यसवर्ष करिब २ खर्ब रुपैयाँ बराबरको साढे ५९ लाख मेट्रिक टन धान उत्पादन
सबै नेपालीले दुई छाक भात खान अझै ७ लाख ४४ हजार मेट्रिक टन धान अपुग
काठमाडौं । चालु आर्थिक वर्षमा धानको उत्पादन उल्लेख्य परिमाणमा वद्धि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ को तुलनामा चालु आवमा ४.०४ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको हो ।
नेपालीले प्रमुख खान्कीको रुपमा चामल प्रयोग गर्दैआएका छन् । पछिल्लो समयमा नेपालमा रेमिट्यान्सको प्रभाव, बढ्दो सहरीकरण र खानेबानीमा भएको परिवर्तनका कारण मोटा चामलको साटो मिठो मसिनो र वास्नादार चामलको प्रयोग अत्यधिक बढेको छ ।
धानको औसत मूल्य प्रतिकिलो ३२ रुपैयाँको दरले हिसाब गर्दा यो वर्ष १ खर्ब ९० अर्ब ५७ करोड ५२ लाख ३२ हजार रुपैयाँबराबरको धान नेपालमा फलेको छ ।
सरकारले यो वर्ष मोटा धानको तीन हजार चार सय १० रुपैयाँ ५१ पैसा र मध्यम धानको तीन हजार पाँच सय ८० रुपैयाँ ६२ पैसा प्रतिक्वीन्टल समर्थन मूल्य तोकेको छ ।
बाढी पहिरोले सबैभन्दा बढी कृषिक्षेत्रको धानवाली क्षति पुर्याएको अवस्थामा मन्त्रालयले धानवालीतर्फ उल्लेख्य उत्पादन वृद्धि भएको दाबी गरेको हो । मन्त्रालयले यो वर्षको धान उत्पादनको वस्तुस्थिति बारेमा हालसम्म औपचारिक तथ्यांक सार्वजनिक गरेको छैन ।
गत असोजको अन्तिम सातामा परेको अबिरल बर्षाका कारण आएको भीषण बाढी पहिरोका कारण देशभर ५८ हजार ४ सय ७६ हेक्टरमा लगाइएको धानवाली नष्ट भएको थियो ।
मन्त्रालयका अनुसार यो वर्ष ५९ लाख ५५ हजार ४ सय ७६ मेट्रिक टनको हाराहारीमा धानको उत्पादन भएको हो । मन्त्रालयले धानबाली लगाइएको क्षेत्रफलमा सामान्य कमी आए पनि उत्पादकत्व वृद्धि भएर उत्पादन बढेको औंल्याएको छ ।
धानको औषध उत्पादकत्व प्रतिहेक्टर ४.१९ मेट्रिक टन पुगेको दाबी गर्दै मन्त्रालयले यो उत्पादकत्व हालसम्मकै उच्च विन्दुमा पुगेको बताएको छ ।
मन्त्रालयले ईसीमोडको स्याटेलाइट प्रविधिको सहयोगमा देशभर गरेको अध्ययनअनुसार यो परिमाणमा धानको उत्पादन भएको हो ।
यो वर्ष कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा धानको उल्लेख्य उत्पादन वद्धि भएको मन्त्रालयको भनाइ छ ।
यो वर्ष २१ जिल्लाको १३ लाख ७८ हजार ६ सय ११ हेक्टरमा धानवालीको रोपाई भएको थियो । देशभर समग्र ९८.५ प्रतिशत धानको रोपाई भएको थियो ।
गत आर्थिक वर्षमा २०८०/८१ मा अघिल्लो वर्षको तुलनामा ४.३३ प्रतिशतका दरले उत्पादनमा वद्धि भएर ५७ लाख २४ हजार २ सय ३४ मेट्रिक टन धान उत्पादन भएको थियो । उक्त वर्ष १४ लाख ३८ हजार ९ सय ८९ हेक्टरमा ९४.६ प्रतिशत धानवाली रोपाइ भएको थियो ।
तत्कालीन समयमा मन्त्रालयले तयार पारेको प्रतिवेदनअनुसार बाढीपहिरोका कारण रौतहट, बारा, पर्सा, नवलपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बागलुङ, खोटाङ, झापा, कैलाली, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर र काभ्रेमा गरी धानवालीतर्फ मात्रै ३ अर्ब ५० करोड रुपैयाँ बराबरको क्षति भएको थियो ।
यसैगरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अध्ययन गरेर डेढ महिना अघि सार्वजनिक गरेको प्रतिवेदनअनुसार कृषितर्फ धानवालीमा सबैभन्दा बढी क्षति भएको थियो ।
प्राधिकरणले पनि मेची, मधेश, गण्डकी, वागमती र सुदूरपश्चिमको २० जिल्लाको ५८ हजार ४ सय ७६ हेक्टरको ३ अर्ब ५० करोड रुपैयाँबराबरको धानवाली नष्ट भएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा १०० प्रतिशतका दरले १ लाख ७४ हजार ५ सय १ हेक्टरमा बर्षेधान वालीको रोपाइ भएको थियो ।
दोस्रोमा कोशी प्रदेशमा ९९.६ प्रतिशतका दरले २ लाख ७५ हजार २ सय ६७ हेक्टरमा धानवालीको रोपाइ भएको थियो ।
यस्तै सबैभन्दा कम मधेश प्रदेशमा ९७.३ प्रतिशतका दरले ३ लाख ७५ हजार ६ सय १४ हेक्टरमा धान रोपाइ भएको थियो ।
बाग्मती प्रदेशमा ९९.२ प्रतिशतका दरले १ लाख ११ हजार ३ सय ५१ हेक्टर, गण्डकी प्रदेशमा ९७.८ प्रतिशतका दरले ९३ हजार ९ सय २१ हेक्टर, लुम्बिनी प्रदेशमा ९८.३ प्रतिशतका दरले ३ लाख ६ हजार ३ सय ७७ हेक्टर र कर्णाली प्रदेशमा ९९.२ प्रतिशतका दरले ४१ हजार ५ सय ७८ हेक्टरमा धानवालीको रोपाई भएको थियो ।
मन्त्रालयले यो बर्ष रसायनिक मल, उन्नत जातको वीउ र मनसुन पानीका कारण उत्पादनमा बृद्धि भएको जनाएको छ ।
धान र अर्थतन्त्र
नेपालको हकमा सामान्य किसानको जनजीविकादेखि मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन धानबालीले महत्वपूर्ण भूमिका खेल्छ । धानबालीलाई मुलुकको मूल अर्थतन्त्रको मेरुदण्डसँग जोडिन्छ । यो अर्थमा मुलुकको अर्थतन्त्र र खाद्य सुरक्षाको प्रमुख आधार हो धानबाली ।
धान उत्पादन बढ्दा कुल ग्राहस्थ उत्पादन (जीडीपी) तथा आर्थिक वृद्धिदर बढ्ने र धान उत्पादन घट्दा यी सूचकहरु घट्ने हुन्छ । धान उत्पादनमा १० प्रतिशतले तलमाथि हुँदा जीडीपीमा एक प्रतिशतले घटबढ हुन्छ ।
जीडीपीमा धानको योगदान करिब ५ प्रतिशत छ । कृषिको कूल गार्हस्थ उत्पादन(एजीडीपी) मा धानको योगदान करिब १५ प्रतिशत छ ।
पछिल्लो समयमा कृषि पेशा आकर्षित हुन नसक्दा यो पेशामा आवद्ध संख्या पनि घट्दो क्रममा छ । सन् २००८ मा भएको श्रम शक्ति सर्वेक्षणअनुसार कृषिमा त्यो वेला ७३.९ प्रतिशत जनसंख्या आवद्ध थिए ।
पछिल्लो सन् २०१८ मा भएको श्रमशक्ति सर्वेक्षणअनुसार कृषिमा आवद्ध हुने जनसंख्या घटेर ६०.४ प्रतिशतमा सिमित भएको छ।
कति छ नेपालमा धानको माग ?
नेपालमा वार्षिक धानको माग ६७ लाख मेट्रिक टन छ । चामलको कुरा गर्ने हो भने ४० लाख टन हो । अहिले उत्पादन भएको धानको तथ्यांकअनुसार देशभरका सबै नेपालीलाई दुई छाक भात खुवाउन अझै ७ लाख ४४ हजार ५ सय २४ मेट्रिक टन धान अपुग छ ।
एक सय किलो धानबाट ६२ किलो चामल तयार हुन्छ । यसरी हेर्दा अहिले उत्पादन भएको ५९ लाख ५५ हजार ४ सय ७६ मेट्रिक टन धानबाट ३६ लाख ९२ हजार ३ सय ९५ मेट्रिक टन चामल तयार हुन्छ ।
यसरी हेर्दा यो वर्ष सारा नेपालीलाई दुई छाकको खान्कीको रुपमा भात खुवाउन ३ लाख ७ हजार ६ सय ५ मेट्रिक टन चामल अभाव देखिएको छ । पोषणको हिसावले सरकारले प्रतिव्यक्ति प्रतिवर्ष १३८ चामल उपभोग गर्नुपर्ने मापदण्ड तोकेको छ ।
मागअनुसार उत्पादन नहुँदा आयात त्यतिकै
मागअनुसार नेपालमा धानको उत्पादन नहुँदा बर्षेनी अर्बौ रुपैयाँबराबरको धान चामल भारतलगायतका विभिन्न मुलुकबाट आयात हुँदै आएको छ ।
मसिनो र बास्नादार चामलको बढ्दो प्रयोगका कारण राज्यले उक्त जातको धान विकास र खेतिमा जोड नदिएका कारण धान र चामलको आयात दर बढ्दै गएको छ ।
पछिल्लो १० बर्षयता विभिन्न सरकारले धानमा मुलुकलाई आत्मनिर्भर बनाउने घोषणा गरेपनि व्यवहारमा कार्यान्वयन नहुँदा आत्मनिर्भरको नारा कागजमै सिमित बनेको छ ।
चालु आर्थिक बर्षको पहिलो ५ महिनामा मात्रै विभिन्न मुलुकबाट धान ६ अर्ब ५ करोड र चामल ६ अर्ब ७३ करोड रुपैयाँबराबरको नेपालमा आयात भएको छ ।
गत् आर्थिक बर्ष २०८०/८१ मा भने धान १२ अर्ब ९४ करोड र चामल ९ अर्ब २८ करोड रुपैयाँबराबरको आयात भएको थियो ।अघिल्लो आर्थिक बर्ष २०८०/८१ मा धान २० अर्ब ७५ करोड र चामल १५ अर्ब ९१ करोड रुपैयाँबराबरको आयात भएको थियो ।