नेपालका सडक बनाउँदै विदेशी कम्पनी
काठमाडौं । नेपालमा पछिल्लो समय पुर्वाधार विकासको काम तीब्र गतिमा अघि बढेको छ । नेपाल सरकार वा दातृ निकायको सहयोगमा विकासका काम भइरहेको छ ।
नेपालमा हाल साना ठूलागरी करिब साढे ८ हजार आयोजना सञ्चालन छन् ।
पछिल्लो समय सडक विस्तार र विकासको कामले पनि प्राथमिकता पाइरहेको छ । राष्ट्रिय राजमार्ग ८० वटा, वैकल्पिक सहायक राजमार्ग ४२ वटा, तराई–मधेश पूर्वाधार विकास आयेजना र सडक सुधार तथा विकास आयोजना करिब ९ सय वटा छन् ।
काठमाडौं उपत्यका सडक विस्तार आयोजना २९३ वटा, निर्वाचन क्षेत्र रणनीतिक सडक १६५ वटा सञ्चालनमा छन् । हाल नेपालमा करिब १२ सय सडक र ७०० पुल निर्माणधिन अवस्थामा रहेको सडक विभागका प्रवक्ता शिव नेपालले बताए ।
‘एउटै आयोजनामा १ देखि ८ वटासम्म ठेक्का लाग्ने गरेको छ, सडकमा मर्मतसम्भार, ट्रयाक खोल्ने, विस्तारलगायतको काम भइरहेको हुन्छ,’ नेपालले भने, ‘संख्या तोकेर ठेक्का र लागत बताउन सकिँदैन ।’
नेपालका अनुसार २०७८ बैशाख मसान्तसम्म सडक विभागको दाहित्व २ खर्ब ७ अर्ब रुपैयाँ छ । आगामी आवका लागि अर्थ मन्त्रालयले विभागको बजेट सिलिङ १ खर्ब १९ अर्ब रुपैयाँ दिएको छ ।
नेपालमा सडक विस्तार तथा निर्माणमा ठूला लगानीको आयोजना बढ्दै गएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहसचिव राजेन्द्रप्रसाद शर्मा बताउँछन् ।
पूर्वाधार विकासका लागि विदेशी निर्माण व्यवसायीलाई नेपाल उत्कृष्ट बजारको रुपमा विकास भइरहेको छ ।
‘नेपालमा प्रयाप्त पूर्वाधार विकास भइसकेको छैन, पूर्वाधार विकासको ठूलो सम्भावना छ, बजार खुल्ला र प्रतिस्पर्धी हुन्छ,’ शर्माले भने, ‘विदेशी कम्पनीले पनि नेपालको पूर्वाधार विकासमा प्रतिस्पर्धा गरिरहेका छन् ।’
साथै नेपाल विश्व ब्यापार संगठन (डब्ल्यूटीओ)को सदस्य हो । एउटा सदस्य राष्ट्रले अर्को सदस्य राष्ट्रको कम्पनीलाई ब्यापार तथा व्यवसायमा प्रतिबन्ध गर्न मिल्दैन ।
विदेशी कम्पनी सबै आयोजनामा नआउँने उनी बताउँछन् । ठूलो आयोजनामा मात्र विदेशी कम्पनीले सहभागिता जनाएको देख्न सक्छौं ।
‘अर्काको देशमा गएर काम गर्दा मँहगो पर्छ । सानो आयोजनामा हात हाल्दा ओभरहेट खर्च धेरै हुन्छ’, उनले भने, ‘विदेशी कम्पनीको रुची महँगा र आकर्षण आयोजनामा हुन्छ ।’
साथै नेपालमा पूर्वाधार विकाससम्बन्धी धेरै काम नभएकाले नेपाली निर्माण व्यवसायीसँग जटिल प्रकृतिको काम गर्ने क्षमता न्यून छ । यसले गर्दा पनि विदेशी कम्पनीबाट काम लिनु परिहेको उनी बताउँछन् ।
फास्ट ट्र्याक सुरुङ र अग्ला पुल
काठमाडौं-तराई फास्ट ट्र्याक नेपाली सेनाले निर्माण गरिरहेको छ । रणनीतिक तथा आर्थिक रुपमा फास्ट ट्र्याक नेपालका लागि महत्वपूर्ण आयोजना हो । यो सडक निर्माण भएसँगै राजधानी र तराईको दुरी ७३ किलोमिटरमा सिमित हुन्छ । फास्ट्रयाक महत्वपूर्ण आयोजना हुनका साथै यो निर्माण प्रक्रिया जटिल पनि छ । यसमा ३ वटा सुरुङमार्ग र १६ वटा अग्ला (विशेष प्रकृतिका) पुल पनि निर्माण गर्नुपर्ने हुन्छ ।
पुल र सुरुङमार्ग निर्माण गर्न सेना र निर्माण कम्पनीबीच २०७८ बैशाख ३१ गते सम्झौता भइसकेको छ । पुल र सुरुङमार्ग निर्माण गर्न २ प्याकेजमा ठेक्का निकालिएको थियो । यसको ठेक्का चीनको चाइना स्टेट कन्स्ट्रक्सन कर्पोेसन र पोली च्याङ्दा इन्जिनियरिङ कर्पोरेशनले पाएको छ । सुरुङ र पुल निर्माण गर्न ४३ अर्ब ६६ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।
पोली च्याङ्दा इन्जिनियरिङ कर्पोरेसनले २४ अर्ब ९७ करोड रुपैयाँ र चाइना स्टेट कन्स्ट्रक्सन कर्पोेसनले १८ अर्ब ६९ करोड ३३ लाख रुपैयाँमा ठेक्का पाएको छ ।
पूर्व-पश्चिम राजमार्ग
सरकारले पूर्व-पश्चिम राजमार्ग विस्तार गर्ने योजना भएको छ । पूर्व-पश्चिम राजमार्ग एसियाली विकास बैंक र विश्व बैंकको सहुलियत पूर्ण ऋणमा निर्माण गर्न खोजिरहेको छ । यो राजमार्गको नारायणघाट-बुटवल र कमला–कञ्चनपुर खण्डको ठेक्का लागि सकेको छ । यी दुवै सडक खण्डको ठेक्का चिनियाँ कम्पनीले पाएको छ ।
नारायणघाट-बुटवल ११३ किलोमिटर खण्डलाई २ प्याकेजमा विभाजन गरेर ठेक्का निकालिएको थियो । नारायणघाट-दाउन्ने ६५ किलोमिटर र दाउन्ने–बुटवल ४८ किलोमिटर छ । यी दुई प्याकेजको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाएको छ ।
कर्पोरेसनले नारायणगढ-दाउन्ने सडक स्तरोन्नति गर्न भ्याटसहित ९ अर्ब १३ करोड १८ लाख ९५ हजार रुपैयाँ र दाउन्ने–बुटबल सडकखण्डका लागि ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँमा ठेक्का पाएको हो । यो सडक निर्माणका लागि २०७५ मा ठेक्का सम्झौता भएको हो । यो सडक ४२ महिना भित्रमा निर्माण गर्नेगरी सम्झौता भएको हो ।
मुआब्जा विवाद र रुख कटानमा भएको ढिलाईका साथै विश्वव्यापी देखिएको कोभिड महामारीका कारण आयोजनामा लक्ष्य अनुरुपको प्रगति देखिएको छ । आयोजना निर्देशनालय एडीबीका अनुसार दुवै प्याकेजमा जम्मा ५÷५ प्रतिशत भौतिक प्रगति देखिएको छ ।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको कमला-कञ्चनपुर ८७ किलोमिटर लामो छ । २ लेनको राजमार्ग ४ लेनमा विस्तार गर्न आर्थिक वर्ष २०७७/७८ मा ठेक्का लागि सकेको छ ।
कमला-कञ्चनपुर सडक खण्डलाई २ प्याकेजमा विभाजन गरी ठेक्का लगाइएको छ । यी दुवै प्याकेजको ठेक्का चीनको चाइना रेल्वे नम्बर २ ग्रपले पाएको छ ।
कञ्चनपुर-कुशाहा खण्ड ४० किलोमिटर र कुशाहा-कमला खण्ड ४७ किलोमिटर छ । ग्रुपले भ्याट सहित कञ्चनपुर–कुशाहा ७ अर्ब २७ करोड रुपैयाँ र कुशाहा-कमला ८ अर्ब ३८ करोड रुपैयाँमा स्तरोन्नतीको जिम्मा पाएको हो । कमला–कञ्चनपुर सडक खण्ड निर्माण प्रक्रिया भर्खरै शुरु भएको छ ।
मुग्लिन-पोखरा
पृथ्वी राजमार्गअन्तर्गतको मुग्लिन-पोखरा सडक विस्तारको प्रक्रियामा छ । साँघुरो मुग्लिन-पोखरा सडक खण्ड चार लेनमा विस्तार हुन लागेको हो । यो सडक एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा निर्माण गरिदैछ । करिब ९३ किलोमिटर मुग्लिन-पोखरा सडक खण्ड ३ वटा प्याकेजमा विस्तार हुँदैछ ।
मुग्लिन-आबुखैरेनी, आँबुखैरनी-जामुने र जामुने-पोखरा खण्ड रहेको छ । ३ वटा प्याकेजमध्ये आँबुखैरनी-जामुने र पश्चिम खण्ड जामुने-पोखरा खण्डको रहेको छ । यी दुवै प्याकेजको ठेक्का चिनियाँ कम्पनीले पाएको हो ।
चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले ६ अर्ब २१ करोड ३१ लाख १३ लाख रुपैयाँमा आँबुखैरनी–जामुने सडक निर्माणको जिम्मा पाएको छ । ४२ महिनामा सक्नेगरी २०७७ मा ठेक्का सम्झौता भएको हो ।
जामुने-पोखरा सडक खण्ड निर्माणको जिम्मा अनहुइ काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ । चिनियाँ कम्पनीले ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा जामुने–पोखरा सडकखण्ड विस्तारको जिम्मा पाएको हो । ठेक्का सम्झौता २०७८ बैशाखमा भएको हो । यो सडक पनि ४२ महिना भित्रमा निर्माण गर्नुपर्ने हुन्छ ।
नागढुंगा सुरुङमार्ग
नाढुंगा सुरुङमार्ग पनि विदेशी निर्माण कम्पनीले निर्माण गरिरहेको छ । जापानी सहयोग नियोग (जाइका) सहुलियत पूर्ण ऋणमा निर्माण भइरहेको आयोजनाको ठेक्का जापानी कम्पनी हाज्मा-आन्द्रो जेभीले पाएको छ । ४२ महिनामा निर्माण सम्पन्न गर्नेगरी साढे १३ अर्ब रुपैयाँमा जापानी कम्पनीले ठेक्का पाएको हो । सुरुङमार्ग निर्माण गर्न २०७६ सालमा सम्झौता भएको हो । २०७७ पुलदेखि निर्माण ठेकेदार कम्पनीले सुरुङमार्ग छेड्ने काम गरिरहेको छ ।
यो सुङमार्ग प्रवेशका लागि त्रिभुवन राजपथबाट काठमाडौंतर्फ थानकोटको बस्नेत छापसम्म २.३० किमि र धादिङतर्फ धुनिबेसीको सिस्नेखोलाबाट पाँच सय ६५ मिटर पक्की सडक बनाउनुपर्नेछ ।
दहचोकदेखि-सिस्ने खोलासम्म सुरुङको लम्बाइ २.६८८ किलोमिटर चौडाइ ९.५ मिटर तथा उचाइ १८ मिटर हुनेछ । यो सडकले नागढुंगाबाट घुमेर जानुपर्ने बाटोको समय कम्तीमा ३० मिनेट बचत गर्नेछ । सडकको लम्बाइ ८ किमि कम हुनेछ । सुरुङमार्ग निर्माणपछि थानकोटबाट १० मिनेटमा नौविसे पुग्न सकिनेछ ।
भारतीय एक्जीम बैंक
भारतीय एक्जीम बैंकको ऋण सहयोगमा नेपालमा दजनैं आयोजना अघि बढेका छन् । एक्जीम बैंकको सहयोगमा निर्माण भइरहेको साना तथा ठूला आयोजनामा भारतीय ठेकेदारबाट काम लिनुपर्ने प्रावधान राखिएको छ ।
एक्जिम बैंकको लाइन अफ क्रेडिटमा भारतको उत्पादन भएको वस्तुको वा सेवा ५० प्रतिशत सहभागित रहनुपर्छ भन्ने छ । एक्जीम बैंकको आयोजनामा भारतीय कम्पनी र नेपाली कम्पनीबीचको जेभीमा काम हुने गरेको छ । एक्जीम बैंकको सहयोगमा काठमाडौं-त्रिशुली सडक निर्माण भइरहेको छ । यसमा बालाजु-रानीपौवा १७ किमि र रानीपौवा- पीपलटार ३४ किमिसडक छ ।
रानीपौवा-पीपलटार सडक खण्ड विस्तारको जिम्मा भारतीय निर्माण व्यवसायी दिनेशचन्द्र अग्रवाल र नेपाली कम्पनी नागार्जुन/कोसी एन्ड न्यौपानै जेभीले पाएको थियो । २०७४ फागुन २१ गतेभित्र सम्पन्न हुने गरी २०७२ असार ७ गते ठेक्का सम्झौता गरेको थियो ।
यो सडक खण्डमा निर्माणमा ढिलो भएको भन्दै ठेक्का सम्झौता तोडिसकिएको छ । बालाजु-रानीपौवा सडक खण्डको जिम्मा भारतीय ठेकेदार कम्पनी अराभली इन्फ्रा पावरसहित नेपाली कम्पनी सैलुङ कन्स्ट्रक्सनले पाएको छ ।