पुँजी नपुगेका ९ बिमा कम्पनीले जगेडा कोषको पैसा गणना गर्न पाउने



काठमाडौं । बिमा प्राधिकरणले चुक्ता पुँजी नपुगेका ९ बिमा कम्पनीलाई पुँजी पुर्याउनका लागि जगेडा लगायतका कोषमा भएको रकम गणना गर्न दिने भएको छ ।

प्राधिकरणले २०८१ असार मसान्तसम्ममा जीवन बिमा कम्पनीलाई ५ अर्ब र निर्जीबन बिमा कम्पनीलाई २ अर्ब ५० कराड रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको थियो ।

पुँजी नपुगेका कम्पनीहरुले तोकेको पुँजी पुुर्र्याउन हकप्रद सेयरको सहारा लिने योजना बनाएका थिए । त्यसै अनुरुप ५ जीवन तथा ४ निर्जीवन बिमा कम्पनीले धितोपत्र बोर्डमा निवेदन पनि दिएका थिए । तर, हाल धितोपत्र बोर्डमा अध्यक्ष नभएका कारण यी कम्पनीहरुले हकप्रद सेयर निष्कासन गर्न पाएका छैनन् ।

हकप्रद सेयर निष्कासन गर्न नपाएर तोकेको समयमा तोकिएको पुँजी पुर्याउन नसक्ने भएपछि तत्कालका लागि नियामक निकाय बिमा प्राधिकरणले जगेडा लगायत अन्य विभिन्न कोषमा रहेको रकम गणना गरेर पुँजी पुर्याउन गत साता कम्पनीहरुलाई परिपत्र गरिसकेको छ ।

प्राधिकरणका प्रवक्ता सुसिलदेव सुवेदीका अनुसार कम्पनीहरुले चाँहदा चाँहदै पनि पुँजी पुर्याउन नसकेका कारण बाधा अडकाउ फुकाउनका लागि कोषमा रहेको रकम गणना गर्न दिन लागिएको हो ।

यसका लागि गत साता पुँजी नपुगेका कम्पनीलाई परिपत्र जारी गरिसकेको सुवेदीले क्लिकमाण्डुलाई बताए ।

अहिले अरु विकल्प नभएका कारण कोषको रकम गणना गर्न दिएको र आगामी आवमा सम्बन्धित कम्पनीले पुँजी पुर्याउने अघि बढाएको प्रकृया (हकप्रद सेयर निष्कासन) पुरा गर्नुपर्ने प्राधिकरणको निष्कर्श छ ।

जीवन ४ र निर्जीबन ५ वटा कम्पनीले नियामक निकाय बिमा प्राधिकरणको निर्देशन बमोजिम चुक्ता पुँजी पुर्याउन बाँकी छ ।
चुक्ता पुँजी नपुगेका कम्पनीमा लाइफ इन्स्योरेन्स कर्पोरेशन, एशियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, सानिमा जीआईसी र नेपाल इन्स्योरेन्स कम्पनी रहेका छन् ।

लाइफ इन्स्योरेन्स कर्पोरेशनले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ हकप्रद सेयर निष्काशन गर्न लागेको छ ।

यस्तै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ७३ करोड ३ लाख २० हजार रुपैयाँको हकप्रद सेयर निष्कासन गर्न लागेको छ ।
प्रभु इन्स्योरेन्सले ८३ करोड ५० लाख १३ हजार ५४४ रुपैयाँ, नेको इन्स्योरेन्सले ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ र एनएलजीले ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँको हकप्रद सेयर निष्कासन गर्नका लागि बोर्डमा आवेदन दिएका छन् ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ, सानिमा जीआईसी कम्पनीले ५० करोड, र नेपाल इन्स्योरेन्सले ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँको हकप्रद सेयर निष्कासन गर्न बोर्डमा निवेदन दिएका छन् ।


क्लिकमान्डु