शरणार्थी क्याम्पबाट उठेर अर्बपति बनेकी महिला: रेस्टुरेन्टमा फालेको रोटी चियासँग खान्थिन्



शरणार्थी शिविरमा जन्मिएर हुर्किएकी तहानी अबुराने रेस्टुरेन्टमा फालिएका रोटी जम्मा पारेर खाँदै रात कटाउने गर्थिन् । अहिले एक सफल व्यवसायी, व्यवसायिक फन्ड रेजरको रुपमा विश्वभर हजारौं मानिसलाई कसरी लगानी गर्ने र पैसा कसरी सदुपयोग गर्ने भन्ने विषयमा तालिम दिन्छिन् । लोभलाग्दो सफलतासँगै १७ अर्ब ४९ करोडको मालिक बन्ने तहानी को हुन् ?

एजेन्सी । तहानी अबुरानेको संघर्ष र साहसको कथा विश्वका जोसुकैलाई प्रेरणादायी लाग्ने गर्छ । जुन २० अर्थात् विश्व शरणार्थी दिवस । यस अवसरमा संसारका लाखौं शरणार्थीहरुले उनको संघर्ष पक्कै स्मरण गरेको हुनुपर्छ ।

तहानी अबुराने क्यानडाको एक सशक्त र सफल रियल इस्टेट व्यावयासी हुन् । रियल इस्टेटमा लगानीको विषयमा उनले एक मोटिभेसनल स्पिकरको रुपमा धेरैलाई नयाँ तरिका र सीप सिकाइसकेकी छन् । उनको एक पुस्तक प्रकाशित छ। जुन अमेजनको बेस्ट सेलर सूचीमा छ । उनले यसबीचमा हजारौं मानिसहरुलाई आफ्नो सफलता र संघर्षको कथा सुनाइसकेकी छन् ।

पछिल्लो समय उनले ‘फिमेल इन रियल इस्टेट मोभमेन्ट’ नामको नामको संस्था पनि चलाउँदै आएकी छन् । जसले महिलाहरुलाई रियल इस्टेट लगानीमा मार्फत् वित्तीय स्वतन्त्रता सिर्जना कसरी गर्ने भन्ने विषयमा सीप सिकाउने गर्छ ।

तहानीको संस्थाले सधैँ महिलाहरुलाई आर्थिक रुपमा स्वावलम्वी र बलियो बनाउन प्रयत्न गर्छ । तहानी भन्छिन्, “म विश्वास गर्छु कि हरेक महिलाले आफ्नो वर्तमान परिस्थिति वा अनुभवको स्तरलाई ध्यान दिएर घर जग्गामा लगानी मार्फत सक्षम बन्न सक्छन् ।” शरणार्थी क्याम्पमा जन्मिएकी तहानीको १५ वर्षको उमेरमै आफ्नो जानकारी बिना मागी विवाह भएको थियो । हाल उनी एक सफल उद्यमी तथा मल्टी मिलिनियर डलर सम्पत्तिको मालिक बनिसकेकी छन् । अर्थात् उनीसँग दसौं लाख अमेरिकी डलर सम्पत्ति छ ।

यससँगै तहानी अचेल पोडकास्ट र टिभी शो मार्फत् पनि आफ्ना कुराहरु सुनाइरहेकी हुन्छिन् । तहानीले महिलाहरुकै लागि ‘वुमेन एन्ड मनी’ नामको कोर्स नै सिकाउने गर्छिन् । एक शरणार्थी क्याम्पबाट उठेर तहानीले सफल व्यवसायीसँगै विश्वभर हजारौं मानिसलाई सीप सिकाउने प्रेरणादायी व्यक्तिको परिचय कसरी बनाइन् ? यो धेरैका लागि रोचक चासोको विषय बनिरहन्छ ।

लामो समय शरणार्थी रहेकी अबुराने शरणार्थी क्याम्पबाट मुक्त भएर अहिले क्यानडाको रियल इस्टेल व्यवसायमा प्रभाव जमाइरहेकी छन् । उनी त्यस्तो महिला हुन् जो शरणार्थी जीवनबाट मुक्त भएर व्यवसायमा सफलता हासिल गर्दै मल्टि मिलिनियर डलर अर्थात् करोडौंको मालिक बनेकी छन् ।

शरणार्थीको रुपमा रहँदा पनि अबुरानेले कहिल्यै मनस्थिति कमजोर बनाएकी थिइनन् । त्यही साहसले उनलाई अहिले सफल व्यवसायी बनाएको छ । ‘शरणार्थी क्याम्पमा जीवन सजिलो थिएन । पहिले त म शरणार्थी क्याम्पमा बसिरहँदा पनि कहिल्यै आफू गरिब भएको महसुस गरिनँ,’ तहानीले भनेकी छन् । तिनै दिनहरुको संघर्षले उनी आफूलाई व्यवसायमा पनि संघर्ष गर्न सिकाएको बताउँछिन् ।

कुनै समय रेस्टुरेन्टमा फालिएका रोटी जम्मा पारेर खाँदै रात कटाउने तहानीको साथमा अहिले १३ करोड १० लाख अमेरिकी डलर सम्पत्ति छ । एक सफल व्यवसायी, व्यवसायिक फन्ड रेजर र जब मेकरको रुपमा यसरी सफल बन्ने शरणार्थीहरुमा सम्भवत उनी एक्लो महिला हुन् ।

को हुन् तहानी अबुराने ?

तहानी बाल्यकालमा जोर्डनको एक शरणार्थी क्याम्पमा जीवन बिताइन् । त्यसबेला उनी रेस्टुरेन्टमा गएर फ्याँकिएका रोटो संकलन गर्थिन् । तहानीले भनेकी छन्, ‘हामीसँग खानका लागि केही हुँदैनथ्यो । रेस्टुरेन्टमा फालिएका रोटी जम्मा गरी चियामा चोबेर त्यही रोटी खाने गर्थ्यौं ।’ तर ती दिनहरुको स्मरण गर्दा उनकी आमा अहिले पनि ठट्टा गर्छिन्, ‘धन्य हामी भाग्यमानी थियौं । किनकि हामीले कम्तीमा रोटी र चिया पाएका थियौं ।’ जवकि अरु शरणार्थीहरुका लागि यति सुविधा पनि नहुने गरेको तहानी बताउँछिन् ।

आज पनि तहानी आफ्ना सन्तानहरुलाई खाने कुराहरु बाँडेर खान सिकाउँछिन् । बाल्यकालमा जतिबेला तहानी शरणार्थी शिविरमा बस्थिन्, त्यसबेला उनको करिअरका लागि पनि सीमित विकल्प मात्रै थियो । जब उमेर बढ्दै गयो अरुलाई पढाउने कुरामा उनी आकर्षित भइन् । त्यसबेला उनी शिक्षिका बन्न चाहन्थिन् । तर एउटा आश्चर्यपूर्ण घटनाले उनको जीवनमा नाटकीय परिवर्तन ल्याइदियो ।

मागी विवाहपछि फेरियो जीवन :
पारिलो घाम लागेको एक दिन सामान्य रुपमा तहानी आफ्नो निवास फर्किँदै थिइन् । तर घरमा पार्टी हुँदै गरेको उनले थाहा पाइन् । ‘र मलाई अचम्म लाग्यो कि घरमा त मेरो विवाहको तयारी भइरहेको थियो ।’ जवकि उनको संस्कारमा मागी विवाह सामान्य नै मानिन्थ्यो । त्यस घटनाले उनी अहिलेसम्म पनि आफू अचम्मित भइरहने बताउँछिन् ।

र त्यही दिन थियो जसले तहानीको जीवन सधैँका लागि परिवर्तन गरिदियो । ‘त्यस दिनको घटनाले मेरो जीवनलाई सधैंको लागि परिवर्तन गर्‍यो । किनभने मैले १५ वर्षको उमेरमै भर्खरै आफ्नै विवाह देखेको मात्रै थिइनँ, मैले अब धेरै टाढा जानुपर्छ भनेर पनि सिकेको थिएँ,’ तहानीले भनिन् ।

उनलाई जोर्डनको शरणार्थी शिविरमा आफ्ना आमाबाबुसँग बस्नभन्दा क्यानडामा विवाहित महिलाको रुपमा जान निकै गाह्रो महसुस भएको थियो । जहाँ धेरै सांस्कृतिक भिन्नता र भाषाको समस्या थियो । त्यस कुराबाट भाग्नुको सट्टा उनले आफ्नो स्कुलको अध्ययन निरन्तर बढाउनेतर्फ ध्यान दिइन् ।

सानो उमेरमै कसैले केही नसिकाउँदा पनि उनले कुकिज र मिठाइहरु पकाएर भाइहरूलाई बेच्नको लागि बजार पठाउँथिन् । किनकि जोर्डनमा युवतीलाई बजारमा गएर सामान बेच्न अनुमति थिएन । विवाहपछि उनले बिजनेस म्यानेजमेन्टमा डिग्री हासिल गरिन् । त्यसबीचमा उनका दुई सन्तान भइसकेका थिए।

समय यति कठिन थियो कि, उनी पहिलो सन्तान भएको चार महिनासम्म स्कुल जाँदै थिइन् । पढाइ र घर व्यवहार चलाउँदै उनले क्यासियरको रुपमा पार्ट टाइम जब पनि गर्न थालेकी थिइन् । त्यसपछि उ कम उमेरमै उनी आफ्ना बाआमालाई केही पैसा पठाएर सहयोग गर्न सक्ने भइसकेकी थिइन् । कलेज समेपछि पनि तहानीले विभिन्न माध्यमबाट आफ्नो सिकाइलाई भने रोकिनन् ।

कलेजको पढाइपछि पनि तहानीले झन ठूला चुनौतीको सामना गर्नुपर्‍यो । “जब मैले डिप्लोमा गरिसकेकी थिएँ त्यसपछि पनि म बाहिर गएर काम गर्न सक्दैनथेँ । किनकि म आमा बनिसकेकी थिएँ,” तहानी भन्छिन्,
“म काम गर्न चाहन्थेँ । तर एक आमाको रुपमा मसँग थोरै मात्र विकल्प थिए ।” यसबीचमा उनका श्रीमान र उनी मिलेर जोर्डनबाट आमाबा र परिवारका अन्य सदस्यलाई क्यानडा नै लगिसकेका छन् ।

यस क्रममा दाजुको सानो व्यवसायबाट तहानीले रियल इस्टेटबारे बुझ्ने मौका पाइन् । उनले दाजुलाई त्यस व्यवसायलाई अझै ठूलो बनाउन सल्लाह र हौसल्ला दिइन् । व्यवसाय बढाउने शिलशिलामा उनी धेरै बैंक धाइन् । कठिन मेहनतपछि एउटा बैंकले ऋणका लागि सहयोग गर्ने भयो । अन्तत दाजुको त्यही व्यवसायले तहानीको परिचय बनाइदियो ।

ग्राहकहरुसँग तहानी आफैं डिल गर्थिन् । खासमा दाजुको अर्कै पसल थियो । तर ग्राहकहरुसँग कुराकानी गरेर प्रभावित पार्न सकेको देखेर दाजुले उनलाई रियल इस्टेट व्यवसाय गर्न सुझाव दिए । “त्यतिन्जेल रियल इस्टेटमा लगानी गर्नेबारे मसँग कुनै आइडिया थिएन । तर म काममा सिक्दै जान तयार थिएँ,” तहानी भन्छिन् ।

विस्तारै उनको व्यवसाय फस्टाउँदै गयो । अहिले उनी रियल इस्टेटमा कसरी लगानी गर्ने र पैसालाई कसरी सदुपयोग गर्ने भन्ने विषयमा युवाहरुलाई प्रेरणामुलक जानकारी दिने गर्छिन् । अहिले पनि उनी विभिन्न भिडियो, जानकारीमुलक सामग्री र कोर्स अध्ययन गरिरहन्छिन् ।

अहिले उनलाई शरणार्थी क्याम्पमा बस्नु परेकोमा हिनताबोध छैन । बरु त्यसलाई सिकाइ र संघर्षको रुपमा लिने गर्छिन् । यस्तै लगनशीलता र निरन्तरतालाई उनी एक बलियो अस्त्र मान्छिन् ।


क्लिकमान्डु