यसकारण बढिरहेको छ सुनको भाउ, शक्तिशाली देशले यति धेरै किन किन्दैछन् ?



मध्यपूर्वमा तनाब बढिरहँदा पछिल्लो समय चिनियाँ केन्द्रीय बैंक सबैभन्दा धेरै सुन खरिदकर्ता बनेको छ । तर पनि सबैभन्दा धेरै सुन संचय गर्ने देशको सूचीमा चीन ७औं नम्बरमा छ । कुन देशसँग छ सबैभन्दा धेरै सुन ? किन बढिरहेको छ सुनको मूल्य ?

काठमाडौं । प्यालेस्टाइनका पूर्वप्रधानमन्त्री तथा हमासका प्रमुख नेता इस्माइल हानिया इरानी यसै साता इजरायलको क्षेप्यास्त्र आक्रमणबाट मारिए । जुन घटनाबारे विद्रोही समूह हमासले इजरायललाई लक्षित गर्दै ‘छलकपटपूर्ण यहुदी आक्रमण’ मा हानिया मारिएको टिप्पणी गरेको छ ।

हानियासँगै उनका अंगरक्षक पनि मारिएका थिए । प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बासले पनि हानियाको हत्याको कडा शब्दमा निन्दा गरेका छन्। उनले प्यालेस्टिनीहरूलाई इजरायलले अतिक्रमण गरे पनि एकजुट र कटिबद्ध रहन आह्वान गरेका छन् ।

हानियाको हत्याकै कारण अब मध्यपूर्वका अन्य देशहरुमा पनि यसको असर पर्ने भन्दै विश्लेषकहरुले बताइरहेका छन् । जवकि हानियाको हत्या हुनुभन्दा केही घन्टाअघि मात्रै हेजबुल्लाहका एक प्रभावशाली नेता फौद सुकर लेबनानमा मारिएका थिए । यस्ता श्रृंखलाबद्ध घटनाहरुसँगै यतिबेला मध्यपूर्व अशान्त बनेको छ ।

पछिल्लो समय मध्यपूर्वमा बढिरहेको तनाबले विश्व राजनीतिलाई तरंगित पारिरहँदा त्यसले सुन लगायतका धातुको व्यापारलाई प्रत्यक्ष असर पारिरहेको बताइन्छ । विशेषगरी सुनको कारोबारलाई त्यसले प्रभावित बनाइरहेको छ । र यो असर नेपालसम्मै आइपुगेको छ ।

पछिल्लो समय सुनको मूल्य तीब्र रुपमा बढिरहँदा नेपाल सुनचाँदी व्यवसायी महासंघले पनि मध्यपूर्वको तनाबका कारण यस्तो अवस्था आएको बताएको छ । पछिल्लो एक साताको अवस्था हेर्दा नेपालमा सुनको मूल्यले नयाँ रेकर्ड नै बनाएको छ । यसका लागि केही कमजोर अमेरिकी आर्थिक आँकडा र फेडरल रिजर्भको कमजोरीका कारण भनिए पनि सुनचाँदी व्यवसायी महासंघले प्रमुख रुपमा मध्यपूर्वमा बढ्दो तनावलाई नै कारण मानेको छ ।

साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ लाख २४ हजार ९ सय १५ रुपैयाँ रहेको सुनको मूल्य साता भरको उतार चढावपछि साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार हालसम्मकै उच्च हुने गरी प्रति १० ग्राम १ लाख २८ हजार ५ सय १५ रुपैयाँ कायम भएको छ ।

जुन मूल्य अनुसार एकै साताको अवधिमा प्रति १० ग्राम ३ हजार ६ सय रुपैयाँ वृद्धि भएको छ। यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि बढेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ हजार ७ सय ४० रुपैयाँ रहेको मूल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार ७ सय ९५ रुपैयाँ कायम भयो ।

अर्थात् पछिल्लो बुधबार एकै दिन तोलामा १ हजार ८ सयले वृद्धि भएको छ । जुन अहिलेसम्मकै उच्च वृद्धि थियो । यसैगरी पछिल्लो एक साताको सुरुको दिन आइतबार सुनको मूल्य तोलाको १ लाख ४५ हजार ७ सय रहेकोमा साताको अन्तिम दिन शुक्रबार तोलाको १ लाख ४९ हजार ९ सय पुगेको छ। यसरी हेर्दा यो साता सुनको मूल्य तोलामा ४ हजार २ सय वृद्धि भयो ।

बिहीबार सुन तोलाको १ लाख ४९ हजार ४ सय रहेकोमा शुक्रबार भने तोलामा ५ सयको वृद्धिसँगै तोलाको १ लाख ४९ हजार ९ सय पुगेको छ । अर्थात् अब सुन तोलाको डेढ लाख नजिक पुगेको छ ।

किन यति तीब्र बढिरहेको छ सुनको मूल्य ?

सामान्यतया सुनको मूल्य अन्तर्राष्ट्रिय बजार अनुरुप नै नेपालमा पनि मूल्य तोकिएको हुन्छ। तर पछिल्लो समय सुनको मूल्य वृद्धि भएको विषयले नेपाल मात्रै नभएर विश्वका अन्य धेरै देशमा यसले चर्चा पाइरहेको छ ।

पछिल्लो २०२३ को डिसेम्बरदेखि २०२४ को अप्रिलसम्मको ५ महिनाको अवधिलाई हेर्ने हो भने ५ महिनाको उक्त अवधिमा सुनको मूल्यमा प्रति १० ग्राम ११ हजारले वृद्धि भयो ।

सुनको उत्पादन सीमित हुन्छ । तर पछिल्लो समय सुनको माग अत्यधिक रुपमा यसको मूल्यमा पनि तीब्र रुपमा वृद्धि भएको बताइएको छ । विशेषगरी विभिन्न देशमा युद्ध र तनाब बढिरहँदा चीन, अमेरिका, भारत जस्ता देशका केन्द्रीय बैंकहरुले सुनको सञ्चय बढाइरहेका छन् । अर्थात् ती देशहरुले सुनको माग पहिलेभन्दा धेरै बढाइरहेका छन् ।

दोस्रो ठूलो अर्थतन्त्र भएको चीनको केन्द्रीय बैंकले मात्रै २०२२ को नोभेम्बरदेखि हालसम्म २ वर्षभन्दा कम अवधिमा करिब ३५० टन सुन खरिद गरिसकेको छ ।

२०२३ मा मात्रै चीन विश्वकै सबैभन्दा धेरै सुन खरिद गर्ने देशको रुपमा रह्यो । त्यसो त चीन सबैभन्दा धेरै सुन उत्पादन गर्ने देशको रुपमा चिनिन्छ । तैपनि उसले खरिद पनि धेरै नै गरिरहेको हुन्छ । यस वर्षको जनवरीदेखि अप्रिलसम्म मात्रै चीनले २८.९ टन सुन खरिद गरेको छ ।

तर पछिल्लो दुई महिना मे र जुनको सुरुमा खरिद कम गरे पनि जुनको अन्त्यसम्म भने चीनले २ हजार २ सय ६४ टन सुन संचय गरिसकेको छ । यसरी हेर्दा चीनले कोरोना महामारीभन्दा पहिलेको समय २०१८ को अन्त्यमा सुन संचय गरेको तुलनामा हाल २२ प्रतिशतले बढी सुन सञ्चय गरेको हो ।

चीनमा पछिल्लो समय घरजग्गाको व्यापार र सेयर बारोबारमा शिथिलता आएर व्यवसायीहरु निरुत्साहित भइरहँदा आम व्यवसायी तथा उपभोक्ताहरु पनि सुरक्षित लगानीको रुपमा सुनको खरिद बढाइरहेका छन् । त्यसो त चिनियाँ केन्द्रीय बैंकले अप्रत्यसित रुपमा सुनको संचय बढाइरहनुलाई कतिपयले आलोचना पनि गर्दै आएका छन् ।

यसैगरी भारतको केन्द्रीय बैंकले २०२४ को मार्चमा मात्रै ५ टन सुन खरिद गरेको छ । र यस वर्षको सुरुको ३ महिनामा भारतीय केन्द्रीय बैंकले १९ टन सुन खरिद गरिसकेको छ । जवकि २०२३ को वर्षभर भारतले जम्मा १६ टन सुन खरिद गरेको थियो ।

यसैगरी पछिल्लो १० महिनाको अवधि हेर्दा सबैभन्दा ठूलो सुन खरिदकर्ता पोल्यान्डको केन्द्रीय बैंक थियो । त्यसपछि टर्की थियो भने तेस्रोमा भारतको केन्द्रीय रिजर्भ बैंक थियो ।

विश्व सुन काउन्सिलको तथ्यांक अनुसार २०२३ मा मात्रै विश्वभरका केन्द्रीय बैंकहरुले १ हजार ३७ टन सुन खरिद गरेका थिए । २०२३ मा चीन सबैभन्दा ठूलो सुन खरिदकर्ता देश भए पनि यसको संचय भने अमेरिकासँग धेरै छ ।

सबैभन्दा धेरै कुन देशसँग छ सुन ?

मध्यपूर्वको तनाब र डलरको भाउमा आउने उतारचढावका कारण धेरै देश तथा वित्तीय संस्थाहरुले सुनको खरिद पनि तीब्र रुपमा बढाइरहेका छन् । वर्ल्ड गोल्ड काउन्सिलको मे महिनाको पछिल्लो तथ्यांक अनुसार अमेरिकासँग ८ हजार १ सय ३३ टनभन्दा धेरै सुन संचय छ । जुन समग्र संचयको ७२.६ प्रतिशत हो ।

यसैगरी जर्मनीसँग ३ हजार ३ सय ५१ टनभन्दा धेरै सुन संचय छ । जुन ७१. ८ प्रतिशत हो । यस्तै अन्तर्राष्ट्रिय मुद्रा कोषसँग २ हजार ८ सय १४ टन सुन संचय छ । इटालीसँग २ हजार ४ सय ५१ टन सुन संचित छ ।

यसपछि क्रमश फ्रान्स, रुस र चीन भने सातौं नम्बरमा छ । जससँग २ हजार २ सय ६४ टनभन्दा धेरै सुन संचित छ । यद्यपि पछिल्लो समय तीब्र रुपमा सुन खरिद गर्ने देशमा भने चीन सबैभन्दा अगाडि छ । यसैगरी छिमेकी देश भारत १०औं नम्बरमा छ । जसको साथमा ८३१ टन सुन संचित छ । यो संचय समग्र सुनको ९.५ प्रतिशत हो ।

जब २०१५ पछि चीनले अमेरिकासँगको तनाबका कारण आफ्नो डलरको संचय घटाएको थियो त्यसपछि उसले सुन संचयमा आफूलाई केन्द्रित गरेको बताइन्छ । यसरी २०१५ देखि २०१६ को अवधिमा मात्रै चीनले ८ सय टन सुन संचय गरेको थियो ।

यसवाहेक २०२४ को दोस्रो ६ महिनामा अमेरिकामा राष्ट्रपति चुनावसँगै त्यहाँको सरकारले संघीय ऋणको सीमा बढाउने तयारी भइरहँदा चीनले भने त्यस अवधिमा थप सुन खरिदलाई तीब्रता दिनसक्ने विश्लेषकहरु बताउँछन् ।


क्लिकमान्डु