ब्याजदर युद्धका २ दिनमा बैंकको निक्षेप १४ अर्बले घट्यो, ऋण दिने पैसा छैन



काठमाडौं । बैंकहरुले ब्याजदर बढाउन गरेको युद्ध राष्ट्र बैंकको हस्तक्षेपको कारण २ दिनमा सकिएको छ । ब्याजदर युद्धले बैंकहरुमा निक्षेप बढ्नुको सट्टा झन घटेको देखिएको छ । अत्यधिक ब्याजदर बढाउने बैंकको निक्षेप बढेपनि समग्र बैंकहरुको निक्षेप घटेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार २७ वटा वाणिज्य बैंकको असोज मसान्तसम्ममा निक्षेप ४२ खर्ब ६८ अर्ब थियो । कात्तिक २ मा बैंकहरुको निक्षेप ४२ खर्ब ५४ अर्ब रुपैयाँमा झरेको छ ।

बैंकहरुले आर्थिक वर्ष सकिने अन्तिम दिन ल्याउने निक्षेप सामान्यतया अर्को दिन घट्ने गर्छ । तर, यो पटक ब्याजदर बढाएको कारण बढ्ने अनुमान थियो ।

बैंकहरुले ब्याज बढाउने युद्ध कात्तिक १ गतेदेखि शुरु गरेका थिए । कात्तिक १ गतेदेखि शुरु भएको युद्ध राष्ट्र बैंकले कात्तिक २ गते राति गरेको हस्तक्षेपसँगै बन्द भयो । कात्तिक ३ गते केही बैंकहरुले २ गतेको आधारमा नै निक्षेप भने उठाएका थिए ।

बैंकहरुमा निक्षेपका रुपमा आउने स्रोत रेमिट्यान्स घटेको तथा विकास खर्च नभएको कारण ब्याजदर बढाएपनि निक्षेप बढ्ने थिएन । एउटा बैंकको निक्षेप अर्कोमा बैंकमा गएपनि प्रणालीमा भने पैसाको अभाव नै हुने थियो ।

राष्ट्र बैंकका अनुसार बैंकहरुमा कात्तिक २ गतेसम्म कर्जा ३९ खर्ब ९५ अर्ब रहेको छ । असोज मसान्तमा ३९ खर्ब ९८ अर्ब रुपैयाँ थियो ।

बैंकहरुको कर्जा निक्षेप अनुपात ८८.७३ प्रतिशत रहेको छ । राष्ट्रिय वाणिज्य बैंक र स्टाण्र्डर्ड चार्टर्ड बैंकसँग भएको पैसाको कारण ८८.७३ प्रतिशत कर्जा निक्षेप अनुपात देखिएपनि धेरै बैंकहरुको कर्जा निक्षेप अनुपात ९० प्रतिशत र त्योभन्दा माथि छ ।

बैंकहरुमा तरलता अभाव भएको कारण अन्तर बैंकदर समेत ५ प्रतिशत पुगेको छ । बैंकहरुले असोज १ गते ५ प्रतिशत ब्याजदरमा अन्तर बैंक सापटी लिएर तरलता व्यवस्थापन गरेका थिए । कात्तिक २ गते अन्तर बैंकदर ४.९५ प्रतिशत रहेको छ ।


क्लिकमान्डु