देशकै पुरानो महेन्द्र गोल्डकप यसरी बन्यो विराट गोल्डकप, निजी क्षेत्रले आयोजना गर्दामात्र नाफा


विराटनगर । मोफसलको प्रतिष्ठित मध्येको एक रात्रिकालीन विराट गोल्डकप फुटवल प्रतियोगिताको ९ औं संस्करण फागुन १९ देखि २८ गतेसम्म विराटनगरको सहिद मैदानमा सञ्चालन हुँदैछ । वि.सं. २०१८ सालदेखि राजा महेन्द्रको नाममा महेन्द्र गोल्डकपका रुपमा २८ औं संस्करण सम्म सञ्चालन भएको यो प्रतियोगिता २०६२/६३ को राजनीतिक परिवर्तनसँगै विराट गोल्डकपमा परिणत भएको हो ।

यही प्रतियोगिताकै लागि कोशी प्रदेशको पहिलो प्रदेश सरकारले ५ करोडको लागतमा यहाँको सहिद मैदानमा स्थायी फ्लडलाइटको व्यवस्था गरेपछि प्रतियोगिताको पाँचौ संस्करण यताका हरेक संस्करण रात्रीकालीन सञ्चालन हुँदै आएको छ ।

२०६० सालसम्म महेन्द्र गोल्डकपका नाममा यो प्रतियोगिताको २८ औं संस्करणसम्म आयोजना भएकामा विराट गोल्डकप ट्रष्टले २०६८ सालदेखि यो प्रतियोगितालाई विराट गोल्डकपका नाममा आयोजना गर्न थालेको हो ।

गोल्डकप ट्रष्ट प्रतियोगितालाई निरन्तरता दिन असफल हुनुका साथै ट्रष्ट आफैंले प्रतियोगिताको आयोजना गर्दा निरन्तर घाटामा गएपछि ट्रष्टले प्रतियोगिता आयोजना गर्न निजी क्षेत्र अर्थात विराटनगरका उद्योगी व्यवसायीको जिम्मा लगाउँदै आएको छ ।

त्यसैक्रममा प्रतियोगिताको नवौं सस्करणको जिम्मेवारी यसपाली मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नविन रिजालले पाएका छन । यसअघि चौथो संस्करणको संयोजक पनि रिजाल नै थिए । त्यसबेला रिजालले नाफा भएको ६ लाख रुपैयाँ ट्रष्टलाई हस्तान्तरण गरेका थिए ।

गतवर्ष गोल्डकप ट्रष्ट आफैंले आठौं संस्करण आयोजना गर्दा साढे २२ लाख घाटा भएको प्रतिवेदन सार्वजनिक गरेको थियो । सातौं संस्करणको जिम्मेवारी विराटनगर महानगरका मेयर नागेश कोइरालाले लिएका थिए । उनका पालामा ८७ लाख घाटा भएको थियो ।

प्रतियोगिताको छैंटौ संस्करण व्यवसायी मनोजविक्रम राणा र पाँचौ सस्करण उद्योगी तथा हालका नेपाल उद्योग वाणिज्य संघ कोशीका अध्यक्ष राजेन्द्र राउतको संयोजकत्वमा सम्पन्न भएको थियो । राणा र राउतले पनि प्रतियोगितावाट नाफा भएको १० लाख भन्दा बढी रकम ट्रष्टलाई हस्तान्तरण गरेका थिए । त्यसअघिका हरेक संस्करण ट्रष्ट आफैंले आयोजना गर्दा घाटा भएको प्रतिवेदन सार्वजनिक हुँदै आएको थियो । रिजाल, राउत र राणा संयोजक भएर प्रतियोगिता सम्पन्न गर्दा नाफा भएको १६ लाख रुपैयाँ ट्रष्टलाई उपलब्ध गराएका थिए । तर ट्रष्टले त्यो सबै रकम चलाई मासेको बताइएको छ ।

फागुन १९ गतेदेखि सुरु हुने नवौं संस्करणको प्रतियोगिता सम्पन्न गर्न अनुमानित १ करोड ३५ लाख खर्च लाग्ने प्रतियोगिताका संयोजक नविन रिजालले बताए । उक्त रकम राष्ट्रिय खेलकुद परिषद, प्रदेश सरकार, प्रदेश खेलकुद परिषद, अखिल नेपाल फुटवल संघ, विराटनगर महानगरपालिका, मुख्य प्रायोजक, सहप्रायोजक, विज्ञापनदाता, टिकट बिक्री र विभिन्न संघ संस्थावाट उपलब्ध हुने रिजालको विश्वास छ ।

प्रतियोगितामा भारतका २ र विभागीय ३ सहित स्वदेशी ८ टिम गरी १० टिमले प्रतिष्पर्धा गर्नेछन् । विजेताले गोल्डकप सहित ११ लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार राशी पाउने छन । मेयर कोइराला संयोजक रहेको सातौं सस्करणका विजेताले २० लाख र उपविजेताले साढे १० लाख पुरस्कार पाएका थिए । सो पुरस्कार राशी आठौं संस्करणको आयोजक गोल्डकप ट्रष्टले घटाएर अहिलेको अंकमा ल्याएको हो ।

नवौं सस्करणमा उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकताले जनही १५ हजार, उत्कृष्ट खेलाडीले ११ हजार र सर्वोकृष्ट खेलाडीले ५१ हजार रुपैयाँ पुरस्कार पाउने रिजालले बताए । यसअघिका संस्करणमा सर्वोकृष्ट खेलाडीलाई पुरस्कार स्वरुप मोटर साइकल दिइएको थियो ।

आर्थिक मन्दीले सबै क्षेत्र थलिएर आर्थिक स्रोत जुटाउन गाह्रो भइरहेको उल्लेख गर्दै संयोजक रिजालले भने विराट गोल्डकपको पहिचानलाई जोगाई राख्न जेनतेन रुपमा भएपनि प्रतियोगिता आयोजनाको तयारी गरिएको हो ।