
विराटनगर । सरकारले एक फलाम उद्योगलाई लाभ हुने गरी एमएस वायर रडमा भन्सार बढाएको आरोप उद्योगीहरूले लगाएका छन् । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक विधेयकमार्फत एमएस वायर रडको आयातमा लाग्दै आएको ५ प्रतिशत भन्सार महसुललाई १० प्रतिशत बनाउँदा एउटा उद्योगलाई लाभ हुने उनीहरूको बुझाइ छ ।
फलामका तार जालीजन्य वस्तु उत्पादन गर्ने उद्योगले मुख्य कच्चा पदार्थका रूपमा प्रयोग गर्दै आएको एमएस वायर आयात गर्दा भन्सार बिन्दुमा परल मूल्यमा ५ प्रतिशत भन्सार महसुल र प्रतिटन ४५०० अन्तःशुल्क लाग्दै आएको थियो । जसमध्ये भन्सार महसुल १० प्रतिशत बनाइएको हो ।
५ प्रतिशत भन्सार महसुल र टनमा ४५०० अन्तःशुल्कका कारण नै फलामका तारजाली उत्पादक उद्योगको उत्पादन आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था थिएन । कच्चा पदार्थमा भन्सार बढाउँदा नेपालमै तयारी तारजाली झन् महँगो हुने तथा आयातीत तारजाली सस्तो हुने उद्योगीहरुको भनाइ छ ।
प्रिमियर स्टिल उद्योगका सञ्चालक पवनकुमार सारडाले बजेटले विदेशी तयारी तारजाली आयात गर्दा सस्तो पर्ने अवस्था बनेको बताए । यसो हुँदा नेपाली तारजाली उद्योग बन्द गर्नु पर्ने अवस्थामा पुग्ने उनको भनाइ छ ।
‘आर्थिक वर्ष २०८२/८३ को आर्थिक विधेयकले एमएस वायरको आयातमा १० प्रतिशत भन्सार महसुल र अन्तःशुल्क प्रति टनमा ४५०० कायम गरेपछि स्वदेशमा उत्पादन गर्नुको सट्टा विदेशबाट तारजाली आयात गर्दा सस्तो पर्ने हुनेछ,’ उनले भने ।
विदेशबाट आयात गरिने एमएस वायर प्रयोग गरेर स्थानीय उद्योगले तारजालीसहित जीआई वायर, ग्याभियन बक्स, किल्लाकाँटी, बाइन्डिङ वायर, बाइन्डिङ रड, रिप वायर लगायतका वस्तु उत्पादन गर्छन् । नेपालमा एमएस वायर रड आयात गरेर यस्ता सामाग्री आयात गर्ने उद्योगको संख्या झण्डै दुई दर्जन छ ।
साफ्टा अन्तर्गत जिआई वायर र एङ्गल वायर आयात गर्दा परल मूल्यमा ६ प्रतिशत र पिसी वायरमा ७ दशमलव २५ प्रतिशत भन्सार महसुल लाग्छ ।
ती उद्योगको कच्चा पदार्थ एमएस वायर आयात गर्दा परल मूल्यमा १० प्रतिशत भन्सार महसुल र प्रति टनमा ४५०० रुपैयाँ अन्तःशुल्क तिर्नुपर्छ ।
‘त्यति महसुल तिरेर कच्चा पदार्थ आयात गरी वस्तु उत्पादन गर्दा महँगो पर्दा विदेशी उत्पादनसँग प्रतिस्पर्धा नै गर्न सकिँदैन,’ सारडाले भने ।
मुलुकमा साना ठूला गरेर २५ वटा फलाम उद्योग छन् । तीमध्ये वीरगञ्जको जगदम्बा उद्योगले मात्र एमएस वायर रड उत्पादन गर्दै आएको छ ।
एक उद्योगीले भने, ‘तारजाली उद्योगको कच्चा पदार्थको आयात महँगो बनाउने नीति कि त तारजाली उद्योग सुकाउन कि त जगदम्बालाई लाभ दिलाउन ल्याइएको हुनुपर्छ ।’ जगदम्बा कै प्रभावमा परेर अर्थमन्त्रीले एमएस वायर रड आयातमा भन्सार महसुल ५ प्रतिशतबाट बढाएर १० प्रतिशत बनाएको ती उद्योगीको भनाइ छ ।
एक उद्योगको प्रभावमा परेर अर्थमन्त्रीहरूले बारम्बार अन्य उद्योगले प्रयोग गर्ने कच्चा पदार्थको भन्सार महसुलमा खेलोफड्को गर्दै आएको अन्य उद्योगीको आरोप छ ।
प्रतिक्रिया