तलब माग गर्दै अमेजनविरुद्ध १५ सय डेलिभरी ड्राइभरको मुद्दा



एजेन्सी । अमेजनका १५०० कन्ट्र्याक्ट ड्राइभरहरुले अमेजन कम्पनीविरुद्ध नियमित पारिश्रमिकको माग गर्दै मुद्दा दायर गरेका छन् । उनीहरुले आफूहरुलाई न्युनतम पारिश्रमिक दिएर जागिरे बनाउनुको सट्टा ठेकेदारको रुपमा व्यवहार गरेको भन्दै मुद्दा दायर गरेका हुन् ।

दसौं लाख अमेरिकीहरु अनौपचारिक अर्थव्यवस्थामा निर्भर रहँदै आएका छन् । उनीहरु लिफ्ट, उबर, डुरडास र इन्स्टाकार्ट जस्ता डेलिभरी गर्ने एपहरुमार्फत फ्रिलान्सिङ गर्दै आएका छन् । तर अमेरिकामा अनौचारिक क्षेत्रको काम पछिल्लो समय अत्यधिक लोकप्रिय बन्दै आएको छ ।

तीमध्ये धेरैजसो कामदारहरुले आफूहरु वास्तविकतामा जागिरे भएको र आफूहरुलाई कम्पनीले ठेकेदारको रुपमा नभएर जागिरेको रुपमा व्यवहार गर्नुपर्ने बताउँदै आएका छन् । र नियमित जागिरेले जस्तै आफूहरु पनि नियमित सेवा सुविधा लिन हकदार रहेको उनीहरुको भनाइ छ ।

अमेरिकामा हाल कन्ट्र्याक्टर र कामदारको परिभाषाबारे यसअघि बहस भएका छन् । क्यालिफोर्नियामा यसअघि नै परेको मुद्दालाई लिएर कानुनमाथि भएको बहसमा डेलिभरी ड्राइभरहरुलाई पनि न्युनतम आम्दानी र सेवा सुविधा उपलब्ध गराएर स्वत्नत्र ठेकेदारको रुपमा व्यवहार गर्न कम्पनीलाई अनुमति दिइएको थियो ।

२०१५ मा सुरु भएको अमेजन फ्लेक्सले आफ्ना सामान प्याकेजहरु डेलिभरी गर्नका लागि स्वतन्त्र कन्ट्र्याक्टरहरुलाई प्रयोग गर्न सक्ने अनुमति पाएको थियो । फ्लेक्स ड्राइभरहरुले भने अमेजनले तयार पारेका ग्रोसरी तथा अन्य सामानहरु उही दिन डेलिभरी गर्दै आएका छन् । तर अमेजनले ड्राइभरहरुलाई स्वतन्त्र ठेकेदारको रुपमा वर्गिकरण गरेपछि ती ड्राइभरहरुले ओभरटाइमको पारिश्रमिक, माइलेज र फोनको खर्चलगायतका शीर्षकमा रकम पाउनुपर्ने भन्दै आएका छन् ।

यस मुद्दाका जानकार वकिलहरुका अनुसार पहिले पनि अमेरिकी मध्यस्थ संघविरुद्ध ४५० उजुरी परेका थिए । अमेजनविरुद्ध मुद्दा दायर गर्ने क्यालिफोर्निया, म्यासाचुसेट्स र इलिनोइजका ड्राइभरहरूले ती राज्यहरूमा कर्मचारीको गलत वर्गीकरणका बारेमा कानुनहरू धेरै स्पष्ट भएको बताएका छन् । यी तीनवटा राज्यले त्यहाँ कार्यरत कामदारहरुलाई रोजगारदाताबाट पारिश्रमिक पाउने कानुनी अधिकार प्रदान गरेको उनीहरुको तर्क छ ।

अमेजनले भने ड्राइभरहरुलाई आफ्नै तालिका तय गरेर प्रतिस्पर्धाको आधारमा आफैं मालिक बन्ने अवसर दिएको दाबी गरेको छ । साथै डेलिभरी साझेदारहरुबाट उनीहरुले कार्यक्रमको लचिलोपन मन पराउने प्रतिक्रिया सुनेको पनि अमेजनले उल्लेख गरेको छ । यस्तै अमेजनले आफ्नो वेबसाइटमा अधिकांश चालकहरुले प्रतिघण्टा १८ देखि २५ अमेरिकी डलर कमाउने गरेको उल्लेख गरेको छ । विश्वकै दोस्रो धनी उद्यमीको रुपमा परिचित अमेरिकी व्यवसायी जेफ बेजोस अमेजनका मालिक हुन् । उनलाई फोर्ब्सले सर्वाधिक धनी व्यक्तिहरुको सूचीको दोस्रो नम्बरमा राखेको छ ।


क्लिकमान्डु