मन्दीको प्रष्ट संकेत: घर निर्माणमा व्यापक गिरावट, संकटमा इँटा उद्योग



विराटनगर । आर्थिक मन्दीका कारण उत्पादित इँटाले बजार नपाउँदा कोशी प्रदेशका आधाभन्दा बढी इँटा उद्योग बन्द भएका छन् । सञ्चालनमा रहेका उद्योगहरूले पनि क्षमताको आधा मात्र उत्पादन गर्दै आएका छन् ।

आर्थिक मन्दीअघि कोशी प्रदेशमा प्रतिगोटा १८ रुपैयाँको दरले वार्षिक २५ करोड इँटाको कारोबार थियो । त्यसबेला मोरङका ४५, सुनसरीका २३, र झापाका ३८ वटा भट्टाले इँटा उत्पादन गर्थे ।

पछिल्लो समय वार्षिक १० करोड इँटा पनि बिक्री भएको छैन । बिक्री भएका इँटाको पनि २ अर्ब ५ करोडभन्दा बढी रकम बजारमा रोकिएको छ । इँटा उत्पादक संघ कोशीका अध्यक्ष खगेन्द्र श्रेष्ठका अनुसार प्रदेशभरि १०० भन्दा बढी इँटा उद्योग थिए । आर्थिक मन्दी र बजारबाट रकम नआउँदा अहिले आधाभन्दा बढी उद्योग बन्द भइसकेका छन् ।

‘आर्थिक मन्दीले घरनिर्माणहरु हुन सकेका छैनन्, ठूला पूर्वाधारहरु पनि नबेको हुनाले होला अहिले इँटाको माग नै छैन,’ उनले भने, ‘बेचेको इँटाको पनि पैसा नउठ्दा यहाँका आधाभन्दा धेरै उद्योग बन्द भएका छन् ।’

सुनसरी, मोरङ र झापामा १०६ वटा इँटा भट्टा छन् । पाँच वर्ष यता तीमध्ये आधाभन्दा बढी बन्द भइसकेका छन् । श्रेष्ठकाअनुसार सुनसरी र मोरङका ६८ भट्टामध्ये अहिले ३६ वटा मात्र सञ्चालनमा छन् । झापाका ३८ भट्टामध्ये १८ वटा मात्र सञ्चालनमा छन् । ती भट्टाले पनि क्षमताको आधा मात्र उत्पादन गर्दै आएका छन् ।

पाँच वर्षअघि कोशीमा वार्षिक ४.५ अर्ब रुपैयाँबराबरको इँटाको कारोबार हुन्थ्यो । अहिले वार्षिक २ अर्ब रुपैयाँको पनि कारोबार छैन । कोशी प्रदेशको सबैभन्दा ठूलो इँटा भट्टा आनन्द इँटा भट्टाले गत वर्ष तीनवटा चिम्नी चलाएर ६० लाख इँटा उत्पादन गरेको थियो । यसपालि एउटा चिम्नी बन्द छ । भट्टाका प्रबन्धक उज्जवल चिरानीयाका अनुसार पोहोरकै इँटा बिक्री भइसकेको छैन । बिक्री भएका इँटाको पनि बजारबाट ८–१० करोड रुपैयाँ रकम उठ्न बाँकी छ ।

चिरानीयाले भने, ‘यसपालि दुईवटा चिम्नी चलाएर बढीमा २० लाख इँटा मात्र उत्पादन गर्ने लक्ष्य छ ।’

गत वर्ष प्रदेशभरि १० करोड इँटा उत्पादन भएको थियो । अधिकांश उद्योगका इँटा बिक्री भएका छैनन् । बिक्री भएका इँटाको पनि बजारबाट रकम नउठ्दा कोइला र मजदुरलाई तलब दिन नसक्दा भट्टा बन्द भएका छन् ।

श्रेष्ठका आफ्नै तीनवटा भट्टामध्ये दुईवटा बन्द भएका छन् । एउटाले उत्पादन गरेका इँटा पनि बिक्री भएका छैनन् । बिक्री भएका इँटाको ३ करोड रुपैयाँ बजारमा उठ्न बाँकी छ । उनले भने, ‘मजदुरलाई भुक्तानी गर्न नसक्दा उद्योग नै बन्द गर्नु परेको छ ।’

जयवावा, पूजा, ज्योती, हिमालय, जयश्री, जय नेपाल, ओपिसि, एनसिसि लगायतका ५० भन्दा बढी इँटा उद्योग बन्द भइसकेका छन् । संघका निवर्तमान अध्यक्ष महेन्द्र साहले भने, ‘इँटा बिक्री नहुँदा र बिक्री भएको इँटाको भुक्तानी नपाउँदा उद्योगका सञ्चालक प्रायः सडकमा पुगेका छन् ।’

विकास निर्माण सुस्त छ । सरकारले निर्माण व्यवसायीलाई भुक्तानी नगर्दा इँटा उद्योगीको २.५ अर्ब रुपैयाँभन्दा बढी पुँजी ब्लक भएको छ । घर बनाउने क्रम उल्लेख्य रूपमा घटेको छ । वित्तीय संस्थाले ऋण दिन पत्याउँदैनन् । साहले भने, ‘यसकै कारण उद्योगीले भट्टा बन्द गरेर बस्न बाध्य भएका छन् ।’ अधिकांश उद्योगीले मजदुरलाई भुक्तानी दिन नसकेर उद्योग बन्द गरेर लुक्नुपर्ने अवस्था आएको उनी बताउँछन् । केहीले कोइलाको भुक्तानी दिन नसक्दा मोबाइल नै अफ गरेर बसेका छन् ।

कोशी प्रदेशबाट विगतमा पहाडी जिल्ला र काठमाडौंसम्म इँटा बिक्री गरिन्थ्यो । अहिले पहाड र काठमाडौंबाट पनि इँटाको माग छैन । संघका निवर्तमान अध्यक्ष साहका अनुसार अधिकांश उद्योगले उत्पादन गरेका इँटा बिक्री नभएर थुप्रोमा घाँस उम्रेको छ । साहका अनुसार सुनसरी र झापाका केही उद्योगले भारतको सिलिगुडीतर्फ इँटा निकासी गरिरहेका छन् । तर, निकासी पनि नियमित छैन ।

एउटा इँटा उत्पादन गर्दा १९ रुपैयाँसम्म लागत पर्छ । उद्योगीले प्रतिगोटा इँटाको मूल्य २२ रुपैयाँसम्ममा बिक्री गर्नुपर्ने हो । त्यही इँटा १७–१८ रुपैयाँमा बिक्री गर्न खोजे पनि बिक्री भएको अवस्था छैन । संघका अध्यक्ष श्रेष्ठले भने, ‘उत्पादन लागतमा घाटा खाएर बिक्री गर्दा पनि इँटा बिक्री नभएपछि हरेक भट्टामा मौज्दात इँटा थुप्रिँदा उद्योगी सडकमा पुग्ने स्थिति आएको छ ।’

कोशी प्रदेशमा मोरङको कटहरी, धनपालथान, रंगेली, जहदा, उर्लाबारी; सुनसरीको खनार, दुहबी, इनरुवा, पकली, गढी, हरिनगरा; तथा झापाको माइवारी र माइपारी इँटा भट्टा क्षेत्रका केन्द्र हुन् । यस क्षेत्रमा १०६ वटा इँटा भट्टा छन् । एक भट्टाले कम्तीमा १५ विघादेखि ३० विघासम्म खेतीयोग्य जमिन प्रयोग गरेर इँटा उत्पादन गरेका छन् ।

प्रदेश कृषि निर्देशनालय विराटनगरका प्रारम्भिक तथ्यांकअनुसार प्रदेशका इँटा भट्टाले मात्रै ३५०० विघाभन्दा बढी धान खेत घटाएका छन् ।

मोरङको कटहरी गाउँपालिका–५ मा मात्र आधा दर्जन इँटा उद्योग छन् । यहाँ अजन्ता, अम्बे, एसिसि, प्रणाम, उत्सव, आरएमसी, र विराट इँटा उद्योग छन् । ती उद्योगले यहाँको १००० विघाभन्दा बढी धान खेत नष्ट गरेको वडा अध्यक्ष सम्पतलाल सरदारले बताए ।

‘यहाँका सबै इँटा भट्टा एकैपटक चल्दा धुवाँले आकाश धुम्मिन्छ,’ उनले भने । गाउँलेले प्रदूषणबारे गुनासो गरे पनि वडा कार्यालयले समाधान गर्न नसकेको उनले बताए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डको निर्देशनअनुसार इँटा उद्योगबाट हुने वातावरण प्रदूषण नियन्त्रण गर्न माघको पहिलो सातादेखि मात्र इँटा पोल्न निर्देशन दिएका थिए । तर, मन्त्रीको निर्देशन अवज्ञा गर्दै कोशीका इँटा उद्योगहरूले पुस पहिलो सातादेखि नै इँटा पोल्न सुरु गरेका छन्।


विनोद भण्डारी