
विराटनगर । निजी क्षेत्रले बिरोध र बहिष्कार गर्ने चेतावनी दिएपछि आन्तरिक तयारी नपुगेको भन्दै स्थगन गरिएको कोशी प्रदेश सरकारको पहिलो लगानी सम्मेलन वैशाख १८ र १९ गते गर्न प्रदेश सरकार पुन जुर्मुराएको छ ।
गत माघको दोस्रो साता गर्ने भनिएको यो सम्मेलन प्रदेश सरकारले तयारी नपुगेको भन्दै स्थगन गरेको थियो । स्थगनको मुख्य कारण भने उद्योग संगठ मोरङले त्यसैबेला गरेको विराट एक्सपो मेला स्थलमा उद्योग संगठनकै व्यवस्थापनमा सरकारले लगानी सम्मेलन गर्ने तयारी गरेपछि भएको थियो ।
निजी क्षेत्रका अन्य संघ र संगठनले त्यसको सर्वत्र बिरोध गर्दै बहिष्कार गर्ने समेतको चेतावनी दिएपछि प्रदेश सरकारले अन्तिम समयमा आन्तरिक तयारी नपुगेको भन्दै स्थगन गरेको थियो ।
प्रदेश सरकारले परियोजनाहरुको सोकेसिङ, कानूनको संशोधन र खरिद प्रक्रियामार्फत काम गर्न समय अभाव भएकाले लगानी सम्मेलनको तिथि सार्नु परेको भन्दै आफ्नो बचाउ गरेको थियो ।
कतिपय कानून र नीति संशोधनका लागि केन्द्रीय सरकारको समेत सहयोग चाहिने भएकाले सम्मेलन सार्नु परेको सरकारको दाबी थियो । लगानी सम्मेलनका नाममा प्रदेश सरकारले चालु वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत तीन करोड रुपैयाँ विनियोजन गरेको छ ।
तत्कालीन मुख्यमन्त्री शेरधन राई नेतृत्वको प्रदेशको पहिलो सरकारले पनि प्रदेशको पहिलो लगानी सम्मेलन गर्ने तयारी गरेको थियो । त्यो सरकारले पनि कोरोना कहरकाका कारण सम्मेलन स्थगन गरेको थियो ।
वैशाख १८ र १९ गने हुने भनिएको लगानी सम्मेलनमा विभिन्न ५४ वटा परियोजना शोकेसिङ गर्दै १ खर्ब ३९ अर्ब लगानी भित्र्याउने लक्ष्य प्रदेश सरकारले राखेको छ ।
कृषि, उद्योग, पर्यटन, पूर्वाधार, ऊर्जा, सूचना प्रविधि र फोहोरमैला व्यवस्थापन गरी करिब एक खरब ३९ अर्बको परियोजना प्रदेश सरकारले सोकेसिङ गर्ने तयारी गरिरहेको छ ।
कृषिमा र उद्योगमा ९/९ वटा, पर्यटनमा १५ वटा, पूर्वाधारमा १४ वटा, ऊर्जामा ३ वटा, सूचना प्रविधिमा २ वटा र फोहोरमैला व्यवस्थापनमा २ वटा गरेर ५४ वटा परियोजनालाई छलफलका लागि अगाडि बढाइएको लगानी प्राधिकरणका कार्यकारी निर्देशक डा. सरोज कोइरालाले जानकारी दिए ।
सबैभन्दा बढी ६५ अर्ब ४० करोडको उद्योग र ३५ अर्ब ९७ करोडको पर्यटन क्षेत्रका लगानी परियोजना लगानी सम्मेलनमा लैजान लागिएको छ । प्रदेश सरकारले स्वदेशी तथा विदेशी लगानीकर्तालाई ल्याउने गरी तयारी अन्तिम चरणमा पुर्याएको कोइरालको भनाई छ ।
लगानी सम्मेलनकै लागि प्रदेश सरकारले विभिन्न १२ वटा ऐन संशोधन गर्ने र २ वटा नयाँ ऐन संसद मार्फत अगाडि बढाउने तयारी गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले जानकारी दिए ।
लगानी सम्मेलनको मिति तय गरेपछि मुख्यमन्त्री हिकमतकुमार कार्कीले पूर्वमुख्यमन्त्री तथा सरोकारवालासँग परामर्श गरेका थिए । मुख्यमन्त्री कार्कीले पहिलो पटक लगानी सम्मेलन भएकाले यसमा देखिएका समस्यालाई सम्बोधन गर्दै अगाडि बढ्ने बताउँदै प्रदेश सरकार आफ्नै बाटो आफैं तय गर्दै अघि बढ्नुपर्ने बाध्यतामा रहेको र यो लगानी सम्मेलनको माध्यमबाट प्रदेशको यात्रा तयार गरेर अघि बढ्ने परामर्श बैठकमा बताएका थिए ।
माघमा हुने भनिएको लगानी सम्मेलनका लागि कोशी प्रदेश लगानी प्राधिकरणले विभिन्न ३७ वटा आयोजना छनोट गरेर सोकेसमा राखेर थप २० वटा योजनाको अध्ययन गरिरहेको थियो ।
उक्त सम्मेलनमा विदेशमा बसेर कारोबार र विकासे योजनामा लगानी गर्दै आएका नेपाली भाषीलाई पनि आमन्त्रण गर्ने तयारी प्राधिकरणको थियो ।
अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, जर्मन लगायतका मुलुकमा बसोबास गरेर कारोबार गर्ने र विकासे योजनामा लगानी गर्दै आएका ४० जना भन्दा बढी (डीडीआई) ड्यासपोरा डाइरेक्ट लगानीकर्ता नेपाली भाषीलाई पनि सम्मेलनमा सहभागी गराउने तयारी भइरहेको प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सरोज कोइरालाको भनाइ थियो ।
प्राधिकरणले सम्मेलनमा १० करोड माथिका एक खर्ब पाँच अर्ब ८५ करोड लागतका प्रारम्भिक ३७ वटा योजना प्रस्तुतिका लागि तयारी गरेर सोकेशमा राखेको थियो । त्यसबेला सोकेसमा राखेका योजनामा सुनसरीको कोशीमा २०७७ सालदेखि निर्माणधीन कोशी रिफ्रेसमेन्ट सेन्टरदेखि आकर्षक लाग्ने योजनाहरु पनि छन् ।
सोकेसमा समेटिएका योजनामा २ अर्ब ५१ करोडका ६ वटा कृषिसँग सम्बन्धित प्रोजेक्ट छन् । यस्तै १ अर्ब १७ करोडका २ वटा जलविद्युत् आयोजना, ६२ अर्ब ६५ करोड बराबरका ८ उद्योग, २४ अर्ब ४३ करोड बराबरको पूर्वाधार निर्माण, ४७ करोडको डाटा सेन्टर, फोहोर व्यवस्थापनका लागि ५० करोडको एउटा आयोजना, १३ अर्ब १२ करोड बराबरको ११ वटा पर्यटन सम्बन्धी आयोजना छन् ।
त्यसैगरी इलामको जितपुरमा २२ करोडको लगानीमा देउमाई कफी फार्म, धनकुटाको सहिदभूमिमा २७ करोडको लगानीमा सिट्रस फ्रुट्स फार्मिङ प्रोसेसिङ उद्योग र एग्रो टुरिजम, इलामको सूर्योदय नगरपालिकामा ३३ करोडको लगानीमा डेरी प्रोडक्ड एण्ड प्रोसेसिङ उद्योग, धनकुटाको साँघुरीगढीमा २५ करोडको योजनामा किबी फार्मिङ प्रोसेसिङ उद्योग र एग्रो टुरिजम, धनकुटामै ६४ करोडको लगानीमा एभोकाडो फार्मिङ प्रोसेसिङ उद्योग, अनुसन्धान सेन्टर र एग्रोटुरिजमको आयोजना सोकेसमा परेका थिए ।
यस्तै इलाममा ८० करोडको लगानीमा एड्भान्स नेप्लिज टि एण्ड कफी उद्योग, सोलुखुम्बुमा ६२ करोडमा आमादाबब्लाम मिनि हाइड्रो परियोजना, सोलुखुम्बुमै ५५ करोडमा मेन्जोखोला मिनि हाइड्रो, मोरङमा १ अर्ब १६ करोडको लगानीमा हर्बल प्रोसेसिङ प्रोजेक्ट उद्योग, सुनसरीमा ९ करोडको एग्रो प्रोसेसिङ सेन्टर उद्योग, उदयपुरमा ३२ अर्बको उदयपुर क्लिङ्कर, सुनसरी र उदयपुरमै २६ अर्बको ग्रिन हाइट्रोजन एण्ड केमिकल फर्टिलाइजर प्रोजेक्ट, उदयपुरमा २ अर्बको बायो इथानोल प्रोजेक्ट, पहाडी जिल्लाहरू लक्षित गरी ४० करोडको लगानीमा कोदोको रक्सी वनाउने उद्योग आयोजना छनौट भएको थियो ।
फर्टिलाइजर प्रोडक्सन एण्ड रिसर्च प्रोजेक्ट उद्योग, काँकडभिट्टामा ४० करोडको बसपार्क, धनकुटाको भेडेटारमा ३० करोडको लगानीमा भेडेटार मल्टिपर्पोज कम्प्लेक्सको पूर्वाधार निर्माण, मोरङमा ४ अर्ब ८० करोडको लगानीमा विराटनगर मल्टिपर्पोज कमर्सियल कम्प्लेक्सको पूर्वाधार निर्माण, विराटनगरमै २ अर्ब ३० करोड र १ अर्ब ७५ करोडको लगानीमा दुईवटा फाइभ स्टार होटलको पूर्वाधार निर्माणका प्रोजेक्ट छनौट गरिएको थियो ।
यस्तै विराटनगरमै २८ करोडको लगानीमा विराटनगर पब्लिक ट्रान्सपोर्ट प्रोजेक्टको पूर्वाधार निर्माण, मोरङमा ५ अर्बको कोशी पोडवेको पूर्वाधार निर्माण, खोटाङको हलेंसीमा १० अर्बको हलेंसी केबलकार–पोडवे निर्माण, आइटिसीतर्फ २५ करोडको लगानीमा डाटा सेन्टर स्थापना, २२ करोडको लगानीमा डिजिटल कोशी, झापाको मेचीनगरमा ५० करोडको लगानीमा इन्टग्र्रेटेड सोलिड बेस्ट मेनेजमेन्ट प्रोजेक्ट निर्माण, सुनसरीको बर्जुमा ४ अर्ब २८ करोडको लगानीमा बर्जु ताल टुरिजम प्रोजेक्ट र यस्तै सुनसरीमै ८० करोडमा रास ताल टुरिजम प्रोजेक्ट सम्मेलनमा प्रस्तुत गर्ने तयारी गरिएको थियो ।
त्यस्तै अन्य योजनामा मोरङको बेतनामा २४ करोडको लगानीमा बेतना सिमसार टुरिजम प्रोजेक्ट, सुनसरीमा २५ करोडको लगानीमा वाटर पार्क, सुनसरीमै २ अर्ब लगानीको कोशी रिफ्रेसमेन्ट सेन्टर, ३५ करोड लगानीमा धनकुटाको राजा ताल टुरिजम प्रोजेक्ट, १ अर्ब ५० करोडको लगानीमा इलामको कन्याम अन्तु केबलकार प्रोजेक्ट निर्माण, इलाममै १ अर्ब लगानीमा बुद्धपार्क चित्रे गुम्बा केबलकार प्रोजेक्ट, इलाममै ८० करोड लगानीमा कन्याम मनोरेल प्रोजेक्ट, सोलुखुम्बुमा ४० करोडको लगानीमा चिउरीखर्क नाम्चे रोप्वे निर्माण र सोलुखुम्बुकै चौंरीखर्च छेदिङमा केबलकार १ अर्ब ५० करोडको लगानीको योजना प्राधिकरणले सोकेसमा रोखको थियो ।
प्रतिक्रिया