भारतद्वारा नेपाली सिमेन्ट र प्लाइउडको ‘बीआईएस’ नवीकरण, अब निर्यात गर्ने बाटो खुल्ला ?

3k
Shares

काठमाडौं । भारतले नेपाली सिमेन्ट र प्लाइउडको ‘बीआईएस’ प्रमाणपत्र नवीकरण गरेको छ ।

भारतले ‘बीआईएस’ प्रमाणपत्र नवीकरण नगर्दा नेपालबाट पाँच महिनादेखि भारततर्फको सिमेन्ट निर्यात र एक महिनादेखि प्लाइउड निर्यात रोकिएको थियो । प्रमाणपत्र नवीकरणसँगै जस्तापाताको निर्यात गर्ने बाटो पनि खुलेको छ ।

अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालक पशुपति मुरारकाले भारतले बुधबार बीआईएस नवीकरण गरिदिएको जानकारी दिए । रुपन्देहीस्थित अर्घाखाँची सिमेन्टको पनि बीआईएस नवीकरण भएको छ ।

बीआईएस नविकरण पश्चात अब भारतमा पहिलेजस्तै सहज रुपमा सिमेन्ट, जस्तापाता र प्लाइउड निर्यात हुने बाटो खुला भएको उनले जानकारी दिए ।

‘अर्घाखाँची सिमेन्टको बुधबार बीआईएस नवीकरण भएर आएको छ,’ उनले भने, ‘अब भारततर्फ सहज रूपमा सिमेन्ट निर्यात हुने बाटो खुला भयो ।’

अहिले एक महिना म्याद बाँकी रहेका दुई–तीन वटा सिमेन्ट उद्योगले भारतमा निर्यात गरिरहेका छन् भने नवीकरण नभएका आधा दर्जन सिमेन्ट उद्योगहरू एक महिनाभित्र बीआईएस पाउने सूचीमा रहेको उद्योगीहरूको भनाई छ ।

निर्यात सहजीकरणको लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले समेत कूटनीतिक पहल गरेका थिए ।

मन्त्री भण्डारीले आफ्नो औंपचारिक भारत भ्रमणका बेला समकक्षी पीयूष गोयलसंग भेटवार्ता गर्दै नेपाली वस्तुको भारत निर्यात गर्न र भारतीय बजारमा विक्रि वितरणको सहजीकरणका लागि पहल गरेका थिए ।

यसै गरी गत पौष २७ र २८ मा भएको नेपाल–भारत वाणिज्य सचिव स्तरीय बैठकमा पनि ‘बीआइएस’ प्रमाणपत्र प्राप्ति, नवीकरण तथा निर्यात सहजीकरणको विषयमा छलफल भएको थियो । उक्त बैठकमा नेपालका तर्फबाट प्राथमिकताका साथ बिषय उठेपछि भारतीय पक्षले समस्या समाधानको लागि प्रतिबद्धता जनाएका थिए ।

भारत सरकारले सिमेन्ट, जस्तापाता, प्लाइउड, सेनेटरी प्याड, फुटवेयर लगायतका सामग्री निर्यातमा ‘बीआइएस’ प्रमाणपत्र अनिवार्य गरेको छ । २८ फेव्रअरी २०२५ मा राजपत्रमा सूचना प्रकाशित गर्दै स्वदेशी (भारतीय) तथा विदेशबाट आयात हुने सामग्रीमा ‘बीआइएस’ अनिवार्य गरेको हो ।

बीआईएस नविकरण भएपछि भारत निर्यात गर्न बाटो अवरुद्ध भएको प्लाइउडको बाटोसमेत खुलेको नेपाल प्लाइउड उत्पादक संघले जनाएको छ ।

संघका अध्यक्ष होमप्रसाद घिमिरे भारतले बीआईएस नवीकरण गर्न थालेको जानकारी दिए ।

उनका अनुसार बुधबारदेखि भारतले नेपालको करिब एक दर्जन उद्योगको बीआईएस प्रमाणपत्रको नवीकरण गरेको छ । प्रमाणपत्र नविकरणका लागि अन्य उद्योगहरु पनि आइरहेका छन् ।

केहि दिनअघि अध्यक्ष घिमिरेको नेतृत्वमा प्लाइउड एसोसिएसनको टोली डेलिगेसन लिएर भारत पुगेको थियो । बीआईएसको अन्तर्राष्ट्रिय विषय हेर्ने प्रमुखसँग छलफल भएको र उनले सहजीकरण गर्ने बताएको अध्यक्ष घिमिरेले जानकारी दिए ।

अब बीआईएस पाउनका लागि ३४ प्लाइउड उद्योग बाँकी छन । ती उद्योगमध्ये १५ उद्योगको पनि एक महिनाभित्र आइसक्ने उनले बताए ।

भारतले सिमेन्टसहित प्लाइउड र स्टिललगायत उद्योगको पनि बीआइएस नवीकरणमा सहजीकरण गरिरहेको नेपालका उद्योगीहरू बताएका छन् ।

भारतले ‘बीआईएस’ प्रमाणपत्र नवीकरण नगरेका कारण नेपालबाट भारतमा सिमेन्ट र प्लाइउडको निर्यात रोकिएको थियो ।

बीआईएस प्रमाणपत्र नविकरण नहुँदा नेपालबाट पाँच महिनादेखि भारततर्फको सिमेन्ट निर्यात र एक सातादेखि प्लाइउड निर्यात रोकिएको थियो । त्यसको प्रत्यक्ष असर नेपाल वस्तुको निर्यात व्यापारमा परेको थियो ।

भारतले १२ मार्च (२८ फागुन) देखि ‘ब्युरो अफ इन्डियन सर्टिफिकेट्स (बीआईएस) प्रमाणपत्रको कारण देखाउँदै भारततर्फ आयात रोक्दा सिमेन्ट, प्लाइउड र स्टिलसहितको ट्रक नाकामा रोकिएका थिए ।

प्रमाणपत्र नविकरण नहुँदा नेपालबाट प्लाइउड लिएर भारततर्फ गएका ३४ ट्रक भारतले सीमा नाकामै रोकेका थिए ।

काँकडभिट्टा, भैरहवा, कृष्णनगर, नेपालगञ्ज र विराटनगर नाकाबाट प्लाइउड निर्यात रोकिएको थियो ।

घिमिरेका अनुसार गुणस्तर प्रमाणका लागि प्रयोग हुने बीआईएस प्लाइउड उद्योगका हकमा अगस्ट २८ सम्म लागु हुँदैन भन्ने थियो । तर, भारतले भने १२ मार्चदेखि नै आयात रोकेको थियो ।

भारत सरकारले एक वर्षअघि राजपत्रमा सूचना प्रकाशित गरी बीआईएस प्रमाणपत्र नलिएका कुनै पनि वस्तु आयात नगर्ने घोषण गरेको थियो । त्यसअनुसार नेपालबाट निर्यात हुने वस्तु पनि बीआईएस लिनुपर्ने अवस्थामा पुगेका थिए ।

प्लाइउड र प्लाइढोकाका हकमा भने बीआईएस नलिई एक वर्ष थप निर्यात गर्न सक्ने सुविधा भारतले दिएको थियो । राजपत्रमा ठूला उद्योगले २०२५ फेब्रुअरी २८, मझौलाले मार्च २८ र साना उद्योगले अगस्ट २८ तारिखसम्म बीआईएस लिनुपर्ने उल्लेख थियो ।

घिमिरेले नेपालका ८० उद्योगले प्लाइउड उत्पादन गर्ने र ४५ उद्योगले भारततर्फ निर्यात गर्दै आएको जानकारी दिए । उनका अनुसार ४५ मध्ये २ उद्योगले भारतबाट बीआईएस पाएका थिए । एक बर्षमा भारतमा साढे ७ अर्ब रुपैयाँबराबरको प्लाइउड निर्यात हुँदै आएको थियो ।

भारत सरकारको ब्युरो अफ इन्डियन स्ट्यान्डड्र्स (बीआईएस) ले गुणस्तर सम्बन्धी इन्डियन स्ट्यान्डर्ड इन्स्टिच्युट (आईएसआई) सर्टिफिकेट नवीकरण नगरिदिएका कारण नेपाली सिमेन्ट र प्लाईउड निर्यात रोकिएको थियो ।