मोलासेस निर्यातमा परिमाणात्मक बन्देज हटाउन माग



काठमाडौं । नेपाल चिनी उद्योग संघले मोलासेस निर्यातमा सरकारले लगाएको प्रतिमाणात्मक बन्देज खारेज गर्न माग गरेको छ ।

संघले अर्थमन्त्री बर्षमान पुनलाई ज्ञापन पत्र बुझाउँदै मोलासेस निर्यातमा रहेको ५० प्रतिशत परिमाणात्मक बन्देज खारेज गरी शतप्रतिशत निर्यात गर्न बाटो बनाइदिन आग्रह गरेको छ । संघका अध्यक्ष शशिकान्त अग्रवालका अनुसार हाल उत्पादन भएको मोलासेसको ५० प्रतिशत मात्रै निर्यात गर्न पाइने गरी परिमाणात्मक बन्देज लगाइएको छ ।

‘मोलासेसलाई लामो समयसम्म भण्डारण गरेर राख्न मिल्दैन,’ अग्रवालले भने,‘स्वदेशमा उत्पादन भएको मोलासेस शतप्रतिशत निर्यात नहुँदा ठूलो परिमाणमा नष्ट गर्नुपर्ने बाध्यता छ । केही समयको लागि मोलासेस भण्डारण गर्दा गुणस्तर नष्ट हुनुका साथै सम्पूर्ण परिमाणमा निर्यात गर्ने नीति नहुँदा पर्याप्त परिमाणमा विदेशी मुद्रासमेत आर्जन गर्न सकिएको छैन ।’

अन्तःशुल्क निर्देशिका २०६८९संशोधित २०७९० को दफा ५.१.११.६ को उपदफा २ मार्फत सरकारले मोलासेस निर्यात गर्न सक्ने व्यवस्था गरेको छ । उपदफा २ को (ख)ले चिनी उद्योगबाट मंसिरदेखि चैतसम्मको अवधीमा उत्पादन हुने कुल मोलासेसको ५० प्रतिशत सञ्चित गरी बाँकी ५० प्रतिशतसम्म निर्यात गर्न दिने व्यवस्था गरेको छ ।

अग्रवालका अनुसार पछिल्लो समयमा यो नीतिको अपव्याख्या गी आन्तरिक राजस्व कार्यालयहरुले स्वदेशमा समेत बिक्री गरिएको मोलासेसको परिमाण घटाएर बाँकी रहेको मोलासेसको ५० प्रतिशत मात्र निर्यात गर्न अनुमति गर्ने व्यवस्था गरेको छ । यसले गर्दा निर्यायमा ठूलो अवरोध सिर्जना भएको उनले बताए ।

स्वदेशमा मोलासेसको खपत मदिरा उद्योगका साथै दाना उद्योगहरुमा हुँदै आएको छ ।

‘तर पछिल्लो समयमा प्रायः मदिरा उद्योगहरु अन्नबाट नै मदिरा उत्पादन गर्न थालेको र दाना उद्योगहरु धरासायी हुँदै गएकाले स्वदेशमा मोलासेसको खपत निक्कै घटेको छ,’ अग्रवालले भने, ‘यस्तो अवस्थामा कित शतप्रतिशत परिमाणमा निर्यात गर्न दिनु पर्यो । कित नष्ट गर्नुपर्यो । यो बाहेक अन्य विकल्प छैन ।’

सबै चिनी उद्योगहरु शतप्रतिशत क्षमतामा चलेको अवस्थामा उखु क्रसिङ्ग गर्दा ४.५ प्रतिशत मोलासेस उत्पादन हुन्छ । यस्तो मोलासेसलाई डिस्टिलेसन गर्दा १ः०.२ को अनुपातमा स्प्रिट वा इथानोल उत्पादन हुन्छ । यो आधारमा वार्षिक ५१.५६ मेट्रिक टन उखु क्रसिङ्ग गर्दा ४.६४ लाख मेट्रिक टन चिनी, २.३२ लाख मेट्रिक टन मोलासेस, ०.४६ लाख किलोलिटर इथानोल उत्पादन हुने उद्योग विभागको एक अध्ययनले देखाएको छ ।

भन्सार विभागको तथ्याँक अनुसार पछिल्लो साउनदेखि बैशाखसम्मको अवधीमा नेपालबाट ४१ करोड ७५ लाख ६५ हजार रुपैयाँबराबरको १ करोड ९८ लाख ८५ हजार किलो मोलासेस भारत र बंगलादेशमा निर्यात भएको छ ।


क्लिकमान्डु