‘चिनापर्ची गर्नुपर्ने, गरिएन, गल्ती भयो सर…’
‘घर बनाइसक्न लाग्नु भएछ !’ टाइ सुट लगाएका एक बुज्रुकले सोधे ।
‘हजुर सर ! पालमा कति बस्नु ? नक्सा पनि आयो, पहिलो किस्ता पैसा पनि पाइयो, घर बनाइदिने मान्छे पनि पाएँ, बनाउँन थालेको, सकिन लाग्यो,’ सेतो टिसर्ट बाहिर उलनको सर्ट लगाएका ब्यक्तिले सर्टको बाहुला माथि सार्दै भने ।
‘घर त सरकारले बनाइ दिनु पर्ने होइन र ? भूकम्प पीडितलाई सरकारले केही गरेन, एउटा घर पनि बनाइ दिएन भन्छन् त काठमाडौंतिर त ?’ अनुहारमा सिधा घाम परेपछि आँखा अलि चिम्रा बनाउँदै ती बुज्रुकले फेरि प्रश्न गरे ।
‘होइन नि सर ! सरकारले पैसा दिने हो, घर हामी आफैले बनाउने हो, सरकारले भनेको नक्सा अनुसारको घर बनाउनु पर्छ, आफैले बनाउँने हो,’ चिल्ला गाडीमा १५/२० जना मान्छे एकैचोटी ह्वारह्वारी आउँदा केही असहज जस्तो अनुभव गरिरहेका ती ब्यक्तिले आफ्ना दुबै हात छातीनेर ल्याएर एउटा हातको औंला अर्काे हातको औंलामा छिराउँदै जवाफ दिए ।
‘प्राबिधिक छन् त यहाँ ?’ बुज्रुकको प्रश्न फेरि तेर्सियो ।
‘छन् सर, चाहिएको बेलामा आएनन् भने सामाजिक परिचालकलाई भन्छौं, उनले बोलाइ दिन्छिन्,’ केही काँपेको स्वरमा उनले सुनाए ।
सम्बाद रमाइलो थियो । प्रश्न सोध्ने मान्छे जानेबुझेको जस्तो देखिन्थे । तर उनको प्रश्नमा केही पनि नबुझेर सोधेको जस्तो देखिन्थ्यो ।
हामीलाई थाहा थियो । प्रश्न सोध्ने मान्छे हामीले चिनेका थियौं । जवाफ दिने मान्छे भने पहिलोचोटी भेटेका थियौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेल प्रश्न सोध्दै थिए । र, दोलखाको कालिन्चोक लामिडाडाका ६० बर्षीय दिलबहादुर सिवाकोटी जवाफ दिदै थिए ।
डा. पोखरेल र सिवाकोटीको प्रश्नोत्तर सकिएको थिएन । पत्रकारको जात न पर्यो । खसखस लागिहाल्यो ।
‘तपाइसँग प्रश्न सोधिरहेको ब्यक्ति तपाइले चिन्नुहुन्छ दाइ,’ दिलबहादुरलाई बीचमै रोक्दै सोधें ।
‘चिनापर्ची गर्नुपर्ने, गरिएन, गल्ती भयो सर,’ ठेला उठेका खस्रा हात बेस्सरी माड्दै दिलबहादुरले मतिर फर्केर जवाफ दिए ।
‘उहाँ त सरकारको ठूलो मान्छे जस्तो देखिनु हुन्छ, उहाँलाई राम्रा कुरा मात्र सुनाउनु पर्छ भनेर तपाइले बनावटी कुरा गर्नु भएको हो भने नडराइ भन्दा हुन्छ दाइ,’ मैले उनको वास्तविक कुरा आओस् भन्ने मनसायले सहजिकरण गर्न खोजे ।
‘ए ! हो सर ? खै मैले त चिनिन, उहाँले कुरा सोध्नु भयो, मैले जे हो त्यही भन्दिए,’ मलाई यस्तो जवाफ दिदै गर्दा दिलबहादुर एक कदम पछाडि हट्न खोजे । उनी पछाडि हट्न खोज्दा खुट्टा पूरै घुसार्न मिल्ने प्लास्टिकको चप्पल खुट्टबाट खुस्कियो । मेरो ध्यान पनि उनको खुट्टामा गयो । भर्खरै सकिएको चिसो र माटोको कारण होला, उनको खुट्टा पटपट फुटेको प्रष्टै देखियो ।
‘म डाक्टर गोबिन्दराज पोखरेल, राष्ट्रिय पुननिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत, तपाइहरुले सजिलै अनुदान पाउनु भएको रहेछ कि रहेनछ, कस्तो घर बनाउदै हुनुहुदो रहेछ, प्रविधिक गाउँमा रहेछन् कि रहेनछन्, घर बनाउन केके समस्या रहेछन्, कस्ता घर बनिरहेका रहेछन् भनेर बुझ्न र तपाइहरुसँगै दुःख साटासाट गर्न आएको,’ प्रश्न सोधिरहेका बुज्रुकले सिवाकोटीसँग आफ्नो परिचय खुलाए ।
‘ए ! हजुर सर,’ सिवाकोटीले यत्ति भनेर उनलाई कुरा अगाडि बढाउन साथ दिए ।
‘आज बैशाख १२ गते, अहिले ठ्याक्कै ११ बजेर ५६ मिनेट गएछ, २ बर्ष अगाडि यही समयमा डरलाग्दो भूकम्प गएको थियो, त्यसले हामीलाई के सिकायो दाइ,’ यो प्रश्न फेरि डा. पोखरेलको थियो ।
‘हो नि सर ! सबै खतम पार्यो, धन्न बाचियो, बलियो घर बनायो भने भूकम्पबाट मरिदो रहेनछ, यो कुरा त बुझियो नि हामीले,’ सिवाकोटीको यो जवाफले डा. पोखरेल साच्चिकै भाबुक जस्ता देखिए । मलिन अनुहार लगाएर एक छिन सिवाकोटीको अनुहारमा एकोहोरो हेरे । केही बेर चुप लागे । त्यसपछि थप गफगाफ चल्यो ।
यो घटना गत बैशाख १२ गतेको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. पोखरेल दोलखाको स्थलगत अवलोकनमा गएका थिए । सिवाकोटीको घर हेर्नुअघि उनले बाटोमा पर्ने विद्यालय, स्वास्थ्यचौकी र ब्यक्तिगत घरहरु मापदण्ड अनुसार बने नबनेको अबलोकन गर्दै अगाडि बढेका थिए । मापदण्डमा थोरै तलमाथि भएका घरहरुलाई कसरी सुरक्षित बनाउन र सरकारी अनुदान लिन योग्य बनाउन सकिन्छ भनेर प्राविधिक र लाभग्राहीलाई निर्माणस्तरमै पुगेर बुझाउदै थिए ।
त्यो दिन बिहान साढे ६ बजे हाम्रो गाडी चरिकोटबाट लापिलाङ्ग, बाबरे हुँदै सिंगटीतिर लागेको थियो । कच्ची बाटोमा धुलो उडाउदै अगाडि बढेको गाडीभित्रैबाट घरहरु निर्माण हुँदै गरेको देखिन्थ्यो । साढे १ बजेतिर हामी सिंगटी पुग्यौं । एउटा सानो औपचारिक कार्यक्रम सकेर खाना खाइयो । त्यसपछि फेरि फर्कन लाग्यौं, चरिकोट । बीचमा एनसेटले आयोजना गरेको डकर्मी तालिम समापनमा सहभागी हुने र दिलढुंंगाको त्रिपुरा सुन्दरी मन्दिर पुननिर्माणको अबलोकन गर्ने कार्यक्रम छदैथ्यो ।
बेलुकी ५ बजे मात्रै चरिकोट आइपुगियो । चरिकोटमा पत्रकार सम्मेलन र त्यसपछि काठमाडौं फर्कने कार्यक्रम थियो । पत्रकार सम्मेलनमा सिइओ पोखरेलले पुननिर्माणमा समन्वयको कमी रहेको, प्राधिकरणको संरचना नै झन्झटिलो बनाइएको र ग्रामीण क्षेत्रमा दक्ष जनशक्तिको कारण पुननिर्माणले अपेक्षित गति लिन नसकेको जस्ता कारण सुनाए ।
मेरो दिमागमा अझै पनि लामिडाडाका दिलबहादुर नै थिए । पत्रकार सम्मेलनपछि सिइओ पोखेलसहित काठमाडौंबाट गएको टोली फर्कने तयारीमा थियो । बेलुकीको साढे ६ बजिसकेको थियो । काठमाडौं फर्कनेहरुलाई हतार हुने नै भयो ।
‘बैशाख १२ गते त तपाइ राष्ट्रपति, प्रधानमन्त्री जस्ता उच्च सरकारी अधिकारीलाई सहभागी गराएर तामझामका साथ कुनै औपचारिक कार्यक्रम नै गर्न सक्नुहुन्थ्यो, ११ः ५६ मा किन दिलबहादुरसँग कुरा गरेर बस्नु भएको ?’ गाडी चढ्नै लागेका डा. पोखरेललाई छेउतिर बोलाएर मैले सोधें ।
‘यो उत्सब मनाउने दिन नै होइन, उच्च अधिकारीलाई सहभागी गराएर शक्तिको दुरुपयोग गर्नु ठीक हो जस्तो मलाई लाग्दैन, जनता घर बनाउँदै छन्, उनीहरुका समस्या के कस्ता रहेछन्, के गर्दा उनीहरुलाई सहयोग हुन्छ, सजिलो हुन्छ, त्यो गर्न दोलखा आएको हूँ,’ उनले जवाफ दिए ।
यति कुरा भएपछि डा. पोखरेलसहितको टोली काठमाडौं फर्कियो । हामी तीन जना पत्रकार त्यो दिन दोलखामै बस्ने भइसकेका थियौं । प्राधिकरणको जिल्ला समन्वय कार्यालयमा बास बस्न चरिकोटबाट माथि डाडातिर लागियो ।
प्राधिकरणको जिल्ला समन्वय कार्यालय दोलखाका प्रमुख सागर आचार्य पनि दिनभर हामीसँगै यात्रामा थिए । तर कुरा गर्न पाइरहेका थिएनौं । त्यो साँझ प्राविधिक कारणले धेरै कुरा गर्ने अबसर जुटेन । भोलि बिहान राम्रै कुरा भयो ।
के हुन त पुननिर्माणका समस्या ? आचार्य बेलिविस्तार लगाउँदै थिए, यही प्रश्नको सेरोफेरोमा ।
‘सरकारी समन्वयमा केही कमजोरी देखिएकै हो, तर यो भन्दा पनि मुख्य कारण जनशक्तिको अभाब नै हो, यो जिल्लामा बार्षिक ५ सय जति घर बन्ने गरेका रहेछन्, भूकम्पको कारण एकैचोटी ५० हजार घर बनाउनु पर्ने भयो, काम गरिरहेका डकर्मी निकै कम रहेछन्, तालिम दिन समय पनि लाग्ने र खर्चिलो पनि हुने रहेछ, मुख्य समस्या यो हो,’ आचार्यले सुनाए ।
जिल्लामा कार्यरत एनजीओ र आइएनजीओहरुलाई डकर्मी तालिममा बढी केन्द्रीत गराइएको उनको भनाइ छ ।
बैशाख १३ गते साढे १० बजेतिर चरिकोटबाट काठमाडौं लागियो । हामी एनसेटका डेपुटी एजुकेटिभ डाइरेक्टर डा. रमेश गुरागाँईको गाडीमा थियौं । अघिल्लो दिन सँगै भएपनि कुरा गर्न पाइएको थिएन । भूकम्प पछिको पुननिर्माणमा सुरक्षित संरचना कसरी बनाउने भनेर लागिपरेको एनसेटका जिम्मेवार र त्यही क्षेत्रका विज्ञ ब्यक्तिसँग लामो यात्रामा सँगै हिड्न पाउनु साच्चै नै राम्रो मौका थियो ।
पुननिर्माणले अपेक्षित गति किन लिन सकेन ? गुरागाँईसँगको कुराकानीको मुख्य बिषय यही नै थियो । उनले यसमा बिषेश गरेर तीनवटा कारण सुनाए ।
‘भूकम्प गएको २ बर्ष भयो, समयका हिसाबले यो लामो समय होइन, पुननिर्माण चाढो गर्नुपर्छ, यसमा दुईमत छैन, तर हतारमा कमजोर बन्नुभन्दा केही समय लागोस् तर बलियो संरचना बनोस्, हाम्रो ध्येय यो हुनुपर्छ,’ उनी तीनवटै कारणको ब्याख्या गर्न थाले ।
‘दोस्रो कुरा जनशक्तिसँग सम्बन्धित छ, काम गरिरहेका डकर्मीलाई ७ दिनको तालिम दिएर भूकम्प प्रतिरोधी घर बनाउन सक्ने दक्ष बनाउन सकिन्छ, तर यस्ता डकर्मीको संख्या असाध्यै कम छ, नयाँ डकर्मी हो भने कम्तिमा ५० दिनको तालिम चाहिन्छ, यो तालिम असाध्यै खर्चिलो छ, किनभने घर बनाउनै लगाएर तालिम दिने हो, सबै प्रकारका निर्माण सामाग्री चाहियो, एनजीओ, आइएनजीओले तालिम दिने हो भने केही छिटो प्रक्रिया पूरा हुन सक्छ, तर सरकारले दिने हो भने कागजी प्रक्रिया पूरा गर्दै तीन महिना जति वित्छ, यसकारण पनि ढिला भएको देखियो,’ डा. गुरागाँईले दोस्रो कारणको ब्याख्या यसरी गरे ।
‘तेस्रो कारण भनेको प्राधिकरण गठनपूर्वकै राजीतिक बिबाददेखि अहिलेसम्मको सरकारी संयन्त्रबीच समन्वय अभाव हो,’ उनले भने ।
सुन्द्रवतीकी एक दिदीले फरकखालको समस्या सुनाइन् ।
‘गाउँमा इन्जिनियर धेरै भए, एउटा संस्थाले पठाएको इन्जिनियरले यो घर ठीक छ भन्छ, अर्काे संस्थाको इन्जिनियरले ठीक छैन भन्छ, घरका १७ डिजाइन दिए, १४ वटा डिजाइन यहाँ कामै नलाग्ने थिए, बाँकी डिजाइन पनि त्यति हुनेखालका छैनन्, एक तले घर बनाउनु भन्छन्, हामीलाई बुइकलमा मकै राख्नुपर्छ, मास मस्याङ्ग, गुन्द्रुक राख्ने घैटा पनि बुइकलमै राख्नु पर्छ, एक तले घर बनाएर हुन्छ जस्तो लाग्दैन मलाई त,’ उनले ब्यवहारिक कठिनाइको पाटो सुनाइन् ।
पुननिर्माणमा समस्या छ । समस्या पहिचान भएकै छ । लामिडाडाका दिलबहादुरले भने झै पहिलो किस्ता लिन तीनचोटी चरिकोट धाउनु परेपछि पीडितले घर बनाउने समय कहाँ पाए र ? लापिलाङका एक स्थानीयले बताए जस्तै गाँउमा प्राविधिक नै नदेखिएपछि जनताका घर बन्न ढिला हुन्छ नै । प्राधिकरणले यी सबै समस्याको समाधान गर्दै पुननिर्माणलाई कुन गतिमा अगाडि बढाउँछ भन्ने बिषय भने प्रतिक्षामै छ ।