
विराटनगर । सन् १९८३ मा वेलायती नागरिक सुसी डान्स्मोरले पूर्वी नेपालको पहाडी जिल्ला तेह्रथुममा हाते तानबाट उत्पादन हुने ढाका कपडाको तीन वर्षसम्म अध्ययन र अनुसन्धान गरेर धागो र रंगको छनोट गरेपछि व्यवसायिक उत्पादन सुरु भएको इतिहास छ । ढाका कपडा यसबेला तेह्रथुम जिल्लाको पहिचान बनेको छ ।
आज त्यही हाते तानबाट बुनिने ढाका कपडाले कोशी प्रदेशका अधिकांश जिल्लामा महिलालाई उद्यमी मात्र बनाएको छैन, यसमा संलग्न प्रायः सबैको प्रमुख आय स्रोत र रोजगारीको मुख्य आधार पनि बनेको छ । ढाका कपडा सिंगो तेह्रथुम जिल्लाको पहिचान र आर्थिक समृद्धिको स्रोत पनि मानिएको छ । व्यवसायीका अनुसार पहाडी जिल्ला तेह्रथुममा मात्र वार्षिक ५० करोडको ढाका कपडाको कारोबार हुँदै आएको छ ।
तेह्रथुमको म्याङलुङका प्रायः घर-घरमा ढाका कपडाका तानमा ढाकाका रुमाल, टोपी, सल, ब्लाउज, सारी, दौरा सुरुवाल, कोट, स्कार्फ लगायतका वस्त्र बुन्छन् । जिल्लाका ६ वटै स्थानीय निकायमा घरेलु उद्योगका रूपमा ढाका उद्योग विस्तार भएका छन् । संघीय सरकारले तेह्रथुमलाई २०७९ सालमा ढाकाको राजधानी पनि घोषणा गरेको छ ।
घरेलु तथा साना उद्योग कार्यालय तेह्रथुममा दर्ता भएका २१८६ घरेलु उद्योगमध्ये १५५ वटा ढाका उद्योग दर्ता भएको तथ्यांक छ । थोरै लगानीमा सञ्चालन गर्न सकिने ती उद्योगमा एक अर्बभन्दा बढीको लगानी भएको कार्यालयको प्रारम्भिक अनुमान छ ।
तेह्रथुमका हरेक घरमा कम्तीमा २–३ वटा ढाका बुन्ने तान छन् । ठूलो लगानीमा ६५ वटा उद्योग छन् । दर्ताबिना ५ सयभन्दा बढी ढाका उद्योग सञ्चालनमा छन्। ढाका उद्योगमा जिल्लामा मात्र १० हजारभन्दा बढी महिला आश्रित रहेको तेह्रथुम ढाका उत्पादक समाजका अध्यक्ष भीम ल्वागुनले क्लिकमान्डुलाई बताए। उनका अनुसार तेह्रथुममा मात्र ढाकाको कारोबार वार्षिक ५० करोडभन्दा बढीको छ ।
तेह्रथुमको घरेलु ढाका उद्योगले जिल्लाको अर्थतन्त्रमा ठुलो योगदान पुर्याएको र महिलाका लागि रोजगारीको प्रमुख माध्यम बनेको उद्योग वाणिज्य संघ तेह्रथुमका अध्यक्ष राजीव ढुंगनाको भनाइ छ । उनका अनुसार यहाँ उत्पादित ढाका कपडा मुलुकका ठूला सहरमा मात्र नभएर छिमेकी र युरोपियन मुलुकमा पनि वार्षिक करोडभन्दा बढीको निकासी हुँदै आएको छ । उनले भने, ‘तेह्रथुम आउने जो कोहीले कोसेलीका रूपमा यहाँ उत्पादित ढाका कपडा बोक्ने गरेका छन् ।’
हाते तानबाट बुनिने ढाका कपडाको उत्पादन अब तेह्रथुममा मात्र सीमित रहेन। धनकुटा, भोजपुर, संखुवासभा, ताप्लेजुङ, पाँचथर, मोरङ, सुनसरी र झापाका महिलाले पनि यसलाई आफ्नो व्यवसाय र जीविकोपार्जनको मुख्य पेशा बनाएका छन् ।
हिमाली जिल्ला ताप्लेजुङको फुङलिङ–७ की कल्पना म्याङवोले तीन दशक पहिला २७ सय रुपैयाँ पुँजीमा ढाका कपडा बुन्ने एउटा हाते तान घरमा जोडिन् । त्यस तानमा उनले ढाकाको टोपी बुनाइबाट आफ्नो उद्यम सुरु गरिन् ।
त्यसको कमाइले अर्को महिना थप दुईवटा तान जोडिन् र छिमेकका दुईजना महिलालाई रोजगारी पनि दिइन् । तीनवटा तानबाट सबै खर्च कटाएर उनले दोस्रो महिना १५ हजारभन्दा बढी नाफा कमाइन् ।
त्यही नाफा रकमले उनले थप तान जोडेर टोपीसहित रुमाल, सल, सारी, ब्लाउज बुन्न थालिन् । यस बेला उनको कल्पना ढाका उद्योगमा १० वटा हाते तान छन् । ९ जना महिलाले रोजगारी पाएका छन् । अहिले उनको उद्योगले वार्षिक सरदर १५–२० लाखको कारोबार गर्दै आएको छ । त्यो कारोबारबाट कल्पना अहिले सबै खर्च कटाएर वार्षिक ५–६ लाख रुपैयाँ कमाउँछिन् ।
गत साता नेपाल उद्योग वाणिज्य महासंघ कोशीले विराटनगरमा आयोजना गरेको तीनदिने ढाका महोत्सवमा सहभागी हुन आएकी ४८ वर्षीया कल्पनाले भनिन्, ‘ढाका कपडाको तानबाट हुने आम्दानीले नौ जना महिलालाई रोजगारी दिएर आफ्नो चार जनाको परिवारको गुजारा राम्रोसँग चलाएको छु ।’
फुङलिङ–७ कै बचनकुमारी लिम्बुको पनि चार सदस्य परिवारको भरपर्दो आर्थिक स्रोत ढाका कपडाको हाते तान नै हो । डेढ दशक पहिला पाँच हजार पुँजी खर्चेर दुईवटा हाते तानबाट ढाका कपडा बुन्न सुरु गरेकी लिम्बुको यस बेला १४ वटा तान छन् । उनले १० जना स्थानीय महिलालाई रोजगारी दिएकी छन् ।
छथर जोरपाटी धनकुटाकी रविना लिम्बुको आठ जनाको परिवार ढाका कपडा बुनाइमै संलग्न छ । उनको इन्द्रकुबेर ढाका उद्योगले वार्षिक ३० लाखसम्मको कारोबार गर्दै आएको छ । त्यसबाट उनलाई वार्षिक सरदर ७ लाख रुपैयाँ आम्दानी हुँदै आएको छ ।
सविना ढाका बुनाइ उद्योग, बाह्रदशी–३, राजगढ, झापाकी हेमकुमारी श्रेष्ठ सात वर्षदेखि ढाका कपडा बुन्ने व्यवसायमा संलग्न छिन् । उनको उद्योगले अर्डरअनुसारका ढाका कपडा तयार गर्छ । त्यसका लागि उनले स्थानीय १२ जनालाई रोजगारी दिएकी छन् ।
चार दशक पहिला तेह्रथुमबाट सुरु भएको ढाकाको यात्रा सिंगो कोशी प्रदेशमा झाँगीएर महिलालाई उद्यमशील बनाउनुका साथै रोजगारीका अवसर सिर्जना गरेपछि कोशी प्रदेश सरकारले यसको संरक्षण र प्रवर्द्धन गर्ने घोषणा गरेको छ ।
साताअघि उद्योग वाणिज्य महासंघ कोशीले विराटनगरमा आयोजना गरेको तीनदिने ढाका महोत्सवमा कोशीका मुख्यमन्त्री हिकमतकुमार कार्कीले ढाका कपडा र उद्योगको संरक्षण र प्रवर्द्धनका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रदेशभरका निजामती कर्मचारी र सामुदायिक विद्यालयका शिक्षकको कार्यालय पोशाक अनिवार्य रूपमा ढाका कपडाको गर्ने तयारी गरेको सार्वजनिक रूपमा घोषणा गरेका छन् ।
त्यसैगरी ढाका कपडा र उद्योगको विजनेश डेभलपमेन्ट सर्भिसका लागि नेपाल उद्योग वाणिज्य संघ कोशीले पहल गर्ने भएको छ । संघका अध्यक्ष राजेन्द्र राउतले ढाका उद्योगलाई प्रबद्र्धन गर्दै यो उद्योगमा आवद्ध महिला उद्यमीको व्यवसायिक क्षमता अभिबृद्धि गर्ने, ढाका कपडाको व्यवसायिक संभावना बढाउदै राष्ट्रिय र अन्तराष्ट्रिय बजार विस्तारकालागि संघले पहल गर्ने बताए।
ढाका कपडा उद्योग तेह्रथुमको मात्र नभएर सिंगो प्रदेशको पहिचान बनेको छ । प्रदेशभर ३०० भन्दा बढी महिलालाई ढाकाले उद्यमी बनाएको छ । १५ हजारभन्दा बढी महिलालाई रोजगारी दिएको छ । राउतले क्लिकमान्डुसँग भने, ‘यस्ता रोजगारमूलक उद्योगलाई संरक्षण र प्रवर्द्धन गर्न जरुरी छ, त्यसैले यी उद्योगको व्यवसायिक विकास सेवाका लागि आवश्यक पर्ने कच्चा पदार्थको उत्पादनसहित स्थानीय र अन्तर्राष्ट्रिय बजार विस्तारका लागि महासंघको कोशी प्रदेशले विशेष पहल गर्ने छ ।’
प्रतिक्रिया