ठूला सिमेन्ट कम्पनीको व्यापारमा सीमितता, के हो कारण ?



काठमाडौं । देशका ठूला सिमेन्ट कम्पनीहरूको व्यापारमा सीमितता देखिएको छ । कतिपय सिमेन्ट कम्पनीको व्यापारमा गिरावट आएको छ भने केहीले मात्रै व्यापारमा विगतका वर्षमा भएका गिरावटबाट सुधार गरेका छन् ।

व्यापारिक समूह राठी ग्रुप र गोयल ग्रुपको संयुक्त लगानी रहेको नेपालकै ठूलो सिमेन्ट उत्पादनमध्येको एक मारुती सिमेन्टको व्यापारमा २०२१ यता निरन्तर गिरावट आइरहेको छ ।

सन् २०२१ मा मारुती सिमेन्टको व्यापार ६ अर्ब ९० करोड ८० लाख रुपैयाँको थियो । सन् २०२२ मा यो कम्पनीले ५ अर्ब ५ करोडको व्यापार गरेको थियो । त्यस्तै सन् २०२३ मा यो कम्पनीले ४ अर्ब ३३ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०२४ को पहिलो नौ महिनामा पनि मारुती सिमेन्टको व्यापारमा उत्साहजनक अवस्था देखिएको छैन । सन् २०२४ को पहिलो ९ महिनामा यो कम्पनीले करिब ३ अर्ब २२ करोड ९० लाखको व्यापार गरेको छ ।

मारुतीको मात्रै होइन, अर्को ठूलो सिमेन्ट उत्पादन कम्पनी अम्बे सिमेन्टको व्यापारमा पनि कमी आएको छ । केही वर्ष अघि मात्रै अर्बमा व्यापार गर्ने अम्बे सिमेन्टको व्यापार १५ करोडमा सीमित भएको छ ।

अम्बे सिमेन्टले सन् २०२२ मा अम्बे सिमेन्टको व्यापार १ अर्ब भन्दा धेरै थियो । सन् २०२२ मा अम्बेको व्यापार १ अर्ब २६ करोड ३० लाख रुपैयाँ थियो ।

तर त्यसपछिका वर्षहरमा भने अम्बेको व्यापार निरन्तर गिरावट आएको छ ।

सन् २०२३ मा यो कम्पनीको व्यापारमा आधाभन्दा धेरैको गिरावट भएर ५७ करोड ७० लाखको कारोबार भएको थियो । सन् २०२४ मा भने यसको व्यापारमा भारी गिरावट भएर १५ करोड ६० लाख रुपैयाँको मात्रै व्यापार भएको छ ।

प्रिमियम मूल्यमा आईपीओ ल्याएको घोराही सिमेन्टको पनि व्यापारमा कमी देखिएको छ । व्यापारिक समूह त्रिवेणी समूह र विशाल ग्रुपको स्वामित्व रहेको घोराही सिमेन्टको व्यापारमा सन् २०२१ यता निरन्तर गिरावट आइरहेको छ ।

गत असारमा घोराही सिमेन्टले सय रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता ४३५ रपैयाँका दरले साधारण सेयर आईपीओ निष्कासन गरेको थियो ।

तर आईपीओ निकालेको कम्पनीको व्यापारमा ५ अर्ब ७३ करोड १० लाख रपैयाँको थियो । सन् २०२१ मा भने व्यापारमा केही वृद्धि भएर ५ अर्ब ८५ करोड ७० लाख रूपैयाँको कारोबार भएको थियो । तर त्यसपछि भने कम्पनीको व्यापारमा निरन्तर गिरावट आएको छ ।

सन् २०२२ मा कम्पनीको व्यापार ५ अर्ब ४ करोड २० लाख रुपैयाँको थियो । सन् २०२३ मा ४ अर्ब ७९ करोड १० लाख रुपैयाँको व्यापार गरेको घोराही सिमेन्टले सन् २०२४ को पहिलो ९ महिनामा ३ अर्ब १० करोड रुपैयाँको व्यापार गरेको छ ।

अधिकांश सिमेन्ट कम्पनीको व्यापारमा गिरावट आइरहँदा रिद्धि सिद्धी सिमेन्टको व्यापारमा भने केही सुधार देखिएको छ । सन् २०२३ मा व्यापार गिरावट भोगेको कम्पनीले सन् २०२४ मा भने केही राहत पाएको छ ।

सन् २०२१ मा ६ अर्ब ३७ करोड रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२२ मा ६ अर्ब ४८ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०२३ मा यसको व्यापारमा गिरावट आएर ५ अर्ब ४६ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो । अघिल्लो वर्षको तुलनामा सन् २०२३ मा व्यापारमा गिरावट भोगेको कम्पनीले सन् २०२४ मा भने केही वृद्धि गरेको छ । व्यापारिक समूह शंकर र अम्बे ग्रुपको सामूहिक भेन्चरका रुपमा रहेको यो कम्पनीको व्‍यापारमा केही वृद्धि आएको हो।

सन् २०२४ मा कम्पनीले ५ अर्ब ८१ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ ।

के हो कारण ?

व्यापारमा गिरावट आउनुको कारणका रुपमा रेटिङ कम्पनीले विभिन्न पक्षहरुलाई जिम्मेवार देखाएको छ । केयर रेटिङका अनुसार सिमेन्ट कम्पनीको व्यापारमा कमी आउनुको कारण विदेशी मुद्रा सटहीमा हुने उतारचढावका साथै प्रतिस्पर्धी बजार तथा नेपाल विद्युत प्राधिकरणले दाबी गरेको ट्रंकलाइनको महसुल तथा विद्युत आपूर्तिको समस्या रहेको छ ।

नेपाल विद्युत प्राधिकरणले सन् २०१६ अप्रिलदेखि सन् २०१८ को अप्रिलसम्म डेडिकेटेड ट्रंक लाइनको महसुल नतिरेको भन्दै विभिन्न उद्योगको विद्युत आपूर्ति काट्दा व्यापारमा समेत कमी आएको केयरले जनाएको छ ।

त्यसका साथै सिमेन्ट बजारमा अत्याधिक प्रतिस्पर्धा रहेको र मौसमी मागहरु हुने भएकाले उतारचढाव हुने भएकाले यसले पनि सिमेन्ट उद्योग व्यापारमा गिरावट देखिएको छ ।

त्यस्तै अर्थतन्त्रमा आएको सुस्ततापछि निर्माणको काममा कमी आउँदा सिमेन्टको व्यापारमा कमी आएको व्यवसायी बताउँछन्।


क्लिकमान्डु