बाढी पहिरोका कारण १ अर्बको नोक्सान: ६ वटा पुलमा क्षति, दर्जनौं सडक भत्किए

१०१ जनाले गुमाए ज्यान



काठमाडौं । केही दिनयताको लगातारको वर्षाका कारणको बाढी र पहिरोले भौतिक पूर्वाधार र जनधनको क्षति भएको छ । बाढी र पहिरोले सडक तथा पुल भत्कदा १ अर्ब रुपैयाँ बढीको क्षति भएको छ ।

देशमा मनसुन भित्रिएसँगै परेको अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपद्मा परी हालसम्म १ सय एक जनाले ज्यान गुमाएका छन् । गत जेठ २८ गतेदेखि असार २८ गते बिहान ८ बजेसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परी १ सय एक जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले बताए ।

असार महिना सुरु भएसँगैको अबिरल वर्षाका कारण देशभरको विभिन्न स्थानमा खसेको पहिरो र बाढीले गर्दा प्रमुख राजमार्ग, सहायक राजमार्ग र पुलहरु भत्किँदा यो रकम हाराहारीमा क्षति भएको हो ।

सडक विभागका अनुसार अहिलेकै अवस्थामा निरन्तर रुपमा वर्षाका साथै पहिरो र बाढी आइरहने हो भने सडक तथा पुलतर्फ अझै ठूलो परिमाणमा क्षति हुन सक्छ ।

विभागले शुक्रबार बिहानसम्म देशभरको सडक र पुलको अवस्थाबारे तथ्यांक संकलन गरी सार्वजनिक गरेको विवरणअनुसार शुक्रबार बिहानसम्म ३१ वटा राजमार्ग अवरुद्ध भएर यातायात ठप्प भएको थियो ।

पहिरो र बाढीका कारण देशभरको ३१ राजमार्गको २ सय ६० स्थानमा अवरोध सिर्जना भएको थियो । जसमध्ये हाल १ सय १७ स्थानका सडकमा दुवैतर्फ यातायात सेवा सुचारु भएको छ भने १ सय २४ स्थानमा एकतर्फी मात्रै यातायात सेवा सुचारु भएको छ ।

विभागअनुसार अहिले पनि ६ मुख्य राजमार्गको १६ स्थानमा अवरुद्ध कायमै छ ।

बाढी पहिरोका कारण सडक पूर्वाधारतर्फ मात्रै करिब ११ करोड रुपैयाँबराबरको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको विभागले जनाएको छ । यसैगरी बाढी पहिरोका कारण शुक्रबार बिहानसम्म ६ वटा पुल क्षतिग्रस्त हुँदा २८ करोड रुपैयाँबराबरको क्षति भएको प्रारम्भिक चरणको तथ्यांक निकालिएको छ ।

‘अहिले क्षतिको विवरण सतही मात्रै आएको हो,’ विभागको एक अधिकारीले भने,‘वर्षात रोकिएपछि इन्जिनियरको टोलीले वैज्ञानिक रुपमा अध्ययन गरेपछि योभन्दा दोब्बर परिमाणमा क्षतिको विवरण आउँछ ।’

विभागकाअनुसार असार २ गते ३ स्थानको पुल क्षतिग्रस्त भएको थियो । पुष्पलाल(मध्य पहाडी) राजमार्गअन्तर्गत चिवा भञ्जयाङ गणेश चौक खण्डमा ३ वटा आरसीसी पुल क्षतिग्रस्त भएको छ । ओयाम खोला आरसीसी पुल, फलामे खोला आरसीसी पुल र नुवा खोला पुल क्षतिग्रस्त विभागलाई २२ करोड ५० लाख रुपैयाँबराबरको नोक्सानी भएको छ ।

यस्तै असार ४ गते तमोर करिडोर क्षेत्रअन्तर्गत चतरा–मुलघाट–अमरापुरडाँडा–गणेशचोक खण्डमा हेवा खोलाको बेलिब्रिज क्षतिग्रस्त भएको छ । त्यसैगरी असार १० गते उत्तर दक्षिण कोशी सडक आयोजनातर्फ लेघुवाघाट–तुम्लिङटार–खाँदवारी–नुम–किमाथाङ्का खण्डमा एकुवा खोलाको आरसीसी पुल पनि ध्वस्त भएको छ ।

यसैगरी असार २४ गते पूर्व पश्चिम महेन्द्र राजमार्ग खण्डको सुदा खोलाको कल्भर्ट पुल पनि बाढीले बगाएको विभागले जनाएको छ ।

१५ स्थानमा अझै अवरुद्ध

विभागको तथ्याँक अनुसार १५ राजमार्गको १५ स्थानमा अवरुद्ध भएको सडक अझै सुचारु हुन सकेको छैन । असार १७ गते परेको अबिरल बर्षाका कारण आएको बाढी र पहिरोका कारण १५ स्थान पूर्ण रुपमा अवरुद्ध छ ।

एक्साभेटरले पहिरो हटाउँदा पनि निरन्तर रुपमा पहिरो गइरहने समस्याका कारण ति सडक खण्डहरु सुचारु हुन नसकेको हो।

डुम्रे–बेशीसहर–चामे सडक खण्डअन्तर्गत लमजुङ जिल्लाको तिमाङ, तानसेन–रिडी–कोरला सडक खण्डअन्तर्गत स्याङजा जिल्लाको रातोडाँडा बिसौना, पुष्पलाल(मध्य पहाडी) राजमार्गअन्तर्गत बागलुङ जिल्लाको काउछे मनेवा, तानसेन–रिडी–कोरलाअन्तर्गत बागलुङ जिल्लाको दब्याङ भिर खण्डमा अझै सडक अवरुद्ध छ ।

यस्तै पुष्पलाल(मध्य पहाडी) राजमार्गअन्तर्गत डोटीको रामपुरमा दुई स्थान, पुष्पलाल(मध्य पहाडी) राजमार्गअन्तर्गत तनहुँमा एक स्थान र पुष्पलाल(मध्य पहाडी) राजमार्गअन्तर्गत डोटीअन्तर्गत रदुवा सडक खण्ड अझै सुचारु हुन सकेको छैन ।


राजेश बर्मा