
विराटनगर । कोशी प्रदेशमा संकटग्रस्त सहकारी सस्थाको संख्या बढ्दो छ । सुनसरी झुम्काको एक र विराटनगरको एक सहकारी संस्थालाई संकट ग्रस्त घोषणा गर्न सहकारी रजिष्ट्रार कार्यालय कोशीले प्रदेश सरकार समक्ष सिफारिस गर्ने तयारी गरेको छ ।
यसअघि सहकारी रजिष्ट्रार कार्यालय कोशीको सिफारिसमा सुनसरीको इटहरीमा मुख्यालय रहेको अम्बे बचत तथा ऋण सहकारी संस्थालाई प्रदेश सरकारले संकट ग्रस्त घोषणा गरेको थियो । यो सहकारीले १३ हजारभन्दा बढी बचतकर्ताको ४७ करोड ७ लाख ६६ हजार ४ सय ५९ रुपैयाँ अपचलन गरेको पुष्टि भएको थियो ।
संकट ग्रस्त घोषित अम्बे र घोषणाको तयारीमा रहेका दुई वाहेक शंकास्पद थप दर्जन बढी सहकारीको अनुसन्धान भइरहेको छ । ती मध्ये आधा दर्जनभन्दा बढीको अवस्था पनि संकट ग्रस्त घोषणाको पाइपलाइनमा रहेको स्रोतले क्लिकमाण्डुलाई जानकारी दिएको छ ।
प्रदेश सरकारले गत पुसमा वरिष्ठ अधिवक्ता भरतबन्धु थापाको नेतृत्वमा संकट ग्रस्त सहकारीको व्यवस्थापन गर्न समिति गठन गरेको थियो । उक्त समितिले अम्बे बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापनका लागि गृहकार्य गरिरहेको थापाले बताएका छन् ।
कोशी प्रदेश सहकारी रजिष्ट्रार हरिवहादुर खत्रीका अनुसार थप दुई सहकारी संस्थालाई संकट ग्रस्त घोषणा गर्न कार्यालयले प्रदेश सरकार समक्ष सिफारिसको तयारी गरेको छ । त्यसमा सुनसरी झुम्काको एक र विराटनगरको एक बचत तथा ऋण सहकारी संस्था छन् ।
खत्रीले क्लिकमान्डुसँग भने, ‘ती संस्थाको नाम र अपचलन रकम अहिले नै सार्वजनिक गर्न मिल्दैन । साता भित्रमा संकट ग्रस्त घोषणाका लागि ती सहकारीको नाम कार्यालयले प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालय समक्ष पठाउने छ, अनि ती सहकारीको नाम र अपचलन रकम सार्वजनिक हुनेछ ।’
सर्वसाधारणको बचत हिनामिना भएका थप दर्जन बढी सहकारीका बारेमा अनुसन्धान भइरहेको छ । अनुसन्धानका क्रममा रहेका ती सहकारीमध्ये केहीमा समस्या जटिल देखिएका छन् । रजिष्ट्रार कार्यालय स्रोतले भन्यो, ‘थप झण्डै आधा दर्जन सहकारी संस्था संकट ग्रस्तको सूचीमा पर्ने स्थिति देखिँदै छ ।’
कोशी प्रदेशभरि १ हजार ८३ वटा सहकारी संस्था दर्ता छन् । तीमध्ये १२ वटा सहकारी संस्थाका सञ्चालकले सर्वसाधारणको बचत अपचलन गरेर फरार भएपछि सञ्चालक विरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ । त्यसमध्ये खोटाङको लालुपाते बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकले सबै दायित्व तिरेर मिलापत्र भएको छ ।
धनकुटाको हिमाली बहुउद्देश्यीय सहकारी र विराटनगरको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाको आंशिक मिलापत्र भएर दायित्व तिर्ने काम भइरहेको खत्रीले जानकारी दिए ।
रजिष्ट्रार कार्यालय स्रोतका अनुसार धरानको बराह बचत तथा ऋण सहकारी, झापा कमल गाउँपालिकाको पूर्वनेपाल बहुउद्देश्यीय सहकारी, विराटनगरको तुलसी सहकारी, मोरङ कर्सियाको उमागौरी कृषि सहकारी, झापा शिवसतक्षीको उन्नति बचत तथा ऋण सहकारी सहित मोरङ, सुनसरी र झापाका थप एक दर्जन सहकारी संकटग्रस्त घोषणाको पाइपलाइनमा छन् ।
कोशी प्रदेशमा एक अर्ब माथि सम्पत्ति र दायित्व भएको सहकारी १२ वटा छन् । तीमध्ये ११ वटा झापामा सञ्चालित छन् । ५० करोडदेखि एक अर्बसम्म कारोबार गर्ने १३ वटा, २५ करोडदेखि ५० करोडसम्म कारोबार गर्ने ३१ वटा, ५ करोडदेखि २५ करोडसम्म कारोबार गर्ने सहकारीको संख्या ९७ वटा रहेको रजिष्ट्रार कार्यालयको अभिलेख छ । तीमध्ये अधिकांश सहकारीमा समस्या देखिएको छ । केही सहकारीका सञ्चालक बचत रकम अपचलन गरेर फरार हुँदा अनौठो मान्नु पर्ने स्थिति छैन ।
प्रदेशमा स्थानीय सरकार अन्तर्गत नियमन हुने सहकारी ३ हजार ६५१ र प्रदेश सरकार अन्तर्गत नियमन हुने १ हजार ८३ सहकारीमा मात्र १२ लाख १५ हजारभन्दा बढी सर्वसाधारणको १३ अर्ब २४ करोडभन्दा बढी शेयर पूँजी र ६५ अर्ब ५८ करोड ८७ लाखभन्दा बढी सर्वसाधारणको बचत रहेको तथ्यांक छ ।
संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल पत्नी अन्जला कोइराला संलग्न रहेको मोरङ कर्सियाको उमागौरी कृषि सहकारीले ८००८ शेयर सदस्य र ऋणी सहित विभिन्न वित्तीय संस्थाको २२ करोड ४८ लाख रुपैयाँ अपचलन गरेको छ ।
यसका २६ जना सञ्चालकविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता हुँदा अदालतले केहीलाई धरौटीमा छाड्ने आदेश दिँदा केहीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । केही फरार छन् । पोखरेल पत्नी कोइराला चाहिँ १० लाख धरौटीमा छुट्दा संस्थाका अध्यक्ष शम्भु रौनियार पुर्पक्षका लागि थुनामा छन् ।
प्रतिक्रिया