाधान हुन सक्दैन ।


क्लिकमान्डु