सुरुङमार्गलाई १८ अर्ब बढी र सडक पूर्वाधारलाई प्राथमिकता, कुन आयोजनाले कति बजेट पाए ?



काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा सरकारले सुरुङमार्गलाई प्राथमिकता राखेको छ । सुरुङमार्ग निर्माण तथा विकासका लागि अर्थमन्त्रालयले १८ अर्ब रुपैयाँ भन्दा बढीको बजेट विनियोजन गरेको छ ।

पृथ्वी राजमार्गको नागढुंगामा सुरुङमार्ग निर्माण आरम्भ भएसँगै देश सुरुङमार्गको युगमा प्रवेश गरेको अर्थमन्त्री पौडेलले बताए ।

‘आधुनिक सुरुङमार्ग हाम्रा लागि सपना नभई वास्तविकतामा रुपान्तरित हुँदैछ, भौगोलिक विकटताका कारण लम्विएको हाम्रो यात्रा सुरुङमार्गले छोटो बनाउदैछ, यात्रा लागत घट्दैछ । अब बन्‍ने सडकमा सुरुङ प्रविधिको प्रयोगलाई महत्वका साथ अवलम्बन गरिनेछ,’ अर्थमन्त्री पौडेलले भने ।

काठमाडौंको नागढुंगादेखि धादिङको सिस्नेखोलासम्मको सुरुङमार्ग निर्माण कार्यलाई तीव्रता दिई २ वर्षभित्र सञ्‍चालनमा ल्याइनेछ । यस आयोजनाका लागि ९ अर्ब ८५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

आगामी वर्ष सिद्धार्थ राजमार्गको सिद्धबाबा-दोभान खण्ड, दोलखाको लामावगर-लाप्चे र धरान-धनकुटा सडक खण्डको धरान–लेउती सुरुङमार्ग निर्माण प्रारम्भ गर्न बजेट व्यवस्था गरेको मन्त्री पौडेलले बताए । चालु आवमा सुरुङमार्ग आयोजनाका लागि ६ अर्ब ४२ करोड रुपैयाँ विनियोजन भएको छ ।

काठमाडौं कोटेश्‍वरको सवारी चापलाई व्यवस्थित गर्न तिनकुने-जडिवुटी खण्डमा सुरुङमार्ग निर्माण गर्न १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्ष टोखा-छहरे-गुर्जुभज्याङ, वेत्रावती-स्याफ्रुवेशी, खुर्कोट-चियावारी र थानकोट-चित्लाङ सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गरी निर्माण कार्य प्रारम्भ गरिनेछ ।

पृथ्वी राजमार्गको मझिमटार-शक्तिखोर, पोखरा बाग्लुङ राजमार्गको हेम्जा-नयाँपुल, चेपाङ राजमार्गको दुम्लिङ-वाङसिङ, पूर्व-पश्चिम राजमार्गको दुम्कीवास-वर्दघाट, कोहलपुर-सुर्खेत राजमार्गको बबई-छिन्चु, सुर्खेत-दैलेख सडकको कपासे-सियाकोट, पाल्पा-तम्घास सडकको प्रभास-जोर्ते र विपिनगर-खुटिया-दिपायल खण्डमा सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयार गरिनेछ ।

सडक पूर्वाधारलाई प्राथमिकता

आगामी आर्थिक वर्षको बजेटमा सरकारले सडक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ । सरकारले आवागमनमा सहजता, बजारहरुबीचको अन्तरआवद्धता र उत्पादन अन्तरसम्बन्धलाई मजबुट बनाउन गुणस्तरीय यातायात पूर्वाधारको विकास गर्ने बजेटमार्फत लक्ष्य लिएको छ ।

‘प्रमुख शहरबीचको यात्रा अवधि अधिकतम २ घण्टा हुने गरी समय र लागत घटाउन गतियुक्त सडक, सुरुङमार्ग, उचाईयुक्त पुल एवम् फ्लाइओभर निर्माण गरिनेछ,’ अर्थमन्त्री पौडेलले बजेट वक्तव्यमा भने, ‘सबै सडकको जीआइएस म्यापिङ गरी वर्गीकरण गर्ने व्यवस्था मिलाएको छ ।

पूर्व-पश्चिम राजमार्गलाई सुरक्षा मापदण्ड सहितको ४ लेनमा विस्तार गरिनेछ । कञ्‍चनपुर-कमला, कमला-ढल्केवर-पथलैया र नारायणगढ-बुटवल खण्डको विस्तार कार्यलाई तीव्रता दिइनेछ । काकडभिट्टा-इनरुवा, पथलैया-नारायणगढ, बुटवल-कोहलपुर र कोहलपुर-वनवासा खण्डको विस्तृत डिजाइन सम्पन्‍न गरी निर्माण कार्य थालनी गरिनेछ ।

यस राजमार्गको सघन बस्ती भएको क्षेत्रमा सर्भिस लेन, अण्डरपास तथा फ्लाइओभर, चुरे क्षेत्रमा टनेल र वन क्षेत्रमा वन्यजन्तु टनेल समेत निर्माण गरिनेछ । यसका लागि १५ अर्ब ३४ करोड विनियोजन गरिएको छ । चालु आवमा १२ अर्ब २१ करोड रुपैयाँ विनियोजन भएको छ । आगामी आवमा ३ अर्ब १३ करोड रुपैयाँ धेरै विनियोजन भएको छ ।

पुष्पलाल राजमार्गलाई ४ लेनमा विस्तार गरी मध्यपहाडी क्षेत्रको विकास मेरुदण्डको रुपमा निर्माण गरिनेछ । राजमार्गको दुरी घटाउन सम्भाव्यता अध्ययन गरी पुनःरेखांकन, सुरुङ प्रविधिको प्रयोग र उचाईयुक्त पुल निर्माण गरिनेछ । यसका लागि ८ अर्ब १३ करोड विनियोजन गरिएको छ । चालु आवमा ८ अर्ब २७ करोड रुपैयाँ विनियोजन भएको थियो । आगामी आवमा पुष्पलाल राजमार्गको बजेट १४ करोड रुपैयाँले घटाइएको छ ।

मदन भण्डारी राजमार्गको चतरा–हेटौडा खण्डको निर्माण कार्य आगामी आर्थिक वर्ष सम्पन्‍न गर्ने सरकारको लक्ष्य छ । शान्तिनगर–धरान र भेडावारी–धुलियाविट, सुर्खेत खण्डको निर्माण कार्य प्रारम्भ गरिनेछ । बाँकी खण्डको रेखांकन र विस्तृत आयोजना प्रतिवेदन तयार गरी निर्माण कार्य अघि बढाइनेछ । यसका लागि ३ अर्ब २० करोड रुपैयाँ विनियोजन भएको छ । चालु आवमा ३ अर्ब ७ करोड रुपैयाँ विनियोजन भएको छ । आगामी आवमा मदन भण्डारी राजमार्गको बजेट १३ करोड रुपैयाँले बढाइएको छ ।

हुलाकी राजमार्गको निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्‍न गर्ने सरकारले लक्ष्य लिइएको छ । रतुवा, विरिङ, कन्काई, कमला, वागमती, बलान, डन्डा र कान्द्रा नदीमा पुल निर्माण सम्पन्‍न गरिनेछ । चितवन र मकवानपुरका राष्ट्रिय निकुञ्‍ज क्षेत्रमा पर्ने खण्डको पुनःरेखांकन गरी निर्माण सम्पन्‍न गरिनेछ । हुलाकी राजमार्गका लागि ६ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरिएको छ । चालु आवमा हुलाकी राजमार्गका लागि ७ अर्ब १ करोड रुपैयाँ विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षका लागि राजमार्गको बजेट १ अर्ब ३८ करोड रुपैयाँले घटेको छ ।

काठमाण्डौ–तराई मधेश द्रुत मार्गको निर्माणलाई तीव्रता दिइने बजेट वक्तव्यमा उल्लेख छ । द्रुतमार्गमा पर्ने सुरुङ मार्ग र उचाईयुक्त पुल निर्माण कार्य आगामी वर्ष प्रारम्भ गरिनेछ । काठमाण्डौ तराई द्रुतमार्ग निर्माणको लागि ८ अर्ब १५ करोड विनियोजन गरिएको छ । चालु आवमा ८ अर्ब ९३ करोड रुपैयाँ विनियोजन भएको छ । आगामी आवका लागि द्रुतमार्गको बजेट ७८ करोड रुपैयाँले घटाइएको छ ।

सिद्धार्थ राजमार्ग र कोहलपुर–सुर्खेत राजमार्गलाई डेडिकेटेड डबल लेनमा स्तरोन्‍नति गर्न ७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । पृथ्वी राजमार्गको नागढुंगा–मुग्लिन खण्डको स्तरोन्‍नति र आँवुखैरेनी–पोखरा खण्ड चार लेनमा विस्तार गर्न . ७ अर्ब २७ करोड रुपैयाँ विनियोजन गरिएको छ । चालु आवमा यी सडकका लागि ५ अर्ब ५७ करोड रुपैयाँ विनियोजन गरिएको छ । आगामी आवमा यी सडकका लागि २ अर्ब ३० करोड रुपैयाँले बजेट बढेको हो ।

पूर्व-पश्चिम राजमार्गबाट तराई-मधेशका १८ जिल्लामा जिल्ला सदरमुकाम हुँदै दक्षिणी सीमा जोड्ने सडकलाई ४ लेनमा विस्तार गर्ने कार्यक्रम अन्तर्गत सम्पन्‍न हुन बाँकी खण्डको विस्तार गर्न २ अर्ब ६६ करोड विनियोजन गरिएको छ । चालु आवमा १ अर्ब ९६ करोड रुपैयाँ विनियोजन भएको थियो । यसका लागि चालु आवमा ७० करोड रुपैयाँले बजेट बढाइएको छ ।

अरनिको राजमार्गको धुलिखेल-दोलालघाट-कोदारी खण्ड स्तरोन्‍नति तथा विस्तार गर्न १ अर्ब १३ करोड रुपैयाँ विनियोजन गरिएको छ । गल्छि–स्याफ्रुवेंशी–रसुवागढी र काठमाण्डौ–विदुर सडकलाई डेडिकेटेड डवल लेनमा स्तरोन्‍नति गरिनेछ । ओलाङचुङ्गोला, किमाथाङ्का, लामावगर, लार्के, कोरला, हिल्सा, यारी र टिंकरसम्मको पहुँचमार्ग निर्माण तथा सुधारको लागि अर्थमन्त्रालयले बजेट व्यवस्था गरेको छ ।

उत्तर-दक्षिण सडक कोरिडोर निर्माण कार्यलाई तीव्रता दिइनेछ । मेची कोरिडोरको देउराली-भैसे खण्ड, तमोर कोरिडोरको चतरा–ओलाङ्चुङगोला खण्ड, कोशी कोरिडोरको खाँदवारी–किमाथाङ्का खण्ड, त्रिशुली कोरिडोरको त्रिशुली-साफ्रुवेसी-रसुवागढी खण्ड, कालीगण्डकी कोरिडोर, सेती लोकमार्गको टीकापुर-साँफे खण्ड निर्माण कार्य अघि बढाउन ६ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ । चालु आवमा ७ अर्ब १ करोड रुपैयाँ विनियोजन भएको छ । आगामी आर्थिक वर्षका लागि ५१ करोड रुपैयाँ बजेट घटेको छ ।

कर्णाली राजमार्गको सुर्खेत-खुलालु खण्ड २ लेनको बनाइनेछ । नाग्मा-गमगढी सडक स्तरोन्‍नति गरिनेछ । यसका लागि १ अर्ब २० करोड विनियोजन गरिएको छ । हुम्लाको सिमिकोटलाई आगामी आर्थिक वर्ष राष्ट्रिय राजमार्ग सञ्‍जालमा जोडिनेछ ।

भेरी सडक कोरिडोरको जाजरकोट-दुनै खण्डको स्तरोन्‍नति गरिनेछ । दुनै-तिन्जे धो खण्डको ट्रयाक खोल्ने कार्य आगामी आर्थिक वर्ष प्रारम्भ गरिनेछ। यसका लागि ६१ करोड विनियोजन गरिएको छ ।

महाकाली कोरिडोरको ब्रम्हदेवमण्डी-झुलाघाट–दार्चुलाखलङ्गा-टिंकर सडकको निर्माणलाई तीव्रता दिइनेछ । यसका लागि १ अर्ब ३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

आगामी वर्ष ३०० सय पुल निर्माण सम्पन्‍न गरिनेछ अर्थमन्त्री पौडेलले बताए । दोधारा-चाँदनी हुँदै भारतीय सीमा नाका जोड्ने महाकाली नदीमा ४ लेनको पुल निर्माण सम्पन्‍न गरिनेछ । पुल निर्माण तर्फ ११ अर्ब १० करोड विनियोजन गरेको गरिएको छ । चालु आवमा पुल निर्माणका लागि १० अर्ब ९१ करोड रुपैयाँ विनियोजन भएको थियो । आगामी आवका लागि १९ करोड रुपैयाँले बजेट बढेको छ ।

काठमाडौं उपत्यकाको चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत कलंकीदेखि महारागञ्‍ज खण्डको निर्माण शुरु गरी २ वर्षभित्रमा सम्पन्‍न गरिनेछ । महाराजगञ्‍ज-धोवीखोला-चावहिल–तिलगंगा खण्डको विस्तृत संभाव्यता अध्ययन गरी परियोजना प्रतिवेदन तयार गरी निर्माण कार्य थालनी गरिनेछ ।

चक्रपथको ग्वार्को, सातदोवाटो र एकान्तकुना चोकमा फ्लाईओभर निर्माण कार्य प्रारम्भ गरिनेछ। चक्रपथ विस्तारको लागि २ अर्ब ६४ करोड विनियोजन गरिएको छ ।


पुष्प दुलाल