प्रधानमन्त्री प्रचण्डलाई बाबुरामको ज्ञापनपत्र: बुढीगण्डकी करिडोर विकास प्राधिकरण गठन गर्नू



काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले बुढीगण्डकी करिडोर बहुउद्देश्यीय आयोजना सम्पन्न गर्नका लागि बुढीगण्डकी करिडोर विकास प्राधिकरण गठन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा बुढीगण्डकी करिडोर बहुउद्देश्यीय आयोजनालाई विद्युत प्राधिकरण अन्तर्गतको सहायक कम्पनीको रुपमा रहेको कमजोर संरचना खारेज गर्न माग गरिएको छ ।

अधिकार र साधनस्रोत सम्पन्न बुढीगण्डकी करिडोर विकास प्राधिकरण तुरुन्त गठन गर्न माग गरिएको पूर्वप्रधानमन्त्री डा. भट्टराईले जानकारी दिए । त्यस्तै प्राधिकरणमार्फत समग्र बुढीगण्डकी करिडोर विकासका कामहरु तीब्रतासाथ अगाडि बढाउन माग गरिएको छ । आयोजना प्रभावित नागरिकहरुका जायज मागहरुलाई पनि यथाशीघ्र सम्बोधन गर्न ज्ञापनपत्रमार्फत माग गरिएको छ ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. भट्टराईले भने, ‘अहिलेजस्तो विद्युत प्राधिकरण अन्तर्गत एउटा सहायक कम्पनीबाट यो बन्न सक्दैन । त्यो भनेको नबनाउने कुरा हो । आलटाल गर्दै गएर यो अब बन्न सकेन भनेर जुन चलखेलका आशंका हिजोदेखि भएका थिए, त्यसलाई बल पुर्‍याउनेगरी यसलाई तुहाउने अथवा बनाइहाले पनि सानो जलविद्युत आयोजनाको रुपमा बनाउने । त्यतातिर जाँदैछ भन्ने हामीलाई लाग्छ, त्यसो भएको हुनाले गम्भीरतापूर्वक यो विषय उठाएका छौँ । उहाँहरुले चाहेमा संसदमार्फत बुढीगण्डकी विकास प्राधिकरण ऐन ल्याएर यसलाई अगाडि बढाउन सक्नुहुनछ । हामीले भदौ मसान्तसम्मको समय दिएका छौँ । माग पूरा गर्नु भएन भने सरोकारवाला त्यहाँका जनतासँग मिलेर हामी आन्दोलनमा जान्छौँ ।’

पूर्वप्रधानमन्त्री भट्टराईले आफूहरुका माग भदौ महिनाभित्र पूरा नभए असोज १ गतेदेखि सशक्त आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।


क्लिकमान्डु