पहिलो त्रैमास सकिन २ दिन बाँकी, असार मसान्तमा बैंकले उठाउनुपर्ने किस्ता असोजमा उठेन
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुलाई अहिले दोहोरो चटारो परेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमास र गत आर्थिक वर्षमा बक्यौता रहको साँवा ब्याज उठाउने समय अब २ दिन मात्र बाँकी छ । जसकारण बैंकरहरुलाई नियमित किस्तासँगै गत आवको असार मसान्तसम्म बक्यौता साँवा ब्याज उठाउन सकस भएको हो ।
कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि भएको लक डाउन र निषेधाज्ञाले गर्दा बैंक तथा वित्तीय संस्थाहरुले व्यवसायी ऋणीहरुबाट सतप्रतिशत साँवा ब्याज उठाउन सकिरहेका छैनन् ।
चौतर्फी रुपमा फैलिएको कोरोनाका कारण उठ्नु पर्ने रकम पनि नउठेको वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए ।
‘कहिले सरकारी कार्यालय त कहिले बैंकका कर्मचारीमा नै कोरोना देखिएर कार्यालय नै बन्द गर्नु परेको छ,’ अध्यक्ष दाहालले क्लिकमाण्डूसँग भने, ‘आर्थिक गतिविधि केही बढेको भएपनि अवस्था सहज नभएको कारणले प्राय बैंकका शाखाका कर्मचारीलाई कोरोना संक्रमण देखिन थालेको छ ।’
जसकारणले गर्दा नियमित काम प्रभावित भएर उठ्न सक्ने सम्भावना भएका रकम पनि उठाउन नसकिएको उनको भनाइ छ ।
‘कतिपय बैंकहरुले ५० प्रतिशतसम्म उठेको जानकारी दिएका छन् भने कतिपयले एकदमै थोरै उठेको जानकारी दिएका छन्,’ अध्यक्ष दाहालले भने, ‘जसले उठाएका छन् उनीहरुले पनि ऋणीलाई धेरै सहुलियत दिएर मात्र उठाउन सकेको जानकारी दिएका छन् ।’
नेपाल राष्ट्र बैंकले असार मसान्तसम्म साँवा ब्याज भुक्तानी गर्ने भाका बैशाख १६ गते नै असार मसान्तसम्मलाई सरिदिएको थियो । उक्त समयमा समेत नउठेका रकमलाई केन्द्रीय बैंकले असोज मसान्तसम्म उठाउने समय पुनः थप गरेको हो ।
०७७ असार मसान्तमा बैंकहरुको ५१ अर्ब ७५ करोड रुपैयाँ किस्ता/ब्याज उठेन, कसको कति ?
कोभिड- १९ प्रभावित क्षेत्रको वर्गिकरण गर्दै राष्ट्र बैंकले सो क्षेत्रका ऋणीले असोज मसान्तसम्म नउठेमा चालु आवको पुस, चैत र असार मसान्तसम्म उठाउन समय दिएको छ । सोही कारणले तिर्न सक्ने क्षमता भएका ऋणीले समेत अहिले साँवा ब्याज नतिरेको संघका अध्यक्ष दाहालले बताए ।
‘अहिले उठाउन पनि ऋणीलाई धेरै छुट दिएर तिरिदिनुस् भन्दै आग्रह गरेका छौँ,’ उनले थपे, ‘ऋण तिरे ब्याजदरमा छुट नदिए राष्ट्र बैंकले यति समय भनेको अहिले किन तिर्ने भन्ने गर्छन्, गत वर्ष कै उठाउन बाँकी हुँदा यो त्रैमासको उठाउन बैंकहरुलाई झनै समस्या भइरहेको छ ।’
गत आवको असार मसान्तसम्म वाणिज्य बैंकहरुले ५१ अर्ब ७५ करोड रुपैयाँ साँवा ब्याज उठाउन बाँकी थियो । परिस्थिति सहज नहुँदा बैंकहरुले शतप्रतिशत साँवा ब्याज नसक्ने र त्यसमा थप खर्च बढ्ने दाहालले जानकारी दिए ।
‘अब नउठेका साँवा ब्याजलाई पुनरसंरचना, पुनरतालिकीकरण गर्नु पर्ने हुन्छ,’ उनले भने, ‘जसमा १० प्रतिशतसम्म ब्याज उठेको ऋणलाई वाच लिस्टमा राखी पुनरसंरचना, पुनरतालिकीकरण गर्न मिल्ने व्यवस्था छ ।’
नउठेको ऋणलाई वर्गिकरण गरी प्रोभिजन गर्नु पर्ने भएकाले बैंकहरुको प्रोभिजनमा खर्च बढ्ने उनको भनाइ छ ।
राष्ट्र बैंकको व्यवस्था अनुसार ९० दिनसम्म नउठेको ऋणलाई वाच लिष्टमा राखी कर्जाको ५ प्रतिशत प्रोभिजन गर्नु पर्ने हुन्छ । जुन बैंकहरुले असार मसान्तमा नै गरिसकेको दाहालले बताए ।
असोज मसान्तसम्म पनि नउठेको ऋणलाई भने बैंकले अब कमसल कर्जामा वर्गिकरण गरी कर्जाको २५ प्रतिशत प्रोभिजन गर्नु राष्ट्र बैंक नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकालले बताए ।
‘असारदेखि असोज मसान्तसम्म बैंकहरुले नउठेका ऋणलाई वाच लिस्टमा राखेर प्रोभिजन गरेको थिए,’ कार्यकारी निर्देशक ढकालले भने, ‘बैंकहरुले कर्जामा देख्ने जोखिम अनुसार त्यसमा अधिकत्तम जतिपनि प्रोभिजन गर्न सक्छन् ।’
तर असोज मसान्त पछि नउठेको कर्जालाई भने कमसल कर्जामा वर्गिकरण गरी त्यमा न्यूनतम २५ प्रतिशत प्रोभिजन गर्नु पर्छ ।
कोरोनाको प्रभाव हरेक क्षेत्रमा देखिएको हुँदा अहिले धेरै थोरै साँवा ब्याज भुक्तानी भएता बैंकहरुले सहज र सरल तबरले रकम उठाउन नसकेको नेपाल डेभलपमेन्ट बैंकर्स एसोसियसनका अध्यक्ष गोविन्द ढकालले बताए ।
‘अझैपनि समय छ, नेपालीहरुको बानी अन्तिम क्षणमा काम गर्नेपनि हुन्छ,’ अध्यक्ष ढकालले क्लिकमाण्डूसँग भने, ‘हालसम्म उठ्नु पर्ने रकमको ३०/३५ प्रतिशत नै रकम उठिरहेको छैन् ।’
राष्ट्र बैंकले ऋण तिर्ने समय थपिदिएकै कारणले क्षमता भएका कतिपय ऋणीहरुले समेत साँवा ब्याज भुक्तान नगरेको उनको गुनासो छ ।
‘व्यक्तिगत कर्जाको समेत मानिसहरुले पैसा भएपनि हालिरहेका छैनन्, हायर पर्चेज र होटल, ट्राभल्स लगायत पर्यटन क्षेत्रको पैसा अझैपनि उठ्ने सम्भावना कम छ’ अध्यक्ष ढकालले थपे, ‘केन्द्रीय बैंकले साँवा ब्याज भुक्तानी गर्ने समय थप गर्नु भन्दा ब्याज पुँजीकरण गर्ने ब्यावस्था गरेको भए राम्रो हुन्थ्यो ।’
समय थप गर्दै साँवा ब्याज उठाउँदा बैंकहरुको प्रोभिजनमा खर्च बढी ब्यालेन्ससिट बिग्रिने उनले बताए ।
हालसम्म साँवा ब्याज भुक्तानी राम्रो नभएको हँदा फाइनान्स कम्पनीहरुले असोज मसान्तसम्म उठाउनु पर्ने बक्यौता रकमको शतप्रतिशत उठाउन नसक्ने नेपाल वित्त संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले बताए ।
‘कम्पनीहरुले असार मसान्तसम्म उठाउनु पर्ने बक्यौता रकमनै २०/२५ प्रतिशत बाँकी थियो,’ अध्यक्ष तुलाधरले क्लिकमाण्डूसँग भने, ‘ अहिलेसम्मको अवस्था बुझ्दा जसमा कम्पनीहरुले ५० प्रतिशतभन्दा कम नै उठाएका छन् ।’
असार मसान्तसम्म बक्यौता रकम नै उठाउन गाह्रो भएको हुँदा कम्पनीहरु यो त्रैमासको पैसाभन्दा असारको पैसा उठाउन लागिरहेका उनले जानकारी दिए ।