साहस उर्जाका प्रमोटरलाई सेयर बेच्न लकइन सकेर ४ वर्षको साधारणसभा एकैपटक: लगानीकर्तालाई हकप्रद, सञ्चालकले बुझे करोडौं



काठमाडौं । विगत चार वर्षदेखि साधारण सभा नगरेको, लगानीकर्तालाई एक पटक पनि लाभांश वितरण नगरेको साहस उर्जाले एकै पटक साधारणसभा गरेको छ । लकइन अवधि सकिएलगत्तै कम्पनीले चार वर्षको सभा एकै पटक आइतबार सम्पन्न गरेको हो ।

चार वर्षमा पहिलो पटक कम्पनीले सेयरधनीलाई ८ प्रतिशत बोनस दिएको छ । सेयरधनीलाई तीन वर्षसम्म हात खाली गराएर सञ्चालकले भने कम्पनीबाट करोडौं बुझेका छन् ।

८ प्रतिशत बोनस सेयर दिएपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । उक्त चुक्ता पुँजीको १:१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव कम्पनीले पारित गरेको छ । लगानीकर्तालाई तीन वर्ष केही नदिएको कम्पनीले अब ३ अर्ब ७८ करोड रुपैयाँको ३ करोड ७८ लाख कित्ता हकप्रद सेयर भिडाउने भएको छ ।

यसअघि नै सेयरधनीलाई लाभांश नदिएको कम्पनीका सञ्चालकले भत्ता तथा सुविधाको रुपमा करोडौं लिँदै आएका छन् ।

२०८१ असार मसान्तसम्म अर्थात एक वर्षमा मात्रै साहस उर्जाका अध्यक्ष तथा प्रबन्ध सञ्चालक तथा सञ्चालकले १ करोड ८ लाख २६ हजार ७०० रुपैयाँ भत्ता बुझेका छन् ।

अध्यक्ष हिम प्रसाद पाठकले सुविधा शीर्षकमा ५६ लाख ९५ हजार २०० रुपैयाँ, बैठक भत्ता बापत १ लाख २० हजार रुपैयाँ लिएका छन् । यस्तै प्रबन्ध सञ्चालक सुशिल थापाले सुविधा शीर्षकमा ३५ लाख ५९ हजार ५०० रुपैयाँ र बैठक भत्ता बापत ८० हजार, मिनराज कंडेलले सुविधा शीर्षकमा १ लाख ८० हजार बैठक भत्ता बापत ९६ हजार, परितोष पौड्यालले सुविधा बापत १ लाख ८० हजार र बैठक भत्ता बापत ९६ हजार रुपैयाँ लिएका छन् ।

यस्तै हमेन्द्र कुमार गिरीले सुविधा बापत १ लाख ८० हजार र बैठक भत्ता बापत ९६ हजार, भोज बहादुर शाहले सुविधा बापत १ लाख ८० हजार र बैठक भत्ता बापत ९६ हजार र मुक्तिराम पाण्डेले सुविधा बापत १ लाख ८० हजार र बैठक भत्ता बापत १ लाख ८० हजार लिएका छन् ।

यो कम्पनीमा सञ्चालकको सेयर स्वामित्व पनि राम्रो नै रहेको छ ।

अध्यक्ष हिम प्रसाद पाठकको ४ लाख ७६ हजार २०० कित्ता, प्रबन्ध सञ्चालक शुसिल थापाको ४ लाख ९१ हजार ५२६ कित्ता, सञ्चालक मुक्तिराम पाण्डेको १ लाख ५० हजार कित्ता, सञ्चालक भोज बहादुर शाहको १ लाख ३५ हजार कित्ता, सञ्चालक मिनराज कंडेलको १ लाख ५० हजार कित्ता, सञ्चालक महेन्द्र कुमार गिरीको ३ लाख ५६ हजार, सञ्चालक परितोष पौड्यालको १ लाख ५० हजार कित्ता सेयर स्वामित्व रहेको थियो ।

कम्पनीका सञ्चालक समितिको अध्यक्षमा हिम पाठकको सेयर स्वामित्व हाल १.३६ प्रतिशत, प्रबन्ध सञ्चालक शुसिल थापाको १.४० प्रतिशत, सञ्चालक मुक्तिराम पाण्डेको ०.४३ प्रतिशत, सञ्चालक भोज बहादुर शाहको ०.३९ प्रतिशत, सञ्चालक मिनराज कंडेलको ०.४३ प्रतिशत, सञ्चालक महेन्द्र कुमार गिरीको १.०२ प्रतिशत र सञ्चालक परितोष पौड्यालको ०.४३ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यो कम्पनीको लकइन अवधि असोज १६ गते सकिएको छ । कम्पनीले साहस उर्जाले संस्थापक, आयोजना प्रभावित र कम्पनीका कर्मचारीलाई २०७८ असोज १७ गतेसेयर बाँडफाँट गरेको थियो । कम्पनीले तीन वर्षको लकइन अवधि सकेर सभा बोलाएको हो । कम्पनीका संस्थापकको २ करोड ४५ लाख कित्ता, आयोजना प्रभावितको ३५ लाख र कर्मचारीको २ लाख १० हजार कित्ता सेयर स्वामित्व रहेको छ ।

चार वर्षको सभा एकै पटक गरेपछि कम्पनीबाट सञ्चालकलाई सेयर बेचर कम्पनीबाट बाहिरिन समेत सजिलो भएको छ । पछिल्लो समय जलविद्युत कम्पनीका सञ्चालकले लकइन अवधि सकिए लगत्तै आफ्नो स्वामित्वमा भएको सेयर बिक्री गर्ने प्रचलन बढ्दै गएको छ । साहस उर्जा लगायत कम्पनीले तीन, चार वर्षको सभा एकै पटक समेत गर्ने गरेका छन् ।

कम्पनीले ऐनले हरेक वर्ष आर्थिक वर्ष सकिएको ६ महिना भित्र साधारणसभा सम्मन्न गरिसक्नु पर्ने व्यवस्था छ । यो कम्पनीले कम्पनी ऐनमा भएको व्यवस्था उल्लंघन गरेको छ । सूचीकृत कम्पनी संस्थागत सुशासन कायम गर्न समयमा साधारण सभा गर्नुपर्ने, समयमा नै सेयरधनीलाई सूचना दिनु पर्ने मान्यता छ । त्यसमा कम्पनीले ध्यान दिएको छैन ।

यो कम्पनीका सञ्चालक अधिकांश सहकारी क्षेत्रमा आबद्ध भएका व्यक्ति रहेका छन् । संस्थाका अध्यक्ष हिम प्रसाद पाठक ९ वर्ष साहस बचत तथा ऋण सहकारी संस्थामा अध्यक्ष बनेका थिए ।

यस्तै मिनराज कँडेल राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष हुन् । महेन्द्र कुमार गिरी साहरा नेपाल बचत तथा ऋण सहकारीका कार्यकारी निर्देशक हुन् । उनी राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा जिल्ला सहकारी संगठन झापाका वरिष्ठ उपाध्यक्ष हुन् । यस्तै परितोष पौड्याल नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका पूर्वअध्यक्ष हुन् ।


क्लिकमान्डु