भारतीय मजदुरका भरमा इँटा उद्योग: घरमा ताला लगाएर परिवारसहित मजदुरी गर्न आउँछन् बंगाली
विराटनगर । भारत पश्चिम बंगाल, कोचबिहारका कमलेश्वर बर्मन र अमर बर्मन विगत दुई दशकदेखि हरेक वर्ष मंसिरमा नेपाल पसेर जेठमा घर फर्किरहेका छन् ।
उनीहरू आफ्ना परिवार, काखका बालबालिका र घरमा रहेका पशुपन्छीसहित नेपालका इँटाभट्टामा मजदुरी गर्न आउने गरेका छन् । त्यस अवधिमा उनीहरूको घरमा ताला लाग्छ ।
कमलेश्वर र अमर मात्र होइन, भारत पश्चिम बंगालको ओमपुर जिल्लासँग सिमाना जोडिएको कोचबिहार जिल्लाका माछाबाङगा, सितलकुची, गोसाईया, बरोमोचा, फुवाडी, गासताला, सिकारपुर, कालीघाट, गाधोपोता, दिनहाट, मिरापरा, कौवाडेरा, ढाकालीहाट, गोलेनहाट, नागोसिगीमाडी, वावुनडोगा, र गादोपोटा जस्ता गाउँका एक हजारभन्दा बढी परिवार मोरङ, सुनसरी, र झापाका इँटाभट्टामा मंसिरदेखि मजदुरी गर्न आउँछन् र जेठ अन्तिममा घर फर्किन्छन् ।
भट्टा मालिक आफैं पुग्छन्, नभए सर्दार
कतिपय भट्टाका मालिकहरू आफैं बंगाल पुगेर मजदुर ल्याउने गर्छन् । उनीहरूले मजदुरलाई अग्रिम पेश्की र यातायात खर्च दिने गरेका छन् ।
विगत २५ वर्ष देखि यहाँका भट्टालाई बंगाली मजदुर उपलब्ध गराउँदै आएका माछाबाङगाका मिथुन बर्मनले भने, ‘मजदुरहरूलाई १० हजार भारु अग्रिम दिएर ल्याउँछन् । यो रकम भट्टामा मजदुरी गर्दा पाउने ज्यालाबाट किस्ताबन्दीमा कटाइन्छ ।’
उनका अनुसार, मजदुर ल्याउँदा कतिपय भट्टाका मालिक आफैं उता पुग्छन् भने कतिपयले सर्दार खटाउँछन् । सर्दारले मजदुरको निगरानी मात्र होइन, आफैं पनि भट्टामा काम गर्नुपर्छ । ‘यदि मजदुर भागे भने त्यसको जिम्मा सर्दारकै हुन्छ,’ मिथुनले भने ।
स्थानीय मजदुरको अभाव
कोशी प्रदेशका १ सयभन्दा बढी इँटाभट्टा बंगाली मजदुरमै निर्भर छन् । कोशी इँटा उत्पादक संघका अध्यक्ष खगेन्द्र श्रेष्ठले भने, ‘पूर्वका भट्टाहरूमा १५ हजारभन्दा बढी बंगाली मजदुर छन् । उनीहरूबिना कुनै पनि भट्टा सञ्चालन गर्न सकिने स्थिति छैन।’
श्रेष्ठका अनुसार, स्थानीय मजदुरले महँगो ज्याला माग्ने र काममा गुणस्तर कायम गर्न नसक्ने हुँदा उद्योगीहरू बंगाली मजदुरमै निर्भर छन् । ‘बंगाली मजदुरहरू दक्ष छन् । उनीहरूले बनाएका कच्चा इँटा बलियो र आकर्षक हुन्छ,’ उनले भने, ‘यताकाले महँगो ज्याला पनि माग्ने र गुणस्तर पनि नहुने हुँदा उतै निर्भर हुनुपर्ने अवस्था छ ।’
बंगालबाट आउने श्रमिकले सात आठ महिना काम गर्दा ५० हजारदेखि १ लाख रुपैयाँसम्म भारु लैजाने गरेका छन्।
कमलेश्वरले भने, ‘नेपालमा ७-८ महिना काम गर्छौं। हाम्रो घरमा ताला लाग्छ । फर्किंदा झण्डै ५०,००० भारु घर लैजान्छौं ।’
वावुनडोगाका शंकर बर्मन आफ्नो गाउँबाट १०० भन्दा बढी परिवार घरमा ताला लगाएर नेपालमा मजदूरी गर्न आएको बताउँछन् ।
गोलेनहाटका जितन बर्मनले आफ्नो परिवारका ४ जना हरेक वर्ष इँटा बनाउन नेपाल आउने गरेको बताए । ‘हामी चार जनाको परिवार हरेक वर्ष मजदुरी गर्न आउँछौं । ८ महिनामा १ लाख भारु कमाएर घर लैजान्छौं।’
मजदुरहरू परिवार मात्र होइन घरमा पालेका पशुपन्छि पनि लिएर आउँछन् ।
इँटा भट्टामा भेटिएका उजिर मियाँले भने, ‘हामीसँग बालबालिका र घरपालुवा पशु पनि हुन्छन् । काम सकिएपछि सबै लैजान्छौं।’
आएका मजदुरका लागि भट्टा सञ्चालकले नै वास र दाउराको व्यवस्था गरिदिने गरेका छन् । धेरै मजदुर खर्चिला हुँदैनन् । सक्दो काम गर्छन् र पारिश्रमिक जम्मा पारेर अफ सिजनमा घर फर्कन्छन् ।
एक जोडी मजदुरले दैनिक १ हजार कच्चा इँटा बनाउँछन् । यसका लागि उनीहरूले १ हजार भारु पाउँछन् । ‘बंगालका मजदुर बिना इँटा उद्योग चलाउन गाह्रो छ । हामी उनीहरूलाई ल्याउन हरेक वर्ष कोचबिहार पुग्छौं,’ आनन्द इँटा भट्टाका प्रबन्धक उज्ज्वल चिरानीयाले भने ।
बंगालबाट मजदुर ल्याउनैका लागि अधिकांश इँटाभट्टाले कोचविहारको गोसाईहाटमा कार्यालय नै खोलेका छन् ।
प्रत्येक वर्ष इँटाको अफ सिजनमा भट्टाका प्रतिनिधि त्यो अफिसमा गएर बस्छन् । एक उद्योगीले भने,’ उनीहरुले स्थानीय सर्दारलाई साथमा लिएर मजदुर संकलन गर्छन् अनि सर्दारसहित लिएर आउँछन् ।’
इँटा उत्पादनबाट हुने आम्दानीको ५०% रकम बंगाल जाने गरेको छ । ‘स्थानीय मजदुरले गुणस्तरीय काम गर्दैनन्, त्यसैले हामी बंगालका मजदुरमाथि निर्भर छौं,’ एक उद्योगीले भने,’त्यसो हुँदा आम्दानीको ५० प्रतिशत रकम विदेश जान्छ । स्वदेशी मजदूरले गुणस्तरीय काम र सम्मानजनक ज्याला माग गरे उक्त रकम नेपालमै रहने थियो ।’
बंगाली मजदुरको मेहनतले नेपालका इँटाभट्टा चलिरहेका छन् । तर, मजदुरहरूको जीवनशैली कष्टकर छ । उनीहरूलाई उचित ज्याला र सम्मानजनक वातावरण उपलब्ध गराउनु आवश्यक रहेको सरोकारवाला बताउँछन् ।