कोशी कांग्रेसमा संस्थापन र कोइराला समूह बीचको किचलोको प्रभाव ग्रामथानको उपनिर्वाचनमा
दुईपक्षको छुट्टाछुट्टै भेला आयोजना, नगर्न केन्द्रको पत्र
विराटनगर । कोशी प्रदेश कांग्रेसमा संस्थापन पक्ष र इतरपक्ष बीचको गुटगत किचलो गहिरो बन्दै गएको छ । संस्थापन र इतरपक्षले फरक फरक भेला आयोजना गरेकोले प्रदेशमा गुटगत किचलो थप गहिरो भएको हो । इतरपक्षले मंगलवार विराटनगरमा आयोजना गर्न लागेको प्रदेश स्तरीय पालिका सभापतिहरुको भेलाले पुष्टि गरेको छ, भने सस्थापन पक्षले २२ गते विराटनगरमा प्रदेशस्तरीय सम्मेलनको आयोजना गर्ने तयारी गरेको छ ।
मंगलवारको भेलाको प्रमुख अतिथि शेखर कोइराला हुने भने, २२ गतेको भेलामा सभापति शेरबहादुर देउवा प्रमुख अतिथि हुने प्रचार गरिएको छ । यसबीच, कोइराला समूहको भेलालाई रोक्न पार्टीको केन्द्रीय कार्यालयले पत्राचार गरेको छ ।
केन्द्रीय पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित पत्रमा कांग्रेसको वैधानिक प्रावधानअनुसार, प्रत्येक तहको सम्मेलनको प्रक्रिया विशेष तहको कार्यसमितिले आयोजना गर्ने र समन्वय गर्ने व्यवस्था रहेको उल्लेख गरिएको छ ।
यसरी, मंसिर २२ गतेको कार्यक्रम प्रदेश समितिको आयोजनामा निर्धारित गरिएको उल्लेख गर्दै, उक्त मितिभन्दा पूर्व कुनै कार्यक्रम आयोजना नगर्न पत्रमा भनिएको छ । यद्यपि, कोइराला निकट कांग्रेस विराटनगर महानगर सभापति दिपक चापागाँई केन्द्रीय कार्यालयबाट कार्यक्रम नगर्न नभनिए बताउँछन् । निर्धारित कार्यक्रम असहमतिका बाबजुद पनि जारी राख्ने उनले बताए।
सस्थापन पक्षले २२ गतेको भेलामा क्षेत्रीय सभापतिहरु, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, पालिका सभापति, प्रतिनिधि सभा सदस्य र प्रदेश अधिवेशन प्रतिनिधिहरु सहभागी हुने र सम्मेलनको बन्द सत्रमा प्रदेश कांग्रेसको सांगठानीक, राजनीतिक र आर्थिक प्रतिवेदनमाथि छलफल गर्ने जनाएको छ ।
कोइराला समूहको भेलामा भने पार्टीको संगठन र विधानमाथि छलफल हुने बताइएको छ ।
कोशी प्रदेश कांग्रेसका सभापति झापाका उद्धव थापा हुन् । उनी नेता कृष्णप्रसाद सिटौला निकट मानिन्छन् । सिटौला सभापति शेरबहादुर देउवा पक्षमा रहेकोले, देउवा र सिटौलाको गठबन्धनले गत प्रदेश महाधिवेशनमा कोइराला समूहका गुरुराज घिमिरेलाई २ मतले हराएका थिए ।
कोशी प्रदेशमा देउवा, सिटौला र कोइराला समूह बीचको किचलो गहिरो बनेको हो । आइतवार सम्पन्न मोरङको ग्रामथान गाउँपालिकाको प्रमुख पदको उपनिर्वाचनमा कांग्रेसको पराजयलाई पनि गुटगत संघर्षसँग हेरिएको कांग्रेसका स्थानीय नेताहरु बताउँछन् ।
ग्रामथान उपनिर्वाचनको पराजयका बीच, कांग्रेसका तीनवटा गुटका नेता र कार्यकर्ताहरुको चुनावी प्रचारमा भिन्नभिन्न रवाफ देखिएको थियो । चुनावी सरगर्मी चलिरहेका बेला, कोइराला निकट उम्मेदवार मोहरा बनेका थिए । प्रचारमा स्थानीयभन्दा बाहिरी कांग्रेसी कार्यकर्ताहरुको भीड बढी रहेको बताइएको छ, जसले गाउँका स्थानीय मतदाताहरूसँग राम्रो सम्बन्ध बनाएको थिएन।
२०७९ को निर्वाचनमा कांग्रेसका जयप्रकाश गच्छदार उक्त गाउँपालिका प्रमुखमा निर्वाचित भएका थिए । गच्छदारको निधनपछि, आइतवार भएको उपनिर्वाचनमा माओवादीका नमोनारायण माझी ६,९६९ मत ल्याएर विजयी भए । कांग्रेसका वलराम सरदार थारुले ५,३३३ मत ल्याए, भने एमालेका तुलसीराम विश्वास ४,१५९ मतमा सीमित भए।
‘कोशीमा देउवा, कोइराला र सिटौला गुट पार्टीका लागि क्यान्सर नै सावित भएको छ,’ कांग्रेस सस्थापन पक्षका एक नेताले भने, ‘ यहाँ गुटका कार्यकर्ताहरु बीचको मतभेदले संगठन विस्तार समेत गुटगत रूपमा भइरहेको छ ।’
यही अवस्था रही रहेँ आगामी निर्वाचनमा त्यसको असर देखिने उनी बताउँछन् ।’यस्तो अवस्था कायमै रह्यो भने, ग्रामथानको पराजय मात्रै होइन, आगामी निर्वाचनमा तिनवटै गुटका कार्यकर्ताहरुले आ-आफ्ना उम्मेदवारको समर्थन गर्दै निर्वाचनमा उत्रिने स्थिति उत्पन्न हुन सक्छ र त्यसको नतिजाले कांग्रेसलाई अवश्य फाइदा पुग्दैन ।’
यसले कोशी कांग्रेसमा गुटगत संघर्ष पार्टीका आन्तरिक विवादलाई उजागर गर्दै, पार्टीको संगठनात्मक र चुनावी भविष्यमा थप चुनौतीहरूको संकेत गर्दैछ ।
गुटगत किचलोकै कारण, कोशी प्रदेश सरकारले सात महिना बित्दा समेत पूर्णता पाउन सकेको छैन । कांग्रेसका ८ प्रदेश सांसदको साथमा विद्रोह गरेर, एमालेको समर्थनमा गत कात्तिकदेखि वैशाखसम्म मुख्यमन्त्री बनेका कांग्रेसका केदार कार्कीलाई एमाले-माओवादी गठबन्धनले विस्थापन गरेर, एमालेका हिकमतकुमार कार्कीको नेतृत्वमा गत वैशाख २७ गते सरकार गठन गरे।
तर, कोइराला पक्षले मन्त्रीको नाम नपठाउँदा, प्रदेशको स्वास्थ्य मन्त्रालय अझै खाली रहेको छ । त्यो मन्त्रालय कांग्रेसकै भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईले हेर्दै आएका छन् । प्रदेशमा ९ मन्त्रालय छन्, जसमा ५ वटा एमाले र ४ वटा कांग्रेसको भागमा छन् ।
कांग्रेसका भागमा परेका चार मन्त्रालय मध्ये कोइराला पक्षले दुईवटामा दाबी गरेको थियो, तर संस्थापन पक्षले एउटा मात्र दिएकोले कोइराला पक्ष सरकारमा सहभागी नहुँदा मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन।