
काठमाडौं । २०८० चैत २८ गते २०२५.७० बिन्दुमा रहेको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०८१ को अन्तिम कारोबार दिन (चैत ३१)मा आईपुग्दा २६६२.०८ बिन्दुमा रोकिएको छ । ०८१ को एक वर्षमा नेप्सेमा कुल २३१ दिन कारोबार हुँदा नेप्से ६३७ अंकले माथि रहँदै २५६२ बिन्दुमा रहेको हो ।
हुन, त गएको वर्ष नेप्से ३००० अंकसम्म पुगेको थियो । गत वर्षको सुरुवाती समयमा नेप्से २००० अंकमा रहेपनि त्यसपछि थप घटेर वैशाख २४ गते १९५८ अंकमा सीमित भयो । १९०० अंकबाट सामान्य बढेर नेप्से लामो समय २००० र २१०० अंकको वरीपरी घुमिरह्यो । वैशाखदेखि असारसम्मको तीन महिनाको अवधिमा पनि नेप्से २२०० अंकभन्दा माथि चढ्न सकेन ।
तर, असार १६ मा २०३७ बिन्दुमा रहेको नेप्से ३३ कारोबार दिनमा ९६३ अंकले बढेर साउन ३१ गते ३०००.८१ बिन्दुमा पुगेको थियो जुन २०७८ यताकै उच्च थियो । यसअघि नेप्से २०७८ भदौ २ गते ३१९९.०३ अंक (त्यसदिन ३२२६ सम्म) पुगेको थियो । यो रेकर्ड भने हालसम्म तोडिएको छैन ।
यद्यपि, कारोबार रकममा भने यसै वर्ष नयाँ रेकर्ड बन्यो । सूचक ३००० विन्दुमा पुगेकै दिन (साउन ३१)मा नेप्सेमा कुल २९ अर्ब ३० करोड कारोबारको नयाँ रेकर्ड बन्यो । कारोबार रकम र सूचकमा देखिएको बढोत्तरी लामो समय भने टिक्न सकेन छ । अझ भनौं बजार निरन्तर घट्दै असोज १३ गतेसम्म आईपुग्दा सूचक २४६४.४० (त्यस दिन २४४२.५७ न्यून बिन्दु)सम्म खुम्चिसकेको थियो ।
यसपछि नेप्से फेरि २६०० र २७०० वरीपरी लामो समय घुमिरह्यो । फेरि, पछिल्लो पटक नेप्से फागुन १९ गते २९२९ विन्दुसम्म पुगेको थियो । साथै, फागुन १८ गते नेप्सेमा एकै दिन १४ अर्ब माथिको कारोबार पनि भयो । सो विन्दुबाट नेप्से निरन्तर उतारचढाव हुँदै २०८१ को अन्तिम कारोबार दिन (चैत ३१) मा २६६२ विन्दुमा सीमित भएको हो ।
सर्वाधिक सेयर मूल्य बढेका १० कम्पनी
गएको वर्ष नारायणी विकास बैंकको सेयर मूल्यमा सबैभन्दा धेरै वृद्धि भएको देखिन्छ । २०८१ वैशाख २ मा ४१५ रुपैयाँ प्रतिकित्तामा कारोबार भएको नारायणीको सेयर मूल्य चैत ३१ मा १७९८ रुपैयाँमा कारोबार भएर बन्द भएको छ । गएको यो एक वर्षमा नारायणी विकास बैंकको सेयर मूल्य १३८२ रुपैयाँ (३३२ प्रतिशत)ले उकालो लागेको छ ।
गएको वर्ष कर्पोरेट विकास बैंकका सेयरधनीले सर्वाधिक कमाएका छन् । वर्षको सुरुवातमा ४३१ रुपैयाँ प्रतिकित्तामा कारोबार भएको कम्पनीको मूल्य वर्षको अन्तिममा आउँदा १३८४ अंक (३२० प्रतिशत)ले बढेर १८१५ रुपैयाँमा कारोबार भएको छ । यस अवधिमा सिईडीबि होल्डिंसको सेयर मूल्य २६० प्रतिशतले, एनआरएन इन्फ्रास्टक्चरको २५८ प्रतिशतले र ग्रिन डेभलपमेन्टको सेयर मूल्य २४४ प्रतिशतले बढेको छ ।
यस्तै, गएको एक वर्षमा सप्तकोशी विकास बैंकको सेयर मूल्य २३३ प्रतिशतले बढ्दा आत्मनिर्भर लघुवित्तको २२२ प्रतिशत, सिन्धु विकास बैंकको २०६ प्रतिशत, उपकार लघुवित्तको १३९ प्रतिशत र कुथेली बुखारी स्मल हाइड्रापावरको सेयर मूल्यमा १३३ प्रतिशतको वृद्धि भएको छ ।

सर्वाधिक सेयर मूल्य घटेका १० कम्पनी
गएको वर्ष गोर्खाज फाइनान्स सबैभन्दा बढी सेयर मूल्य घट्ने कम्पनी बनेको छ । हुन, त गत वर्षको तुलनामा सूचक ६३७ अंकले माथि रहेकाले सेयर मूल्यमा धेरै गिरावट आएका कम्पनी बढी छैनन् । तथापि, वैशाखमा ८१६ रुपैयाँ प्रतिकित्तामा कारोबार भएको गोर्खाज फाइनान्सको सेयर मूल्य एक वर्षमा २३६ अंक (२८ प्रतिशत)ले घट्दै चैत ३१ मा ५८० रुपैयाँमा सीमित भएको छ ।
यस अवधिमा पोखरा फाइनान्सको सेयर मूल्य १८ प्रतिशतले घट्दा पिपुल्स पावरको १७ प्रतिशत, एनबिबि–२०८५ डिबेन्चरको ११ प्रतिशत, सिवाईसी लघुवित्त र हिमालयन डिस्टिलरीको समान ७ प्रतिशत, उन्नती सहकार्य लघुवित्तको ६ प्रतिशतले घटेको छ । गत वर्षको तुलनामा सूचक माथिल्लो विन्दुमा रहेकाले सेयर मूल्यमा उच्च गिरावट आएका कम्पनी कम देखिन्छन् ।

प्रतिक्रिया