राजेश अग्रवालको तेल उद्योगले एकै वर्षमा गर्‍यो सवा अर्बको कारोबार, प्रोफिट मार्जिनमा सुधार



काठमाडौं । नेपाली बजारमा खाने तेल उत्पादन र बिक्रीमा अग्रस्थानमा रहेको मध्ये एक समूह हो सिद्धार्थ ग्रुप ।

सिद्धार्थ समूहको स्वामित्वमा रहेको सिद्धार्थ आयल इन्डस्ट्रिज (एसआईओ) खाद्य तोरीको तेल उत्पादन र बिक्री गर्दै आएको छ।

सन् १९९९ मा एक साझेदारी फर्मको रुपमा स्थापित सिद्धार्थ आयल इन्डस्ट्रिजले सन् २०२४ मा १ अर्ब १६ करोड ३० लाख रुपैयाँको कारोबार गरेको छ । तेज नामको तेल उत्पादन गर्ने कम्पनीको आम्दानी अघिल्लो वर्षको तुलनामा ११ करोड १० लाखले वृद्धि भएको हो ।

इन्डस्ट्रिजले सन् २०२३ मा १ अर्ब ५ करोड रुपैयाँको कारोबार गरेको थियो । कम्पनीले २०२३ मा कूल कारोबारमध्ये ०.३ प्रतिशत मात्र नाफाको मार्जिन थियो ।

तर, २०२४ मा भने कूल कारोबारको ९.४ प्रतिशत सञ्चालन नाफा छ । अष्ट्रेलिया, क्यानडा र युक्रेन जस्ता देशहरुबाट फर्मले कच्चा प्रदार्थ खरिद गरी शुद्ध तेल उत्पादन गर्छ भने भारत र नेपाली बजारमा आफ्नो उत्पाद बिक्री गर्छ ।

इन्डस्ट्रिजको कर्पोरेट कार्यालय रुपन्देहीको सिद्धार्थनगरमा छ भने तेल उत्पादन गर्ने कारखाना गुर्वानिया, रुपन्देहीमा राखेको छ । कम्पनीले सन् २०२२ मा १ अर्ब ४० करोड ९० लाख र २०२१ मा १ अर्ब २६ करोड ६० लाखको कारोबार गरेकामा पछिल्लो समय कारोबार घटेको हो ।

तेल उत्पादनमा आफ्नो बेग्लै पहिचान बनाउन सफल कम्पनीको मुख्य स्टक होल्डरमा जगदीश कुमार अग्रवाल, राजेश कुमार अग्रवाल र श्याम सुन्दर अग्रवाल रहेका छन् । उनीहरुको क्रमशः ३० प्रतिशत, ४० प्रतिशत र ३० प्रतिशत सेयर रहेको छ ।

सिद्धार्थ आयल इन्डस्ट्रिजले यो वर्ष १ अर्ब ६ करोड ३ लाख रुपैयाँको अल्पकालीन ऋणका लागि रेटिङ गराएको छ । इक्राले गराएको रेटिङमा इन्डस्ट्रिजले इक्रा ‘ए’ ४ रेटिङ पाएको छ ।

इन्डस्ट्रिजले यो वर्ष कूल आम्दानी १ अर्ब १६ करोड ३० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले हाल ४८ करोड १० लाख रूपैयाँ ऋण लिएको छ ।

उच्च आयात निर्भरता, सम्बन्धित विदेशी मुद्रा जोखिम, मध्यम स्तरको सञ्चालन र उच्च प्रतिस्पर्धा नै कम्पनीको चुनौतीको रुपमा रहेको छ । कम्पनीले यो वर्ष कर्मचारीको संख्यामा पनि वृद्धि गरेको छ । कर्मचारीको वृद्धिले पनि कम्पनीलाई सञ्चालन गर्न आर्थिक हिसावले एक मुख्य चुनौतीका रुपमा रहेको छ ।

कम्पनीको रेटिङको मुख्य आधारको रुपमा इक्राले अनुभवी प्रवर्द्धक समूह, सञ्चालनको लामो ट्र्याक रेकर्ड, सन्तोषजनक वित्तीय प्रोफाइल, स्थिर माग सम्भावनालाई लिएको छ ।

२५ वर्षअघि स्थापना भएको सिद्धार्थ आयलको कुल व्यापारमा पछिल्लो ५ वर्ष वार्षिक १२ प्रतिशतको औसत वृद्धि देखिएको छ । सन् २०२३ मा सञ्चालन आम्दानी घटेको भए तापनि सञ्चालन नाफा आम्दानी करिब १० प्रतिशत पुगेको देखिन्छ ।

२०२३ मा कच्चा पदार्थको मूल्यवृद्धिका कारण कम्पनीको यस्तो नाफाको दर ०.३ प्रतिशतमा खुम्चिएको थियो ।

सिद्धार्थको आम्दानीको मुख्य स्रोत हो तोरीको तेल । भान्साको मुख्य भुटुनमा रहेको तोरीको तेलबाट कम्पनीले गर्ने आम्दानीमा एक प्रकारको स्थायित्व देखिन्छ । आन्तरिक रुपमा तोरी उत्पादन घट्दा सिद्धार्थ जस्ता तोरीको तेल उद्योगको व्यापार फस्टाउने रेटिङ प्रतिवेदनमा उल्लेख छ । तर, अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्य वृद्धि तथा भारतको नीतिले पनि सिद्धार्थ जस्ता नेपालका तेल उत्पादकको व्यापार र नाफा मार्जिनमा असर पुग्ने देखिन्छ ।


क्लिकमान्डु