कैलाश सिरोहिया पक्राउपछि नागरिकताको विषयलाई लिएर कयौं व्यवसायीमा त्रास



काठमाडौं । नागरिकता प्रकरणमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया प्रकाउ परेपछि कयौं व्यवसायीमा नागरिकतालाई लिएर त्रास सिर्जना भएको छ ।

मंगलबार जिल्ला अदालत धनुषाले सिरोहियालाई प्रकाउ गर्न अनुमति दिएपछि प्रहरीले उनलाई कान्तिपुर मिडिया ग्रुपको प्रधानकार्यालयबाट नियन्त्रणमा लिएको थियो ।

बुधबार अदालतले सिरोहियालाई ३ दिन थुनामा राख्न अनुमति दिएको छ ।

दुईवटा नागरिकता नम्बर प्रयोग गरेको आरोप लगाउँदै प्रहरीले सिरोहियालाई नियन्त्रणमा लिएपछि कयौं व्यवसायीहरुले आफ्नो नागरिकताको विवरणको विषयमा चासो राख्न थालेका हुन् ।

नागरिकता लिने क्रममा नागरिकता नम्बरमा त्रुटी भए/नभएको, ढड्डामा भएको विवरण र नागरिकतामा उल्लेख विवरण फरक भए/नभएको, प्रतिलिपि लिएको अवस्थामा प्रतिलिपिमा उल्लेख विवरण र सुरु नागरिकताको विवरण एउटै भए/नभएको जस्ता विषयमा आफूहरुले चासो राख्न थालेको एक व्यवसायीले बताए ।

‘जिल्ला प्रशासन कार्यालयमा सबै विवरण बुझाएर नागरिकता लिएका कैलाशजीलाई दुईवटा नागरिकता नम्बर प्रयोग गरेको आरोप लगाउँदै प्रहरीले नियन्त्रणमा लिएपछि मेरो नागरिकतामा पनि कतै त्रुटी छ कि भनेर एकिन गर्न लगाएको छु,’ एक व्यवसायीले क्लिकमान्डुसँग भने, ‘सरकारले प्रतिशोध लिन चाह्यो भने राज्यको गल्तीमा पनि आममानिसलाई नियन्त्रणमा लिन सक्ने रहेछ । त्यसैले मेरो विवरण के छ भनेर हेर्न लगाएको हुँ ।’

२०२० र २०६३ सालमा अंगिकृत नागरिकता लिएका व्यवसायीहरु समेत सिरोहिया प्रकाउ परेपछि चिन्तित देखिएका छन् ।

‘सिरोहियाले गलत विवरण बुझाएर वंशजको नागरिकता लिएको आरोप लगाउँदै प्रहरीले नियन्त्रणमा लिएको हामी डराउनु पर्ने थिएन । किनभने गलत बिवरण बुझाएको प्रमाणित भए कसुर ठहर हुन्थ्यो । विवरण झुटा नदेखिए सफाइ मिल्थ्यो,’ अर्का एक व्यवसायीले भने, ‘यहाँ त राज्य आफैंले दिएको नागरिकता नम्बर अर्को व्यक्तिसँग मिलेको, ढड्डामा जानकारी नभएको जस्ता आरोप लगाएर कैलाशजीलाई नियन्त्रणमा लिएको छ । यो घटनाबाट राज्यले शक्ति प्रयोग गर्न चाह्यो भने जुनसुकै व्यक्तिविरुद्ध पनि गर्न सक्छ भन्ने सन्देश दिएको छ।’

अहिले जस्तो प्रविधिको युगमा नागरिकता नम्बर दुईवटा देखियो भन्दै सरकारले कुनै पनि नागरिकलाई प्रकाउ गर्नु गलत भएको नागरिकता सम्बन्धी कानुनका जानकार एक सचिव बताउँछन् ।

‘यदी नागरिकता लिन नमिल्ने व्यक्तिले गलत विवरण बुझाएर नागरिकता लिएको भेटिए कानुनअनुसार कारबाहीको दायरामा ल्याउनु पर्छ,’ ती सचिवले भने, ‘प्रहरी लगाएर पहिला पक्राउ गर्ने त्यसपछि अनुसन्धान गर्ने परम्परा नै त्रुटीपूर्ण छ ।’

राज्यका निकायसँग भएको प्रमाणको पर्याप्त अनुसन्धान नगरी सञ्चारमाध्यमबाट कुनै व्यक्तिलाई पक्राउ गर्दैछौं भन्ने हल्ला गर्नुबाट शासकको रुची कानुन कार्यान्वयभन्दा पनि चर्चामा बढी रहेको देखिने एक पूर्वसचिव बताउँछन् ।

‘२०६६ सालभन्दा अघि जारी भएका धेरै हस्तलिखित नागरिकतामा समस्या छ । त्यसैले राज्यले कानुन नै बनाएर सही विवरण बुझाएर नागरिकता लिएका व्यक्तिको नागरिकतामा केही त्रुटी भए सबै प्रकारका विवरण सच्चाउन सकिने र यदी कसैको नाममा दुईवटा नागरिकता नम्बर देखिए एउटा नागरिकता कायम गर्ने व्यवस्था गर्नुपर्छ,’ ती पूर्वसचिवले भने, ‘अहिले राष्ट्रिय परिचयपत्र समेत बनिरहेकाले नागरिकतामा भएका सबै विवरण सच्चाउन दिने गरी कानुनी व्यवस्था बनाउने उपयुक्त समय हो । एक पटकका लागि राज्यको सबै विवरण सिस्टममा राख्न सकियो भने भविष्यमा नागरिकता सम्बन्धी समस्या कम हुँदै जाला । होइन भने राज्यले पछि लागेर अनुसन्धान गर्ने हो भने कयौं व्यक्तिको नागरिकताको विवरणमा समस्या देखिन सक्छ ।’

नागरिकता लिन गलत विवरण दिनेलाई र राज्यले दिएको नागरिकता गलत विवरण भएको कसुरलाई एउटै रुपमा हेर्न नहुने एक प्रमुख जिल्ला अधिकारी बताउँछन् ।

‘गलत विवरण दिएर नागरिकता लिनु गम्भीर अपराध हो,’ ती प्रमुख जिल्ला अधिकारीले भने, ‘तर, राज्यले दिएको नागरिकतामा विवरण त्रुटीपूर्ण हुनुमा सेवाग्राहीको दोष हुँदैन ।’


क्लिकमान्डु