मौद्रिक नीतिबाट बैंकर मक्ख !



काठमाडौं । शुक्रबार सार्वजनिक मौद्रिक नीतिबाट बैंकरहरु खुसी देखिएका छन् । बैंकहरुले अपेक्षा गरेअनुसार मौद्रिक नीतिले सुविधा दिएपछि तथा अर्थतन्त्र पनि चलायमान हुने गरी मौद्रिक उपकरण र नियामकीय हेरफेरको उद्घोष गरेकाले बैंकिङ क्षेत्रले मौद्रिक नीतिको सराहना गरेको हो ।

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठनका नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले अर्थतन्त्रको सुस्तताले निम्त्याएको मागमा कमीको स्थितिलाई मौद्रिक नीतिले सम्बोधन गरेको बताए । मौद्रिक नीतिमार्फत् गरिएको उद्घोषले अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग हुने उनको बुझाइ छ ।

‘पछिल्लो समय बैंकिङसँग सम्बधित ३ समस्या थिए,’ एनएमबि बैंकका सीईओसमेत रहेका केसीले मौद्रिक नीतिमाथि प्रतिक्रिया दिँदै भने, ‘अर्थतन्त्रमा आएको सुस्तताका कारण बैंकको निष्क्रिय कर्जा बढ्दो थियो भने नोक्सानी व्यवस्थाका कारण प्रोफिटाबिलिटीमा समस्या आइरहेको थियो । त्यसलाई सम्बोधन गर्न राष्ट्र बैंकले आवश्यक पहल गरेको छ ।’

क्यापिटल एडुक्वेसी फ्रेमवर्कमा संशोधनको घोषणा गर्नु, रेगुलेटरी रिटेल पोर्टफोलियोको सीमा साढे २ करोड बनाउनु, रिगुलेटरी रिजर्भको रकम टियर टु क्यापिटलमा गणना गर्न पाउनु, असल कर्जाको प्रोभिजन १.१ प्रतिशत गरे पुग्नु जस्ता प्रावधानले बैंकहरुलाई साथ मिल्ने केसीले बताए ।

‘असल कर्जाको प्रोभिजनबारे हाम्रो केही बढी अपेक्षा थियो, त्यो भएन तर खुसी नै छौं,’ केसीले भने, ‘कर्जा नियमित भएको ६ महिनासम्म पनि निष्क्रिय वर्गमा राख्नुपर्ने व्यवस्था फेरिएर वाचलिस्टमा राख्न पाउने गरिएको छ । यसले बैंकर र ऋणीलाई पनि सपोर्ट गर्ने छ ।’

एसेट म्यानेजमेन्ट कम्पनी (ब्याड बैंक) स्थापनको प्रक्रिया अघि बढाउने घोषणा निकै सराहनीय रहेको अध्यक्ष केसी बताउँछन् । अध्यक्ष केसीका अनुसार नीतिगत दर घटाउने व्यवस्थाले कर्जाको ब्याजदर सामान्य घटाउनेछ तर स्थायी तरलता सुविधाको दर नघटाएकाले राष्ट्र बैंक सन्तुलनमै बस्न खोजेको देखिन्छ ।

निर्माण व्यवसायलाई दिइएको सुविधाले अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने उनको बुझाइ छ । निर्माण क्षेत्रले बैंकिङलाई पनि अप्ठेरोमा पारेको भन्दै मौद्रिक नीतिको व्यवस्थाले खुसी बनाएको टिप्पणी अध्यक्ष केसीले गरे ।


क्लिकमान्डु