अनुभूति लिन नपाइएको ‘रियल टाइम सर्भिलेन्स’: कागजमा रिफर्मका कुरा, कार्यान्वयनमा बेवास्ता

133
Shares

काठमाडौं । पछिल्लो केही समययता सेयर बजारमा निश्चित कम्पनीको सेयर मूल्य अस्वभाविक ढंगमा उत्ताचढाव गर्ने प्रवृत्ति देखा परिरहेको छ । बिनाकारण छोटो समयमै कुनै कम्पनीको सेयर मूल्य उचालेर माथि पुर्याउने र तीब्र गतिमा घटाएर पुनः न्यून विन्दुमा सीमित गर्ने खेल बजारमा चलिरहेको छ । यो किसिमको खेल पालैपालो विभिन्न कम्पनीहरुमाथि हुँदै आएको छ ।
निश्चित् कम्पनीहरुको सेयर मूल्यमा अस्वभाविक उतारचढाव गराउने काम भएको भन्दै लगानीकर्ताले यसमा नियमन आवश्यक भएको बताउँदै आएका छन् ।

लगानीकर्ताको गलत प्रवृत्तिलाई पहिचान गरी नियमन गर्न सक्ने ‘रियल टाइम सर्भिलेन्स’ कार्यान्वयनमा नआउँदा पनि केही व्यक्ति तथा समूहले बजारमा गलत खेल खेल्ने स्थान पाएको तर्क गर्दै आएका छन् । रियल टाइम सर्भिलेन्स विश्वका सबल बजारमा कार्यान्वयनमा रहे पनि नेपालमा भने त्यसको अनुभूति गर्न नपाइएको गुनासो लगानीकर्ताले गरिरहेका छन् ।

सेयर लगानीकर्ता देव गुरागाईं सेयर कारोबार अनलाइन प्रणालीमा गएसँगै त्यसलाई नियमन गर्ने रियल टाइम सर्भिलेन्स सँगै अगाडि बढाउन नसक्दा समस्या देखिएको बताउँछन् ।

‘पहिला अहिलेको जस्तो कुनै कम्पनीको मूल्य अस्वभाविक ढंगमा उचाल्ने र गिराउने कार्य हुँदैन थियो । अनलाइन टे«डिङको सुरुवातसँगै मानिसले आफ्नो डिभाइसबाट कारोबार गर्न सक्ने स्थिति बन्यो,’ गुरागाईं भन्छन्, ‘जसले गर्दा निश्चित कम्पनीको मूल्य उचाल्ने र गिराउने काम बढ्दै गएको हो ।’

उनले अनलाइन टे«डिङ सुरु भएसँगै रियल टाइम सर्भिलेन्सलाई प्रभावकारी ढंगमा अघि बढाउने काम नभएको बताए । निमयन गर्ने यो प्रणाली प्रभावकारी नहुँदा कुनै व्यक्ति तथा समूहले लक्षित गरेर नै कुनै कम्पनीको सेयर मूल्य बढाउने वा घटाउने उदेश्यले खेल खेल्न पाएका छन् । एकातर्फ सामाजिक सञ्जालमा अफवाह फैलाउने र अर्कोतर्फ फेक अर्डरहरु राखेर यस्तो गतिविधि हुने गरेको तर्क गुरागाईंको छ ।

‘रियल टाइम सर्भिलेन्स प्रभावकारी बनाएमा कुनै व्यक्तिले आवश्यक्ता नभई लाखौं कित्ता डिमान्ड गरेर बसेको, बारम्बार मूल्य परिवर्तन गरेको, तथा अस्वभाविक प्रवृत्ति देखाएका पहिचना गर्छ,’ गुरागाईं भन्छन्, ‘कसैले गलत मनसायले यस्तो गतिविधि गरेमा निश्चित समयमा लागि कारोबार नै गर्न नपाउने बनाउन मिल्छ ।’

उनले अहिले सर्भिलेन्स प्रभावकारी नहुँदा प्रयोगकर्ताले जति पटक पनि माग गर्ने, माग गर्नसाथ फिर्ता लिने, अनावश्यक ढंगमा चलाइरहने अवस्था रहेको बताए ।

यो प्रणाली लागू भएको खण्डमा बजारमा अस्वभाविक मूल्य घटबढ गर्ने र चलखेल गर्ने प्रवृत्ति धेरै हदसम्म कम हुने तर्क उनको छ । हुन, त नेपाल स्टक एक्सचेन्ज लिमिटेडले २०७५ साउन १ गतदेखि अनलाइन कारोबार प्रणालीको परीक्षण सुरु गरेको थियो। विसं. २०५० सालदेखि खुल्ला बोलकबोलको मध्यमबाट हुँदै आएको धितोपत्र कारोबार २०६४ मा आएर स्वचालित कारोबार प्रणालीमा स्तरोन्नति भएको थियो ।

नेप्सेले कारोबार सेवामा अझ सहजता ल्याउन पूर्णस्वचालित अनलाइन कारोबार प्रणाली प्रयोगमा ल्याइसकेको छ । नेप्से अनलाइन कारोवार प्रणाली प्राविधिक पक्षबाट अति नै सबल रहेकोले यसले लगानीकर्तालाई कारोबारमा सहजता प्रदान गर्नुका साथसाथै अन्य सरोकारवालहरु (नियामक निकाय, माध्यस्तकर्ता, बजार निर्माता तथा पुँजी बजारका अधिकारीको पनि आवश्यकता परिपूर्ति गर्ने आँकलन गरिएको थियो ।

नेप्सेको यो सिस्टमले धेरै भन्दा धेरै कारोबार केही समयमै गर्न सक्ने, धितोपत्र व्यवसायीले प्रणालीमा आफै आदेश राख्न सक्ने बनायो । तर, नियमनको पाटोमा कमजोर हुँदा भने बजारमा गलत प्रवृत्ति मौलाउन पुगेको तर्क लगानीकर्ताको छ ।

लगानीकर्ताले रियल टाइम सर्भिलेन्सको प्रभावकारी कार्यान्वयन नभएको र अनुभूति गर्न नपाएको गुनासो गरे पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) भने यसमा काम भइरहेको बताउँछ ।

हाल नेप्सेले ‘अन स्क्रिन’ र ‘अफ स्क्रिन’ गरी दुई किसिमको सर्भिलेन्स गर्दै आएको छ । अन स्क्रिन भनेको नेप्सेको टे«डिङको सिस्टममा बसेर अनलाइनमार्फत् गर्ने सिर्भिलेन्स हो भने अफ स्क्रिन अर्थात् अनसाइट इन्ट्रक्सन भनेको ब्रोकरहरुको अफिसमा गएर त्यहाँको निरीक्षण, सुपरीवेक्षण तथा अनुगमन गर्ने काम हो । जसअनुसार अन स्क्रिन अर्थात् रियल टाइम सर्भिलेन्स कारोबार सुरु भएदेखि बन्द नहुन्जेसम्म हुने गरेको नेप्सेका कम्पनी सचिव तथा सूचना अधिकारी मुराहरी पराजुली बताउँछन् ।

‘कसैले सेलिङ अर्डर राखेमा सो व्यक्तिसँग आवश्यक्ताअनुसारको सेयर छ वा छैन भनेर नेप्सेले हेर्छ । साथै, कसैले बाइङ अर्डर राखेमा उक्त व्यक्तिको खातामा सो बराबरको रकम छ वा छैन भनेर पनि हेर्ने काम नेप्सेबाट हुन्छ,’ पराजुली भन्छन्, ‘अर्डर राख्न सक्ने आधार नदेखिएको खण्डमा हामीले त्यसलाई हटाउन लगाउने गर्दै आएका छौं ।’ उनले यस विषयमा लगानीकर्ता पनि सचेत हुन आवश्यक रहेको बताए ।

लगानीकर्ताले देखेजति सबै फेक अर्डर भने हुँदैनन् । त्यसमध्येका एकदमै निश्चित मात्रै फेक अर्डर हुन्छ । यदि, संका भएमा वा फेक अर्डर लागेमा लगानीकर्ता त्यसैको पछाडि दौडिने भन्दा पनि सचेत हुन आवश्यक देखिन्छ । कतिपय विदेशी मुलुकमा भने यसलाई धेरै असामान्य मानिँदैन । अर्थात्, यदि कुनै व्यक्तिले १० लाख कित्ता सेयर बिक्री गर्नु छ भने एकैपटक बिक्रीमा राख्दा सप्लाई घट्नसक्ने भएकाले सबै बिक्रीमा देखाउँन । हजार ५ सय कित्ता गर्दै बिक्री गर्ने गर्छन् ।

‘साना र कम पुँजी भएका कम्पनीलाई कर्निरिङ गर्ने काम संसारभर नै हुन्छ । ठूलो पुँजी भएका व्यक्तिले आफूले चाहेको डिरेक्सनमा बजारलाई लैजाने प्रयास गर्दछन्,’ पराजुलीले भने, ‘तर, यसैले बजार घटाउने वा बढाउने काम गर्यो भन्न मिल्दैन । बजार घटबढ गराउने अनेकन कारणमध्ये यो एकदमै सानो कारण हुनसक्छ ।’

यद्यपि, नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आफ्नो चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा यो विषय भने समेटेको थियो । बोर्डले चालू आर्थिक वर्ष २०८१/८२ का लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममा यो विषय उल्लेख गरेको थियो ।

‘धितोपत्र बजारमा हुने दैनिक कारोबार, कारोबार रकम, कारोबार हुने कम्पनी, कारोबार भएको धितोपत्र आदिको रियल टाइम सर्भिलेन्स गर्ने तथा नियमित रुपमा बजार तथा कारोबारको अनुगमन तथा सुपरिवेक्षण गरी सुपरिवेक्षणका क्रममा कुनै गलत अभ्यास भएको देखिएमा सो को प्रारम्भिक जाँचबुझ गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको थियो ।

तर, नीतिमा उल्लेख गरे अनुसार बोर्ड कार्यान्वयनमा भने गइसकेको देखिँदैन। धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरे नीतिमा रियल टाइम सर्भिलेन्सलाई अपग्रेड गर्ने ढंगमा यसलाई समेटिए पनि ठोस काम भने नभएको बताउँछन् ।

‘अहिले पनि रियल टाइम सर्भिलेन्स भइरहेको छ । तर, नीति तथा कार्यक्रममा यो सिस्टमलाई अपग्रेट गरौं भन्ने उद्देश्यमा राखिएको थियो,’ घिमिरेले क्लिकमान्डुसँग भने, ‘तर, हालसम्म ठोस रुपमा यसमा काम भएको स्थिति भने छैन ।’