सहकारीका समस्या समाधान गर्न काठमाडौं महानगरको सहकारी विभागलाई १४ बुँदे सुझाव
काठमाडौं । आफ्नो नियमन क्षेत्राधिकारभित्र भएका सहकारीहरुको समस्या समाधान गर्न काठमाडौं महानगरपालिकाको सहकारी विभागलाई विज्ञहरुले विभिन्न १४ बुँदे सुझाव दिएका छन् ।
सहकारीको समस्या समाधान गर्न कानुन पुनरावलोकन गर्नुपर्ने, सहकारी वर्गीकरण गर्नुपर्ने, कर्जा सूचना केन्द्र स्थापना गर्नुपर्ने सहितका १४ बुँदे सुझाव रहेका छन् ।
महानगरपालिकाको सहकारी विभागले आयोजना गरेको ‘सहकारी संस्थाहरूको समस्या र समाधानका उपाय’ विषयक कार्यशाला गोष्टिमा सहकारी क्षेत्रका विज्ञहरुले यस्तो सुझाव दिएका हुन् ।
सहकारीसँग सम्बन्धित कानुन पुनरावलोकनका लागि महानगरपालिका सम्बद्ध नीति निर्माताहरुसँग छलफल गर्न, सहकारी कानुन र सिद्धान्तको पूर्ण परिपालना तथा कार्यान्वयनका लागि सहकारी अभियन्तासँग सहकार्य गर्न, ऋण असुली संयन्त्र स्थापना गर्न, कर्जा सूचना केन्द्रको स्थापना गर्न, सहकारी शिक्षा तथा सचेतनाका कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका छन् ।
यथार्थ विवरण तयार गरी सूचकका आधारमा सहकारी संस्थाहरुकोे वर्गीकरण गर्न, जनप्रतिनिधि र अभियानलाई संलग्न गराएर बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको नियमित रुपमा गैरस्थलगत तथा स्थलगत निरीक्षण तथा अनुगमन गर्न, प्रवर्धन र नियमनलाई थप प्रभावकारी बनाउन सहकारी विभागको क्षमता विकास वृद्धि गर्न, नगरस्तरीय समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरी समस्याग्रस्त सहकारीको व्यवस्थापन गर्न, समस्याग्रस्त सहकारी व्यवस्थापन संयन्त्रमा सम्बन्धित सहकारीका जिम्मेवार पदाधिकारी समेतलाई आवद्ध गर्न सुझाव प्राप्त गरिएको विभागका प्रमुख नमराज ढकालले जानकारी दिनुभयो ।
ढकालका अनुसार निष्क्रिय सहकारीलाई सक्रिय बनाउन, सक्रिय हुन नसक्ने÷नचाहने तथा खराब अवस्थामा रहेका सहकारीलाई खारेजी प्रक्रियामा लैजानसमेत सुझाव आएको छ ।
आवश्यकता पहिचान गरेर सहकारीको संख्या कायम गर्न, गुणात्मक तथा संस्थागत क्षमता विकास गरेर संस्थाहरुको एकीकरण गर्न, बचत तथा ऋण सहकारी संस्थामा नियमित बचतको अवधारणा कडाइका साथ लागु गर्न र यसरी गरिने व्यवस्थापनकीय कामलाई प्रविधिमैत्री बनाउँदै सहकारी संस्थाले प्रयोग गर्ने डिजिटल एप्लिकेसनको गुणस्तर परीक्षण तथा अनुगमन गर्न सुझाएको छ ।
‘अनुसन्धानमा रहेका, कारवाहीमा परेका सहकारीका सदस्यहरुको बचत फिर्ता गराउने प्रणाली अहिलेको पहिलो काम हो ।’ कृषि, सहकारी तथा पशुपन्छी समितिका संयोजक रामजी भण्डारी भन्नुहुन्छ, ‘स्वनियमकारी लोकतान्त्रिक प्रणालीबाट सञ्चालन हुनु पर्ने सहकारीहरुले स्वनियम पालना नगरेका कारण नियमनकारी निकायले सक्रिय हुनु पर्ने अवस्था आएको छ । अवस्था व्यवस्थापन गर्न नीतिगत तहमा थप काम गर्नु पर्नेछ । हामी यसप्रति सचेत छौँ ।’ त्यस क्रममा समितिका सदस्य एवं वडा नं. २३ का अध्यक्ष मचाराजा महर्जनले भन्नुभयो, ‘वचतकर्ताको बचत फिर्ता गराउनु जत्तिकै अर्को महत्वपूर्ण काम भनेको सहकारीबाट ऋण लिनेहरुबाट ऋण असुलीमा पनि सहयोग गर्नुपर्छ । यसबाट मात्र दिगो समाधान निस्कन सक्छ ।’
निश्चित तालिम र दक्षताको प्रमाण पत्र भएका व्यक्तिले मात्र सहकारी संस्था दर्ता गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन सके भविष्यका जोखिम कम गराउन सकिनेमा प्रस्तुतकर्ता र विज्ञहरुको जोड थियो ।
कार्यशालामा ‘सहकारी संस्थाहरु समस्याग्रस्त हुनुको कारण’ का विषयमा प्रस्तुतिकरण गर्दै संविधानविद एवं प्रशासनविद काशीराज दाहालले, सहकारीको मर्म नबुझेकाले या मर्मअनुसार काम नगरेकाले संकट सिर्जना भएको आएको उल्लेख गरे ।
नियमन गर्नु पूर्व क्षमता विकासका कार्यक्रम सञ्चालन गर्नु पर्ने, प्रवर्धनका विविध कार्यक्रम चलाउनु पर्नेमा जोड दिँदै उनले बचत फिर्ता र ऋण फिर्ताको काम गर्न महानगरपालिकाले कर्जा असुल न्यायाधीकरण गठन गर्न सक्ने बताए । बचत र ऋण प्रवाहको कार्ययोजना मागेर त्यसका आधारमा सहकारीहरुको नियमन गर्नुपर्ने उनको सुझाव छ ।
‘निष्क्रिय सहकारीहरुको व्यवस्थापन’ राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष खेम पाठकले, दर्ता भएकामध्ये एक तिहाइ सहकारी निष्क्रिय भएको हुन सक्ने दृष्टिकोण राखे । सहकारी निष्क्रिय हुनु भनेको आर्थिक, सामाजिक र सांस्कृतिक उन्नति नहुनु हो । यस्ता संस्था सहकारीका रुपमा रहन सक्दैनन् । यस्ता सहकारीले गर्ने क्रियाकलापबाट सहकारी क्षेत्रमा पर्ने अबगाल रोक्न नियमनकारी निकाय सक्रिय हुनुपर्ने उनको भनाइ छ ।
‘सहकारी अनुगमन निरीक्षण सम्बन्धी व्यवस्था’ का विषयमा प्रस्तुतिकरण गर्दै राष्ट्र वैङ्कका उपनिर्देशक स्वरुप श्रेष्ठले, ९५ प्रतिशतसम्म ऋण एउटै व्यक्तिले लिएको घटना बताउँदै ग्राहक पहिचान र सम्पुष्टि गर्ने पद्धति अवलम्बन गर्नुपर्ने, नियामक निकायले नियमन गर्नु पर्ने संघसंस्थाहरुको विवरण सार्वजनिक गर्नुपर्ने, पारस्परिक मूल्याङ्कनबाट देखिएका कमजोरी सुधार गर्दै जानुपर्ने सुझाव दिए ।
‘सहकारी संस्थाहरुको स्थिति र वचतको अवस्था’ विषयमा सहकारी विभागका पूर्व रजिष्ट्रार केशव रेग्मीले प्रस्तुतिकरण गर्दै, सक्रिय सहकारी कति छन्, निष्क्रिय कति छन्, असल अभ्यास भएका कति छन्, खराब अवस्थाका कति छन्, विवरण नभएका कारण समस्या समाधानको उपाय निकाल्न कठिन भएको उल्लेख गरे ।
सहकारी नियमन महाशाखा प्रमुख सुशिल सुवेदीले अहिलेको अवस्थामा १ प्रतिशत भन्दा कम सहकारी संस्था संघीय सरकारको कार्यक्षेत्र भित्र रहेको बताए । करिब १९ प्रतिशत सहकारी प्रदेश सरकारको कार्यक्षेत्रभित्र र ८० प्रतिशत सहकारी स्थानीय सरकारको अधिकार क्षेत्रभित्र रहेको बताए ।
विभागमा आउने धेरै उजुरीहरु सञ्चालक समितिका सदस्य, वचतकर्ता, ऋणी, घरधनी र कर्मचारीसँग सम्बन्धित छन् । हस्तान्तरण नभएको, नगरेको, गर्न नचाहेको, ऋण नतिरेको, सबै सञ्चालक सक्रिय नभएको, वचतकर्ताले तनाव दिएको, आफू सञ्चालक भएको आफैँलाई जानकारी नभएको, हुलाकबाट राजीनामा दिएर कार्यालयको दायित्व नलिएको जस्ता समस्या सञ्चालकका समस्या हुन् ।