यो हिउँदमा कम वर्षा हुने
काठमाडौं । लगातार २ वर्षको हिउँद सुक्खा भएजस्तै यो वर्षको हिउँद पनि पानी नपरी सुक्खा नै हुने अनुमान गरिएको छ । नेपालको मौसमी पात्रोमा मंसिर १५ देखि फागुन १५ सम्मको अवधिलाई हिउँदयाम भन्ने चलन छ । गएका २ वर्षको हिउँद उल्लेख्य वर्षा नभई सकिएका थिए ।
यो वर्षको हिउँदको मध्यतिर आइपुग्दा पनि वर्षाको कुनै सम्भावना छैन । नेपालको उच्च पहाडी क्षेत्र र हिमाली क्षेत्रमा छिटफुट हिमपात भए पनि महाभारत, चुरे र तराईमा वर्षा हुन सकेको छैन । नेपालमा हुने वर्षाको ८ देखि १० प्रतिशत वर्षा हिउँद याममा हुने बताइन्छ ।
यस्तै अंग्रेजी महिनाको जनवरीमा ६० मिलिमिटर वर्षा हुनुपर्छ भन्ने मत मौसमविद्हरुको छ । विगत वर्षको अनुभव र यो वर्षको अनुमानले जनवरीमा वर्षा हुने सम्भावना कम छ, भयो भने पनि ६० मिलिमिटरभन्दा कम हुने अनुमान छ ।
जलवायुविद् डा. धर्मराज उप्रेतीले यो हिउँदमा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत अनुमान गरिएको बताए । नेपालको हिउँद यामको वर्षा अरब सागरमा बन्ने जलचक्रीय प्रणाली र पश्चिमी वायुमा बढी निर्भर छ । यी दुवै प्रणालीमा पानी पार्ने जलयुक्त वास्फको कमीले वर्षा हुन सकेको छैन ।
हिउँदे वर्षाको महत्व
नेपालमा हिउँदे वर्षाको निकै महत्व छ । हिमालय क्षेत्रमा उद्गम भएर बग्ने नदीको पानीको मुख्य स्रोत नै हिउँदे वर्षासँगै हुने हिमपात हो । नेपालमा हिउँदको वर्षाले हिमाल र जमिनमा पानीको पुनःभरणको काम गर्छ । हिमालमा हिउँको रूपमा र हिउँ नपर्ने स्थानमा पानी जमिनभित्र गई जम्मा हुन्छ । यो नै पछि गएर मुलको रूपमा बाहिर आउँछ । हिउँदमा पानी नपरे वर्षायाममा घटेको जलसतहमा पुनःभरण हुन पाउँदैन जसको असर वर्षायाममा मुल फुट्न समय लाग्ने साथै कतिपय स्थानमा मुल फुट्न नै नसक्ने हुन्छ ।
अर्कोतर्फ, हिउँदे वर्षा नहुँदा वन डढेलो र आगलागीको घटना बढेर जान्छ । आगलागीले जनधनको क्षतिसँगै वायु प्रदूषण बढाउँछ । प्रदूषणको घनत्व जति बढी हुन्छ, त्यति सुक्खा र पानी कम पर्ने सम्भावना बढेर जान्छ ।
उनले भने, ‘हिउँदे वर्षा कम हुँदा सुक्खा र खडेरीको अवस्था आउँछ । आगलागीका घटनाहरू बढी हुन्छन् । आगलागीका घटनाहरू बढी भएमा वन, जंगलमा हुने पारिस्थितिक प्रणाली बिग्रन्छ । प्रदूषणमा वृद्धि हुन्छ । काठमाडौंजस्तो चारैतिरबाट ठूला पहाडले घेरिएको ठाउँमा धुवाँ-धुलोको मात्रा बढ्छ । तर, त्यसलाई बाहिर पठाउनका लागि कि त वर्षा हुनुपर्छ कि त ठूलो हावा चल्नुपर्छ । त्यस्तो भएन भने लामो समयसम्म काठमाडौं प्रदूषित शहर भएर बस्छ । आज नै १५० देखि १८० इन्डेक्स हाराहारीमा प्रदूषणको अवस्था रहेको छ, जुन निकै हानिकारक हो । समग्रमा वर्षाको असर कृषि, वन, प्रदूषण, आगलागी लगायतका कुराहरूमा हुने भएकोले हामीले सचेत हुन जरुरी छ ।’
नेपाली आकाशमा रहेको प्रदूषित हावालाई पश्चिमी वायुले विस्थापित नगरेसम्म पानी पर्ने सम्भावना रहँदैन । पछिल्ला केही वर्षयता पृथ्वीको तापक्रममा वृद्धि हुनु र हिउँदे वर्षा गराउने स्रोतमा आएको सुक्खापनले पश्चिमी वायुको प्रभाव कमजोर बनिरहेको छ । त्यसमाथि वायु प्रदूषणले पश्चिमी वायुलाई तल्लो सतहसम्म आउन दिएको छैन ।
हिउँदे वर्षा र कृषि
हिउँदमा पानी नपरे नेपालको कृषि प्रणाली, जलवायु चक्र र अर्थ प्रणालीमा प्रत्यक्ष र गहिरो असर पर्ने देखिएको छ । गहुँ, जौ, तोरी, केराउ जस्ता बाली हिउँदे वर्षामै निर्भर हुन्छन् । वर्षा नहुँदा खेतबारीमा छरेको अन्न नै उम्रन सक्दैन । आवश्यक चिस्यानको कमीले बीउ अंकुरित हुन सक्दैन । ढिलो गरी उम्रे पनि यसले अपेक्षाअनुसारको उत्पादन दिन सक्दैन । जसले खाद्य संकट निम्त्याउँछ । नेपालमा धान-मकै पछिको प्रमुख बाली गहुँ हो, जुन पूर्णरूपमा हिउँदे वर्षामा निर्भर रहन्छ । सतही सिंचाइभन्दा पनि आकाशे पानीको प्रभाव धेरै राम्रो र उत्पादक मानिन्छ ।
जलवायुविद् डा. उप्रेतीले सरकारका प्रमुख दुई निकाय-जल तथा मौसम विज्ञान विभागले कम पानी पर्ने प्रक्षेपण गरेको र कृषि मन्त्रालयले हिउँदे बालीमा कम उत्पादन हुन्छ भनेको अवस्थालाई हेर्दा पनि सरकारको पूर्वतयारी नहुनु बिडम्बना भएको टिप्पणी गरे । पूर्वानुमानअनुसारको पूर्वतयारी नगर्दा आइपर्ने संकट व्यवस्थापन गर्न नसकिने खालको हुने उनले बताए ।
हिउँदमा लगातार सुक्खा र खडेरी परिरहँदा यसको असर समग्र खाद्य चक्र र मूल्यवृद्धिले अर्थ व्यवस्थामा दबाब परिरहेको छ । कृषिमा आश्रित जनसमुदाय, अझ आफूले खानकै लागि मात्र उत्पादन गर्ने किसानलाई चाहिँ हिउँदे जलवायुमा आएको परिवर्तनले सबैभन्दा मारमा पार्नेछ । यसले भोकमरी, गरिबी र अनियन्त्रित बसाइँसराइलाई बढाइरहेको छ । केही वर्षयता जलवायु परिवर्तनले मौसमी पात्रोमा फेरबदल आएको छ । हिउँदे वर्षा हराउँदै गएको छ भने पहिले जुन रूपमा जुन ठाउँसम्म हिउँ पर्थ्यो, अहिले त्यहाँ पानी पर्न थालेको छ । हिउँ पर्ने रेखा माथि सरेको छ । यसको अर्थ हिउँ पर्ने उचाइ नै परिवर्तन भएको छ ।
हिउँदे वर्षा र मानव स्वास्थ्य
हिउँदे वर्षा नहुँदा मानव स्वास्थ्यमा समेत गम्भीर असर पर्छ । मानिसले दैनिक प्रयोग गर्ने पानीको उपलब्धतामा कमी आउँछ भने उपलब्ध भएको पानीको गुणस्तर पनि घट्छ । जसले प्रदूषित पानी र प्रदूषित पर्यावरणले जनस्वास्थ्यमा सीधा नकारात्मक असर पुर्याउँछ । जलवायुविद् डा. उप्रेतीले हिउँदे वर्षा नहुँदा खानेपानीमा असर हुने बताए । पानी पर्ने तौरतरिकामा परिवर्तन हुने बित्तिकै त्यसको सीधा असर पानीको गुणस्तर र परिणाममा पर्ने भएकोले पानीका स्रोत संरक्षणका लागि सरकारले तत्पर भएर काम गर्नुपर्ने बताए । पानीको उपलब्धताको कमी हुनु, गुणस्तरीय नहुनु, वातावरण प्रदूषित रहनु, जमिनभन्दा नजिकै रहने धुलोका कण मिश्रित वायुले लामो समय चिसो र सुक्खा बढाउने भएकाले जनस्वास्थ्य जोखिमपूर्ण बन्ने सम्भावना छ । अस्पताल र स्वास्थ्य संस्थामा जोखिम मूल्यांकन गरेर आवश्यक पूर्वतयारी गर्न आवश्यक छ । यस समयमा फैलिन सक्ने संक्रामक रोगविरुद्ध लड्न सरकारले पूर्णकालीन योजना नै बनाएर लागू गर्नुपर्दछ ।
सबै प्रकारका मौसमजन्य विपद्को अलग-अलग अनुकूलनको कार्यक्रम
नेपालको जलवायु र मौसममा आइरहेको अस्वाभाविक परिवर्तनअनुकूलको कार्ययोजना बनाउन आवश्यक छ । नेपालमा केही वर्षयता मौसमजन्य विपद्का घटना बढिरहेको सन्दर्भमा सबै मौसमका लागि अनुकूलनको योजना आवश्यक रहेको छ । सबै प्रकारका मौसमजन्य विपद्का घटना बाहिर आइसकेको अवस्थामा एउटा मात्र (मनसुन र गर्मी) मौसमका लागि अनुकूलनको कार्यक्रम सञ्चालन गरेर हुँदैन । जलवायुविद् डा. उप्रेतीले चिसोमा हुने अनुकूलन कार्यक्रम र बढी गर्मी-तातो भएमा लागू गर्ने अनुकूलनको कार्यक्रम फरक हुने बताए ।