विश्वका २५ देश: जहाँ सेना छैन, कसले दिन्छ सुरक्षा ?
सैन्य कोषको रकम शिक्षा र स्वास्थ्यमा खर्च
संसारकै सबैभन्दा सानो देश भ्याटिकन सिटीदेखि हाइटी हुँदै पानामासम्मका देशमा सैन्य फौज छैन । सैन्य कोषको रकम उनीहरुले शिक्षा र स्वास्थ्यमा खर्च गरेका छन् । र सेना नभएकै कारण यी देशहरुमा युद्ध पनि भएको छैन ।
एजेन्सी । कुनै पनि देशका लागि सैन्य फौज अनिवार्य जस्तै मानिन्छ । सेनालाई त्यो राष्ट्रको सुरक्षा तथा सार्वभौमसत्ता रक्षा गर्ने संगठनको रुपमा पनि हेरिन्छ । तर विश्वमा त्यस्ता २० भन्दा बढी देश छन् जहाँ सेना नै छैनन् । अब जिज्ञासा हुनसक्छ, त्यसो भए ती देशको रक्षा कसरी हुन्छ त ?
तर ती देशहरु आफ्नो पृथक ऐतिहासिक सन्दर्भ र भौगोलिक अवस्थासँगै ऐतिहासिक सन्धि, विदेशी संरक्षण र अन्तर्राष्ट्रिय कूटनीति जस्ता विषयमा निर्भर रहने गर्छन् । साथै ती देशहरुले सैन्य संगठनको खर्च अर्थात् रक्षा कोषलाई सामाजिक सेवा, शिक्षा, स्वास्थ्य सेवा, र पूर्वाधारमा खर्च गर्ने गरेका छन् । जसले आन्तरिक स्थायित्व बढाउन र द्वन्द्वको सम्भावना कम गर्ने पनि बताइन्छ ।
तर यी राष्ट्रहरु रक्षाको लागि बाह्य शक्तिमा निर्भर हुने गर्छन् । विशेषगरी उनीहरु द्वन्द्वको सामना गर्नुपर्दा विभिन्न शक्ति संघर्ष गर्ने देशहरुको गठबन्धनमा आबद्ध हुन्छन् वा गठबन्धन परिवर्तन गर्छन् ।
यसरी सम्भावित आक्रमणलाई रोक्न उनीहरु कूटनीतिक र अन्तर्राष्ट्रिय कानुनमा नै भर पर्छन् । तल उल्लिखित २५ देशहरु, जहाँ सैन्य संगठन नै गठन गरिएको छैन । अर्थात् त्यहाँ सैन्य फौज छैनन् ।
यस्तो छ सूची :
अन्डोरा: फ्रान्स र स्पेनको बीचमा रहेको यो देशमा सेना छैन । र यहाँको सुरक्षा मामिलाको जिम्मेवारी पनि फ्रान्स र स्पेनको दीर्घकालीन सन्धिहरुका आधारमा तय गरिएको छ ।
कुक आइल्यान्ड्स: यो देश न्युजिल्यान्डबाट स्वायत्त भएको एक अलग राज्य हो । टापुहरुले बनेको यो देशको रक्षा मामिला भने न्युजिल्यान्डले नै हेर्ने गर्छ ।
कोस्टारिका: सेना नहुने देशहरुमध्ये सम्भवत सबैभन्दा धेरै प्रसिद्ध देश हो कोस्टारिका । १९४८ मा गृहयुद्ध सकिएपछि यो देशले आफ्नो सैन्य संगठन नै खारेज गरेको थियो । हाल यो देशले सैन्य कोषको रकम स्वास्थ्य सेवा र शिक्षामा खर्च गर्दै आएको छ । साथै सेना नभए पनि यो एक शान्तिपूर्ण र प्रजातान्त्रिक देशको रुपमा चिनिन्छ ।
डोमिनिका: क्यारेबियन राष्ट्रको रुपमा यो देश कुनै पनि रक्षा सम्बन्धी आवश्यकताहरू पूरा गर्न क्षेत्रीय सुरक्षा सम्झौताहरू र पूर्वी क्यारिबियन राज्यहरूको संगठन ओईसीएसमा निर्भर हुने गर्छ । यो देश ओईसीएस संगठनको सदस्यराष्ट्र पनि हो ।
ग्रेनाडा: डोमिनिक जस्तै प्रकृतिको देश ग्रेनाडाको सुरक्षा मामिला पनि ओईसीएस अन्तर्गत क्षेत्रीय सम्झौताहरुमा निर्भर हुने गर्छ । जसका लागि बेलायतको पनि सहयोग हुने गर्छ ।
हाइटी: हाइटी पनि विश्वभर चर्चित देश हो । वर्षौंको सैन्य कू र अस्थिरताबीच हाइटीले १९९५ मा आफ्नो सैन्य संगठन नै खारेज गरेको थियो । तर यहाँ अन्तर्राष्ट्रिय सुरक्षाका लागि राष्ट्रिय प्रहरी फौज गठन भएको छ । यसवाहेक यहाँ आवश्यकता अनुसार अन्तर्राष्ट्रिय शान्ति मिसन अन्तर्गत विदेशी सैनिकहरु पनि तैनाथ हुने गरेका छन् ।
आइसल्यान्ड: सेनाबिना बिना पनि विकास र समृद्धिमा फड्को मारेको देशको सूचीमा यो देश सम्भवत पहिलो नम्बरमा नै आउँछ । यो देशले सेना नराखे पनि सुरक्षाका लागि संयुक्त राष्ट्रसंघसँग नाटो र द्धिपक्षीय रक्षा सम्बन्धी सम्झौता गरेको छ ।
किरिबाटी: प्यासिफिक आइल्यान्डको रुपमा यो देशमा पनि सेना छैन । र यो देश सुरक्षाका लागि अस्ट्रेलिया र न्युजिल्यान्डमा निर्भर हुने गरेको छ ।
लिकटेन्सटाइन: १८६८ देखि नै यो देशले तटस्थताको सिद्धान्त अवलम्बन गर्दै आएको छ । र सेना छैन । तर यो राष्ट्र सुरक्षाका लागि स्विजरल्यान्डमा निर्भर हुने गरेको छ । आन्तरिक सुरक्षाका लागि भने यो देशले प्रहरी संगठन सञ्चालन गर्दै आएको छ ।
मार्सल आइल्यान्ड्स: यो देश पनि सेनाबिनाको देश हो । जुन सुरक्षाका लागि अमेरिकासँग निर्भर हुने गर्छ ।
मौरिसस: यो देशमा पनि सेना छैन । तर अर्धसैन्य संरचना भने छ । जसलाई सुरक्षा आवश्यकता अनुसार विशेष मोबाइल फोर्सको रुपमा चिनिन्छ ।
माइक्रोनेसिया: यो देश पनि मार्सन आइल्यान्ड जस्तै प्रकृतिको देश हो । जसको सुरक्षा मामिला फ्रि एसोसिएसन कम्प्याक्ट अन्तर्गत अमेरिकाले हेर्ने गरेको छ ।
मोनाको: यो देशले आन्तरिक सुरक्षाको लागि प्रहरी सञ्चालन गरेको छ भने रक्षा मामिलामा फ्रान्समा निर्भर हुने गरेको छ ।
नउरु: सबैभन्दा सानो आइल्यान्डको रुपमा चिनिने यो देशमा पनि सेना छैन । तर रक्षाको लागि यो देश अस्ट्रेलियामा निर्भर हुने गरेको छ । अस्ट्रेलियाले अनौपचारिक व्यवस्थापनको रुपमा यो देशको सुरक्षा मामिला हेर्ने गरेको छ ।
निउ: यो न्युजिल्यान्डबाट अलग भएको सानो आइल्यान्ड हो । जसको सुरक्षा मामिला न्युजिल्यान्डले नै हेर्ने गरेको छ ।
पलाउ: माइक्रोनेसिया र मार्सल जस्तै यो देशको पनि रक्षा मामिला अमेरिकाले हेर्ने गरेको छ । अमेरिकाले यो देशको रक्षा मामिला कम्प्याक्ट अफ फ्रि एसोसिएसन अन्तर्गत हेर्दै आएको छ ।
पानामा: १९८९ मा अमेरिकी आक्रमणपछि पानामाले आफ्नो सेना खारेज गरेको थियो । हाल यो देशले आफ्नो सुरक्षा मामिला राष्ट्रिय प्रहरी संगठनबाटै व्यवस्थित गर्दै आएको छ ।
सामोआ: यो देश पनि आफ्नो सुरक्षाका लागि न्युजिल्यान्डको भर पर्ने गरेको छ । यसका लागि न्युजिल्यान्डले १९६२ मा भएको मैत्री सन्धि अनुसार सामोआको सुरक्षा हेर्ने गरेको छ ।
सान मारिनो: यो देश सबैभन्दा पुरानो गणतन्त्रात्मक देशमध्ये एक हो । सान मारिनोसँग पनि सेना छैन । तर सुरक्षाका लागि इटालीमा भर पर्ने गरेको छ ।
सोलोमन आइल्यान्ड: २००० को सुरुमा आन्तरिक द्वन्द्वपछि यो देशले आफ्नो सैन्य संगठन खारेज गरेको थियो । हाल अस्ट्रेलिया र न्युजिल्यान्डले क्षेत्रीय सुरक्षा व्यवस्थापन र सहायताका आधारमा यो देशको सुरक्षा मामिला हेर्ने गरेका छन् ।
सेन्ट लुसिया: क्यारेबियन छिमेकी देश हो यो । जुन देशको सुरक्षा मामिलक क्षेत्रीय सुरक्षा व्यवस्था (आरएसएस) र अन्तर्राष्ट्रिय रक्षा साझेदारीका आधारमा तय गरिएको छ ।
सेन्ट भिन्सेन्ट र ग्रेनेडाइन्स: विश्व राजनीतिमा खासै नाम नसुनिएको यो देशमा पनि सेना छैन । तर यो देशको सुरक्षा पनि क्षेत्रीय सहकार्य र अन्तर्राष्ट्रिय रक्षा साझेदारीका आधारमा तय गरिँदै आएको छ ।
तुभालु: प्यासिफिक क्षेत्रमा रहेको सानो आइल्यान्ड राष्ट्रको रुपमा यो देशमा पनि सेना छैन । तर यहाँको सुरक्षा अस्ट्रेलिया र न्युजिल्यान्डले हेर्ने गरेका छन् ।
भानुआतु: अनय प्यासिफिक देशहरु जस्तै यो देशमा पनि सैन्य फौज छैन । तर यहाँको सुरक्षा मामिला क्षेत्रीय र अन्तरर्राष्ट्रिय सहयोगका आधारमा तय हुँदै आएको छ ।
भ्याटिकन सिटी: विश्वकै सबैभन्दा सानो देशको रुपमा चिनिएको भ्याटिकन सिटीमा पनि सेना छैन । तर स्विस गार्डको रुपमा यहाँका पोपको सुरक्षाका लागि सुरक्षा फौज चलाउने गरिएको छ । यो देशको सुरक्षा जिम्मा भने इटालीले लिँदै आएको छ ।