वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण साउनदेखि अनलाइन अनिवार्य हुन्छ : परराष्ट्रमन्त्री श्रेष्ठ



काठमाडौं, । वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण आगामी साउन १ गतेदेखि कार्यान्वयनमा आउने भएको छ ।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रवार साँझ विदेशस्थित नेपाली नियोगका प्रमुख तथा कर्मचारीको लागि आयोजित अभिमुखीकरण कार्यक्रममा निर्देशन दिँदै उक्त व्यवस्था बारे स्पष्ट पारेका हुन् ।

नयाँ व्यवस्था अनुसार रोजगारदाता कम्पनीले नेपालवाट कामदार लैजाने नियोगसमक्ष पेश गरेको आवश्यक कागजातहरु साउन १ गते देखि अनलाइन मार्फत प्रमाणीकरण हुने भएकोले सेवाप्रवाह समयानुकुल तथा चुस्त हुने लक्ष्य राखिएको छ ।

सरकारले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा यस सेवालाई आवद्ध गरी नयाँ व्यवस्था लागू गर्न लागेको हो ।

खाड़ी मुलुक तथा मलेसियालगायत नेपाली कामदार माग हुने अन्य देशहरूमा रहेका नेपाली राजदुतावासहरुले साउन १ गते देखि मागपत्र प्रमाणीकरण अनिवार्य रुपमा अनलाइनमार्फत गर्नुपर्ने बताउँदै परराष्ट्रमन्त्री श्रेष्ठले भने,’सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउने सरकारको नीति अन्तर्गत यो व्यवस्था लागू गरिएको हो । अनिवार्य रूपमा लागू गर्न अघि नै नयाँ प्रणालीसँग अभ्यस्त हुन परीक्षण सुरु गर्दा हुन्छ ।’

परराष्ट्रमन्त्री श्रेष्ठले समस्यामा परेका नेपाली नागरिकहरुको खोजतलाश र उद्दार, मृतको शव झिकाउने, राहत र क्षतिपूर्ति, गुनासो सम्बोधन लगायतका अनलाइन सेवालाई सबै नियोगहरुले अनिवार्य रूपमा प्रयोगमा ल्याउने व्यवस्था गर्न पनि निर्देशन दिए ।


क्लिकमान्डु