भोकमरीमा परेका जनताको आहारका लागि २ सय हात्ती मार्दै जिम्बावे



एजेन्सी । जिम्बावे सरकारले त्यहाँ केही दशकदेखि उत्पन्न खडेरीका कारण भोकमरीमा परेका नागरिकहरुलाई आहारका लागि २ सय हात्तीलाई मार्ने भएको छ ।

जिम्बावेमा दशकौंदेखि डरलाग्दो खडेरीका कारण करिब आधा जनसंख्या भोकमरीको जोखिममा छन् । जिम्बावे पार्क एन्ड वाइल्डलाइफ अथोरिटीले २ सय हात्ती मार्ने तयारी गरेको जनाएको छ । नामिबियाले पनि यसैगरी भोकमरीमा परेका जनतालाई खानाका लागि हात्ती र अन्य वन्यजन्तु मारेपछि जिम्बावेले यस्तो निर्णय गरेको हो ।

नामिबियाले भने खाद्य असुरक्षा पूर्ति गर्नका लागि हात्ती मारेको जिकिर गरेको थियो । किनकि त्यहाँ पनि यस्तै खडेरीले भोकमरी सिर्जना भएको थियो ।

तर जिम्बावेको यस्तो निर्णयप्रति पशु अधिकारकर्मी तथा संरक्षणकर्मीहरुले आपत्ति जनाइरहेका छन् । उनीहरुले जिम्बावे सरकारको निर्णयको आलोचना गरिरहेका छन् ।

जिम्बावे ८४ हजार भन्दा धेरै हात्तीहरुको सुरक्षित बासस्थानको रुपमा चिनिन्छ । तर सरकारले भने यसलाई आफ्नो क्षमताभन्दा दोब्बर धेरै हात्तीको संख्या भएको बताउने गरेको छ । सरकारले देशको क्षमता ४५ हजार हात्ती मात्रै रहेको जनाएको छ ।

यससँगै जिम्बावे विश्वभर सबैभन्दा धेरै हात्तीको संख्या भएका देशमध्ये दोस्रो स्थानमा छ । पहिलो भने बोतस्वना हो । गत साता मात्रै वातावरणमन्त्री सिथेम्बिसो न्योनीले संसदलाई सम्बोधन गर्दै आफ्नो देशमा आवश्यक भन्दा धेरै हात्ती रहेको बताएकी थिइन् । जिम्बावेको जंगलमा अटाउन सक्नेभन्दा धेरै हात्ती रहेको उनको भनाइ थियो ।

यस्तै हात्तीको आवश्यकता भन्दा धेरै संख्या हुँदा स्रोतको अभाव भएको पनि उनको जिकिर थियो । र अन्तत यसले मानव र वन्यजन्तुबीच द्धन्द्ध बढेको पनि उनको भनाइ थियो ।

यसका लागि आफूहरुले जिम पार्क जिम्बावे पार्क तथा वन्यजन्तु आरक्षसँग पनि कुराकानी भइसकेको मन्त्रीको भनाइ थियो । सरकारले हात्तीको मासुलाई सुकुटी बनाएर तथा त्यसका विभिन्न परिकार बनाएर प्याकिङ गर्ने योजना बनाएको पनि बताइएको छ ।

नामिबियाले पनि गत महिना यसैगरी हात्तीसहित ७ सय वन्यजन्तु मारेर भोकमरीको जोखिमलाई पूर्ति गर्न अनुमति दिएको थियो । हात्तीको मासु सुकाएर वितरण गर्ने नामिबियाले भनेको थियो । र त्यसमध्ये १५० वन्यजन्तु भने नामिबियाले मारिसकेको छ । र त्यसबाट १ लाख २५ हजार पाउन्ड मासु वितरण गरिसकेको नामिबियाको वातावरण, वन तथा पर्यटन मन्त्रालयले जनाएको छ ।

हाल जिम्बावेले पनि भोकमरीको जोखिम टार्न सोही योजना पछ्याएको हो । दक्षिण अफ्रिकाका दुबै देश जिम्बावे र नामिबिया एल निनो नामको प्राकृतिक प्रकोपका कारण गम्भीर खडेरीको मारमा परेका छन् । र दुबै देश जलवायु परिवर्तनको मारमा परिरहेको बताइन्छ ।


क्लिकमान्डु