कोशीमा आउने पर्यटक चराहरु जलवायु परिवर्तनले अन्यत्रै ‘डाइभर्ट’
रुस, साइवेरिया, किर्गिस्तान, चीन, अफ्रिका लगायतबाट जाडो छल्न कोशी आउने चराहरु बालीमा विषादी र जलवायु परिवर्तनले गर्दा श्रीलंका, हङकङ, भारत लगायतका देशतिर डाइभर्ट हुन थाले । हिउँदमा आउने चराहरुको संख्या घट्यो ।
विराटनगर । जंगली भैसी (अर्ना) र चराको राजधानी मानिएको कोशी टप्पु वन्यजन्तु आरक्षमा यस वर्ष चराको संख्या घटेको छ ।
आरक्षमा हरेक हिउँदमा साइवेरिया, मंगोलिया, रसिया र चीनबाट जाडो छल्न पर्यटक चरा आउने गर्छन् । तर पछिल्लो समय जलवायु परिवर्तनसँगै आरक्ष आसपासका खेतबारीमा प्रयोग गरिने विषादीका कारण चराहरु आउने क्रम प्रभावित बनेको छ ।
यहाँ हिउँदमा जाडो छल्न आउने मुख्य चरामा कर्मनेन्ट, जलेवा, खोया हाँस, लाज र चखेवा प्रजातीका चरा हुन् । ती चरा आउँदा आउँदै बाटैमा उचित वासस्थान फेला पर्दा मंगोलिया, चीन, भारत र हङकङको माइपोमा डाइभर्ट हुन थालेको आरक्ष प्रशासनको अध्ययन छ ।
आरक्षमा चराको संख्या घट्नुमा आउँदा आउँदै बाटैमा नयाँ बासस्थान भेटिनु, उपयुक्त तापक्रम फेला पर्नु र चरा उड्ने मार्गमा रहेका विद्युतीय हाइटेन्सनलाई मानिएको छ । आरक्ष क्षेत्रमा गुणस्तर बासस्थानको अभाव, बासस्थान क्षेत्रमा भइरहेका विकास निर्माण, खेती बालीमा बढ्दो विषादीको प्रयोग र मानवीय क्रियाकलापले पनि चराको संख्या घटेको हुनसक्ने आरक्षको अनुमान छ ।
मिड–विन्टर वाटर वर्ड सेन्सस २०२४ अन्तर्गत यस वर्ष कोशीटप्पु आरक्ष लगायत कोशी नदी क्षेत्रमा गरिएको गणनामा ५३ प्रजातिका ५ हजार ५ सय २७ को संख्यामा चरा फेला परेका छन् । गत वर्ष ५६ प्रजातिका ७ हजार ५ सय ७३ चरा रहेको आरक्षको तथ्याङक छ । अघिल्लो वर्ष यहाँ ७ हजार ६ सय ६४ चरा थिए ।
आरक्ष क्षेत्रमा हरेक वर्ष नयाँ प्रजातिका चरा आउने गरेका थिए । तर यस वर्ष त्यस्तो भेटिएन । राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्र प्रमुख वीरेन्द्र गौतमले भने गत वर्ष यहाँ, ‘५६ प्रजातिका चरा फेला परेकोमा यस वर्ष ५३ प्रजाति मात्र भेटिए ।’ उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष तीन प्रजाति र दुई हजारभन्दा बढी चरा आरक्ष क्षेत्रमा घटेका छन् ।
‘यस वर्ष आरक्षमा निकै चरा घटेका छन् । आगन्तुक चरा पनि कम्ती देखिएका छन्,’ गौतमले भने, ‘आउँदो जनवरीमा फेरि चराको गणना हुने र त्यसबेला आरक्षका चराको वास्तविक संख्या पत्ता लाग्ने छ ।’
जलवायु परिवर्तनको प्रभावले आवास परिवर्तन, खाद्य चक्रको परिवर्तन, प्रवासनको समय परिवर्तन, रोग र परजीविहरुको वृद्धि लगायत समस्याले आगन्तुक चराहरु घट्ने गरेको देखिन्छ । उपयुक्त वातवारणको अभावमा आगन्तुक पर्यटक चराको संख्यामा कमी देखिन थालेको कोशीटप्पु लर्निङ ग्राउन्डमा कार्यरत चराका जानकार अनिश तिम्सिनाको बुझाइ छ । उनका अनुसार अन्नबालीमा बढ्दो विषादी प्रयोगले पनि चरालाई संकट बढाउँदै गएको पाइएको छ ।
‘साइवेरिया, मंगोलिया, रसिया र चीनबाट जाडो छल्न आरक्षा क्षेत्रमा विभिन्न प्रजातिका चरा आउँथे,’ गौतमले भने ‘यसपाली त्यसरी आउने चरा घटेका छन् । यसको मुख्य कारण आउँदा आउँदै बाटैमा नयाँ बासस्थान भेटिनु, उपयुक्त तापक्रम फेला पर्नु र चरा उड्ने मार्गमा रहेका विद्युतीय हाइटेन्सन पनि हुन सक्छ । आरक्ष क्षेत्रमा गुणस्तर बासस्थानको अभाव, बासस्थान क्षेत्रमा भइरहेका विकास निर्माण, खेती बालीमा बढ्दो विषादीको प्रयोग र मानवीय क्रियाकलापले पनि चराको संख्या घटेको हुन सक्छ।’
यतिबेला कोशीमा सबैभन्दा धेरै ८ सय ४८ वटा सिलसिले हाँस छन् । त्यसैगरी उच्च संख्यामा फेला परेका १० प्रजातिका चरामध्ये चखेवा ५ सय ६, राज हुटिट्याउँ ४ सय ५५, जलेवा ४ सय ४५, वस्तु बकुल्ला ३ सय ७६, सानो जलेवा ३ सय ७१, कर्रा सवारी २ सय ५७, लामाऔंले २ सय २२, आसकोटे बकुल्ला २ सय १० र जलरंग १ सय ८७ रहेको आरक्षमा छन् ।
कोरोना महामारीमा यो आरक्ष र आसपासमा चराको संख्या अत्याधिक बढेर ९ हजार २ सय ८९ पुगेको थियो । त्यस समयमा मनाव चहलपहल कम हुनाले सिमसार खोलानालामा चराको संख्या बढेको जानकारहरुको बुझाइ छ ।
‘हरेक वर्ष असोजदेखि पुससम्ममा हिउँदे पर्यटक चरा नेपाल आउने गर्छन् । ती चरा चैत सुरुदेखि आफ्नै गन्तव्य स्थान फर्कने गर्दछन् । सुनसरी, सप्तरी र उदयपुर जिल्लाको संगम स्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्ष मुलुकको चराको राजधानी जस्तै हो । तर चरा घट्नु चिन्ताको कुरा हो,’ गौतमले भने ।
गौतमका अनुसार ५० भन्दा बढी प्रजातिका बटुवा चरा नेपालको बाटो हुँदै भारत, पाकिस्तान र श्रीलङका तिर भौंतारिन्छन् । जाडो छल्न नेपाल आउने हिउँदे पर्यटक चरा नेपालका प्रमुख सिमसार क्षेत्र कोसीटप्पु वन्यजन्तु आरक्षसहित चितवन राष्ट्रिय निकुञ्ज, बिसहजारी, जगदिशपुर, घोडाघोडी ताल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा कोशी, गण्डकी, नारायणी नदी, मोरङको तालतलैया, वेतना सिमसार र ठूला नदीका सहायक नदीमा प्रायः रहने गर्दछन् ।
यसरी जाडो याममा नेपालमा बसाइ आउने चरामध्ये सबैभन्दा बढी हाँस प्रजातिले ओगटेको छ । त्यसवाहेक अन्य प्रजातिमा सिकारी तथा मांसाहारी चरा, चाँचर, साना फिस्टा, अर्जुनक, झ्याप्सी, भद्राइ पनि पर्छन् ।
पानिमा आश्रित चराहरुलाई सिमसार संरक्षणको अभावमा हुनुको साथै आहाराको कमीले चराको संख्या घटेको हुनसक्ने कोशी पंक्षी समाजका अध्यक्ष चक्र तिम्सिनाको बुझाइ छ । मानव बस्ती र मानवीय व्यवहारले पर्यटक चरा आउन ह्रास भएको तिम्सीना बताउँछन् । उनका अनुसार रसिया, साइवेरिया लगायतका मुलुकबाट जाडो छल्न आउने पर्यटक चरा खेल्ने सिमसार क्षेत्रमा प्रदूषण बढ्नुले पनि समस्या सिर्जना गरेको हुनसक्छ ।
दक्षिणी मुलुक र अफ्रिकाबाट ग्रिष्मकालीन पर्यटक चरा बच्चा कोरल्न नेपालका सिमसार आउने र आफ्ना बच्चा हुर्काएर पुरानै बासस्थानमा तिर फर्कने गरेको विज्ञहरुको भनाइ छ । त्यसरी आउनेमा कोइली, मुरलीचरी, गाजले सुनचरी, स्वर्गचरी, चित्रक पिट्टा, कटुस टाउके लगायतका प्रजातीका चरा छन् ।
देशभर पाइने ८ सय ९५ चरामध्ये यो आरक्षमा ५३५ चरा छन् । कोशी वर्ड सोसाइटीको अगुवाइमा भएको जलपंक्षी गणना २०२३ मा कोसीटप्पु वन्यजन्तु आरक्षमा ५८ प्रजातिका १३ हजार ६६८ चरा भेटिएका थिए । ‘नेपालमा पाइने सबै प्रजातिका चरा पनि वर्षभर नै नेपालमै रहन सक्दैनन्,’ वर्ड वाचिङ क्याम्प कोसी टप्पुका सञ्चालक कुरमान मन्सुरीले भने, ‘नेपालमा हिउँदमा आउने हिउँदे आगन्तुक र वसन्त ऋतुमा आउने पर्यटक चराको बसाइँसराइ निरन्तर भइरहन्छ ।’
हरेक वर्ष झण्डै १ सय ५० प्रजातिका चरा रुस, किर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजान, चीन, मंगोलिया एवं युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट नेपालमा आउने गरेको तथ्यांक रहेको छ ।
तस्बिर: राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्र ।