राष्ट्रपति चुनावको मुख्य मुद्दा आर्थिक एजेन्डा: अर्थतन्त्रका लागि ट्रम्प र बाइडेनले के-के गरे ?



ट्रम्प र बाइडेनबीच कडा बहस : आर्थिक वृद्धि, मुद्रास्फीति, रोजगारी सिर्जना, कामदारको ज्याला लगायत विषयमा दुईमध्ये कुन राष्ट्रपतिले के गरे ?

एजेन्सी । अमेरिकामा राष्ट्रपतीय निर्वाचनको बहसको क्रममा राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको बहस उनीहरुको कार्यकालमा अर्थतन्त्र सुधारको मुद्दामा केन्द्रित भयो ।

९० मिनेटसम्मको उक्त बहसको क्रममा अर्थतन्त्रलाई लिएर दुई नेताहरुको चर्को विवाद भयो । बाइडेनले कोरोना महामारीबाट अर्थतन्त्र उकास्ने काम गरेकोमा श्रेय लिए भने ट्रम्पले आफ्नो कार्यकालमा इतिहासकै सबैभन्दा ठूलो अर्थतन्त्रको नेतृत्व गरेको दाबी गरे ।

अर्थतन्त्रबारे दुबै नेताले आफ्ना कडा अडान र तर्कहरु राखेका थिए । तर जनमत सर्वेक्षणहरूबाट आएका रिपोर्टले के देखाउँछन् भने अर्थतन्त्रलाई बलियो बनाउने सवालमा आम मतदाताहरुले ट्रम्पलाई नै बढी विश्वास गरेका छन् ।

गत महिना जारी गरिएको एबीसी न्युज सर्वेक्षणका अनुसार ४६ प्रतिशत उत्तरदाताहरुले अर्थतन्त्र बलियो बनाउने सन्दर्भमा ट्रम्पलाई नै विश्वास गरेका थिए । जवकि वर्तमान राष्ट्रपति बाइडेनप्रति भरोसा राख्ने ३२ प्रतिशत मात्रै थिए ।

मुद्रास्फीतिको सवालमा ट्रम्पले ४४ प्रतिशत उत्तरदाताको समर्थन पाए भने बाइडेनले जम्मा ३० प्रतिशत । त्यसो त पछिल्लो समय अमेरिकामा बेरोजगारी, महंगी र मुद्रास्फीति लगायत मुद्दालाई लिएर बाइडेन आलोचित बन्दै आएका छन् ।

यसरी यसपटकको राष्ट्रपतीय निर्वाचनमा अमेरिकी मतदाताहरुले आर्थिक मुद्दालाई नै प्राथमिकता दिएको देखिन्छ । अर्थात् बाइडेन पुन:निर्वाचित हुने कुरालाई उनले अबको आर्थिक अवस्था सुधार्नसक्ने वा नसक्ने क्षमतामा नै निर्भर हुने देखिन्छ ।

आर्थिक वृद्धि

बाइडेन र ट्रम्प दुबैले बलियो आर्थिक वृद्धिको अवधिको मूल्यांकन गरे । बाइडेनको कार्यकाल सुरु भएपछि मुद्रास्फीतिको लागि समायोजन गर्दा घरेलु उत्पादन (जीडीपी) ८.४ प्रतिशतले बढेको छ ।

ट्रम्पको कार्यकालमा भने ६.८ प्रतिशत वृद्धि भएको थियो । तर यसमा कोरोना महामारीको प्रारम्भिक चरणको अवधि पनि स्मरण गर्नुपर्ने हुन्छ । अर्थात् महामारीको सुरुको अवस्था ट्रम्पले नै सामना गर्नु परेको थियो । सन २०२० बाहेकको अवस्थालाई हेर्दा बाइडेन २.९ प्रतिशतको वार्षिक वृद्धिदरसहित तुलनात्मक रुपमा अगाडि देखिन्छन् । ट्रम्पको कार्यकालमा भने २.७ प्रतिशतभन्दा कम वृद्धिदर थियो ।

मुद्रास्फीति

बाइडेनको कार्यकाल ट्रम्पको कार्यकालको तुलनामा उच्च मुद्रास्फीति भएको देखिन्छ । यद्यपि महंगीका लागि थुप्रै कारकहरु भएको मानिन्छ । जस्तै कोरोना महामारी सम्बन्धी आपूर्ति श्रृंखलामा देखिएको अवरोध बाइडेनको नियन्त्रण बाहिरको विषय मानिन्छ ।

तर बाइडेनले कार्यकाल सुरु गरेयता मूल्यवृद्धि १९ प्रतिशतभन्दा धेरैले बढेको छ । अमेरिकी श्रम विभागको तथ्यांक अनुसार जनवरी २०२१ देखि यस वर्षको बीचमा एक ग्यालिन (३.८ लिटर) पेट्रोलको औसत मूल्य २.३३ डलरबाट बढेर ३.७६ डलर पुगेको छ । एक पाउ रोटीको मूल्य १.५५ डलरबाट बढेर १.९७ डलरसम्म पुग्यो । यस्तै एक दर्जन अन्डाको मूल्य १.४७ बाट बढेर २.७० डलर पुगेको छ ।

यसैगरी ट्रम्पको कार्यकालमा ५ प्रतिशत मात्रै मूल्यवृद्धि भएको थियो । जवकि मुद्रास्फीति २०२२ को मध्यतिर ९.१ प्रतिशत पुगेपछि मुद्रास्फीतिमा निरन्तर रुपमा कमी आयो । जुन पछि लगातार उच्च देखिएको छ । गत महिना उपभोक्ता मूल्य सूचकांक ३.३ प्रतिशत थियो । जुन अमेरिकी फेडरल रिजर्भभन्दा लगभग २ प्रतिशतको लक्ष्यभन्दा धेरै हो ।

रोजगारी

बाइडेन र ट्रम्प दुबैले बलियो श्रम बजारको नेतृत्व गरेको दाबी गर्न सक्छन् । गत वर्ष जनवरीमा बेरोजगारी ५३ वर्षकै कम ३.४ प्रतिशतमा आयो । त्यसपछिको एक महिनालाई छाडेर बाँकी सबै महिनाहरुमा ४ प्रतिशतभन्दा कम नै बन्यो ।

२०२० लाई छाडेर ट्रम्पले पनि आफ्नो कार्यकालमा बेरोजगारी न्युन नै बनाएका थिए । जवकि २०१९ को अन्त्यतिर बेरोजगारी दर ३.५ प्रतिशतमा झरेको थियो । बाइडेनको कार्यकालमा १ करोड ५७ लाख जति नयाँ रोजगारी थपियो । ट्रम्पले राष्ट्रपति कार्यालय छाड्ने बेलासम्म बाइडेनको कार्यकाल भन्दा ३० लाख कम रोजगारी सिर्जना भएको थियो । जवकि उनले कार्यकालको अन्त्यतिर कोरोना महामारीको सामना गर्नुपर्‍यो ।

यद्यपि ट्रम्पको कार्यकालमा कोरोना महामारी सुरु हुनुभन्दा पहिलेको अवधिमा पनि रोजगारी सिर्जना हुने अवस्था (दर) बाइडेनको कार्यकालको भन्दा कम नै थियो ।

ज्याला

बाइडेन र ट्रम्प दुबैको समानता के देखिएको छ भने उनीहरु दुबैले कागजी रुपमा ज्याला वृद्धि गराए । तर बाइडेनको कार्यकालमा मुद्रास्फीतिका कारण अमेरिकी कामदारहरुको आय घटेको देखिन्छ ।

ट्रम्पको कार्यकालमा पनि ज्याला बढाइएको थियो । र यो मुद्रास्फीतिभन्दा माथि नै थियो । साथै न्युन रुपमा कामदारहरुको आय पनि बढेको थियो । २०२१ को मार्चदेखि उपभोक्ता मूल्य आम्दानीबाट अलग हन थाल्यो । जुन प्रवृत्ति २०२३ को सुरुमा उल्टियो ।

अमेरिकी श्रम विभागको तथ्यांक अनुसार के विश्लेषण गरिएको छ भने बाइडेनको कार्यकालको सुरुदेखि २०२४ को पहिलो त्रैमासको बीचमा वास्तविक औसत साप्ताहिक तलबमा २.१४ प्रतिशतले गिरावट आएको छ ।

यद्यपि पछिल्लो समय अमेरिकी कामारहरुको ज्याला फेरि बढ्न थालेको देखिन्छ । मे महिनामा वास्तविक ज्याला गत वर्षको तुलनामा ०.५ प्रतिशतले वृद्धि भएको छ । तैपनि बाइडेनले कार्यकालको सुरुको अवस्थामा पुग्न अझै संघर्ष गरिरहेका छन् ।

साथै पछिल्लो महिना वास्तविक ज्याला वृद्धि आंशिक रुपमा सकारात्मक बनेको छ। तर वास्तविक ज्यालाको स्तर अहिले पनि न्युन नै छ । चुनावको संघारमा अचानक मुद्रास्फीतिमा आएको वृद्धि नै राष्ट्रपति बाइडेनका लागि एक चुनौतीको विषय बनिरहेको छ ।

हालैको बहसमा दुई नेताहरु यही आर्थिक अवस्थालाई लिएर व्यक्तिगत रुपमा आरोपप्रत्यारोपमै उत्रिए । एकअर्कालाई उनीहरुले ‘लुजर’ भन्दै आक्रोश व्यक्त गरेका छन् । यसपटकको राष्ट्रपति निर्वाचनमा आर्थिक मुद्दासँगै आप्रवासनको मुद्दा पनि अर्को महत्त्वपूर्ण मुद्दा बनेको छ । यसबाहेक ट्रम्पले बाइडेनप्रति उमेरको विषय उठाएर असक्षमताको प्रश्न उठाए भने बाइडेनले पोर्नस्टारसँगको सम्बन्ध उठाएर नैतिकताको प्रश्न उठाए ।

अमेरिकी मतदाताहरु आर्थिक मुद्दामा नेताहरुको प्रस्ट योजना र नीति खोजिरहँदा दुई नेताहरुले भने पहिलो बहसमै निजी मामिलामा प्रवेश गरेर आक्रोश पोख्ने काम गरे । आर्थिक विकासको प्रतिबद्धताप्रति मतदाताले समर्थन नै गरे पनि निजी विषयको आरोपप्रत्यारोले उनीहरुलाई निराश बनाइदियो ।


क्लिकमान्डु