युवाहरु युद्धमा मारिएपछि महिला, विद्यार्थी र वृद्धलाई जटिल काममा खटाउँदै युक्रेन



युवा जनशक्ति सेनामा गएपछि पुरुषहरुले गर्दैआएका जटिल मानिने निर्माण, पूर्वाधार जस्ता काममा महिला, विद्यार्थी र वृद्धहरुलाई खटाउन थालिएको छ । धेरै कम्पनीले अनुभव नै नभएका व्यक्तिलाई तालिम दिएर पनि काममा लगाउँदै गरेका छन् ।

एजेन्सी । वर्षौंसम्म युक्रेनका विभिन्न कम्पनीहरुमा काम गर्दा दिक्क बनेकी लिलिया शुल्हा अब भने फोजी ग्रुप कम्पनीको ट्रक ड्राइभर बनेकी छन् । सानैदेखि ठूलो गाडी चलाउने सपना देख्दै आएकी ४० वर्षीया लिलियाका लागि अब भने सपना पूरा गर्ने समय आएको छ ।

यसका लागि आफूलाई भाग्यशाली ठान्छिन् । किनकि हाल युक्रेनका कम्पनीहरुले शारीरिक रुपमा कठिन तथा अप्ठेरा कामहरुका लागि पनि महिला, किशोरकिशोरी, विद्यार्थीहरु र वृद्ध कामदारहरुलाई पनि छनोट गर्न थालेका छन् ।

कम्पनीको पोशाक लगाएर ठूलो ट्रकको अगाडि उभिएर लिलियाले भनिन्, ‘अहिले अवस्था यस्तो छ कि कम्पनीहरुले अनुभव नभएका कामदारलाई लिन्छन् र उनीहरु नै तालिम दिन्छन् । यसमा म पनि भाग्यमानी भएँ ।’

रुस-युक्रेन युद्धमा रुसी सेनाबाट ठूलो संख्यामा काम गर्ने उमेरका युक्रेनी युवाहरु मारिएपछि युक्रेनमा श्रम क्षेत्रमा खडेरी नै लागेको छ । यस्तैमा युक्रेनका कम्पनीहरुले पछिल्लो समय परम्परागत रुपमा पुरुषहरुले गर्दैआएका कामका लागि पनि धेरै महिलालाई काम दिन थालेका छन् । विशेषगरी शारीरिक श्रम पर्ने कामहरुमा कामदर नै पाइन छाडेपछि पछिल्लो समय कम्पनीहरुले महिला, किशोरकिशोरी, विद्यार्थी वृद्ध कामदारहरुलाई पनि काम लगाउन थालेका हुन् ।

लाखौं मानिसहरु युद्धबाट भागेर विदेश गएका छन् । हजारौं पुरुषहरु सेनामा भर्ती भए । यसले गर्दा रोजगारी तथा श्रम क्षेत्रमा देखिएको संकटले आर्थिक विकास र युद्धपछिको अवस्था अझै भयावह देखिने विश्लेषकहरु बताउँछन् ।

२०२२ को फेब्रुअरीमा रुससँग युद्ध भएयता युक्रेनले एकतिहाइ श्रमशक्ति गुमाइसकेको तथ्यांक छ । झन्डै ६० प्रतिशत व्यवसायमा सीपयुक्त वा दक्ष कामदार पाउनु प्रमुख चुनौती भएको बताइएको छ । जुन तथ्यांक त्यहाँको अर्थ मन्त्रालयले ३ हजारभन्दा धेरै कम्पनीहरुमाथि गरेको सर्वेक्षणबाट आएको हो ।

युक्रेनको सबैभन्द ठूलो रोजगारदाता रहेको स्टिल कम्पनी मेटिनभेस्टका चिफ सस्टेनेबिलिटी अफिसर तेतियाना पेत्रुक भन्छन्, ‘अवस्था ज्यादै संकटग्रस्त बनेको छ ।’ ४५ हजारलाई रोजगारी दिँदै आएको यो कम्पनीमा हाल ४ हजार कर्मचारीको पद खाली रहेको बताइएको छ । पेत्रुकले रोयटर्ससँगको अन्तर्वार्तामा भनेका छन्, ‘हामी जति कर्मचारी आवश्यक महसुस गरिरहेका छौं, यसले कम्पनीको उत्पादनमा असर पारिरहेको छ ।’

कर्मचारी आवश्यक भएको मेटिन्भेस्ट कम्पनी मात्रै हैन । यक्रेनका अरु थुप्रै कम्पनीहरु यतिबेला ठूलो संख्यामा कामदारको खाँचो महसुस गरिरहेका छन् । यतिसम्म कि तिनका कन्ट्र्याक्टरहरुलाई पनि कामदार चाहिएको छ । रोयटर्सको रिपोर्ट अनुसार युक्रेनका ठूला औधोगिक कम्पनीदेखि साना समूहहरु र निजी उद्यमीहरुसम्म गरी ९ वटा कम्पनीका प्रतिनिधिहरुसँग कुरा गर्दा ती सबैले पर्याप्त कर्मचारी नपुगिरहेको बताएका थिए । र दक्ष कामदार पाउनु प्रमुख चुनौती रहेको उनीहरुको भनाइ थियो ।

यससँगै व्यवसायीहरुले कर्मचारी भर्ना गर्ने तथा व्यवसाय अभ्यासको तरिका नै परिवर्तन गरिरहेको बताएका छन् । उनीहरुले कामलाई स्वचालित बनाउने, कामको विस्तार गर्ने र सेवानिवृत्त कर्मचारीहरुलाई फेरि काममा बोलाउनेसम्मका रणनीति अपनाउन थालेका छन् । र विशेषगरी युवा जनशक्तिका लागि आकर्षक सुविधा अफर गरिरहेका छन् ।

यस्तै कम्पनीहरुले ज्याला वृद्धि पनि गरिरहेका छन् । एक वर्षअघिसम्म १४ हजार ५ सय युक्रेनी मुद्रा रहेको मासिक औसत तलब हाल २० हजार अर्थात् ४७० अमेरिकी डलर पुर्‍याइएको । यसैबीच कर्मचारीहरु छनोटमा अधिकांश पुरुषहरु छनोटमा पर्ने गरेकामा अब धेरै कम्पनीहरुले महिलालाई पनि छनोट गर्ने क्रम बढेको छ । यो अहिले एउटा आम प्रवृत्तिकै रुपमा बढिरहेको छ ।

तर धेरैजसो अधिकांश पुरुष कर्मचारीहरु रहेका कम्पनीहरुमा हाल कर्मचारी आवश्यकता धेरै नै खड्किरहेको केन्द्रीय बैंकको तथ्यांक छ । निर्माण क्षेत्र, यातायात तथा ढुवानी, खानी तथा अन्य क्षेत्रबाट युवा कामदारहरु सैन्य सेवामा जाँदा ती क्षेत्रमा जनशक्तिको खडेरी नै लागेको छ । यस्ता क्षेत्रमा प्राय २५ देखि ६० वर्ष उमेर समूह आवश्यक पर्नेमा धेरैजसो युवाहरु सैन्य सेवामा जाँदा कामदार धेरै आवश्यक परेको बताइन्छ । जसकारण सरकारले पनि हाल यस्ता संकटमा रहेका कम्पनीहरुमा कामदार उपलब्ध गराउन थालेको छ ।

सरकारले अवस्था अनुसार कतिपय कम्पनीलाई कामदार परिचालन गर्न थाले पनि यो प्रक्रिया लामो र जटिल मानिन्छ । यस्तो अवस्थामा दक्षिणी मिकोलिभ क्षेत्रका कृषि क्षेत्रमा त पछिल्लो समय महिलाहरुलाई तालिम दिएर ट्रक चालकको काममा खटाउन थालिएको छ । विशेषगरी ट्राम र ट्रक ड्राइभर, कोइलाखानी, सुरक्षागार्ड र वेयरहाउसका क्षेत्रमा ठूलो संख्यामा महिलाहरुलाई तालिम दिएर काममा खटाउन थालिएको छ ।

कतिपय कम्पनीले तालिम र रोजगारी सँगै पनि आह्वान गर्ने गरेका छन् । सिल्पो कम्पनीका मानव शंसाधन प्रमुख ल्युबोभ युक्रेनेट्सले भनेका छन्, ‘आधारभूत अनुभव भएका महिलाहरुलाई हामीले तालिम र जागिर सँगै अफर गरिरहेका छौं ।’

लिलिया शुल्हासँगै ६ महिलाहरु ट्रक चालकको रुपमा काम गर्न थालेका छन् । शुल्हालाई आबद्ध गरेको कम्पनीले लोडर, मासु भाग लगाउने तथा प्याकिङ गर्ने र सुरक्षा गार्ड लगायतका पहिले पुरुषहरूको प्रभुत्वमा रहेका धेरै कामहरूमा महिलाहरूलाई तीब्र रुपमा भर्ती गरिरहेको छ ।

यद्यपि व्यवसायी र अर्थशस्त्रीहरुले श्रम क्षेत्रमा कामदारहरुलाई रोकिराख्नु पर्ने बताउँदै आएका छन् । जवकि रोजगारदाताहरुले युवाहरुलाई टिकाउन तालिम, न्युन कार्य अनुभव र तलब वृद्धि जस्ता आकर्षक सुविधा प्याकेज दिइरहेका छन् ।

सिल्पो त्यस्तै एक कम्पनी हो जसले तीब्र रुपमा किशोरहरुलाई काममा लगाइरहेको छ । उदाहरणका लागि विद्यार्थीहरुलाई सुपरमार्केटमा इन्टर्नसीप तथा तालिम दिएर काममा लगाउन थालिएको छ । भोडफोन कम्पनीले नै १२ सहरमा प्याकेजको काममा ५० किशोरकिशोरीलाई पहिलो रोजगारी दिएको छ ।


क्लिकमान्डु