श्रीमतीले छोडेपछि छोरा छोरीसहित ट्याक्सीमै बस्थे कृष्ण, गाडीभाडा दिएर रिचेनलाई आत्महत्या गर्न पठाए !



काठमाडौं । काठमाडौंको कागेश्वरी नगरपालिका-५ स्थित थलीमा मृत भेटिएका ५४ वर्षीय कृष्ण नगरकोटीको छोराले पनि आत्महत्या प्रयास गरेको खुलेको छ ।

कृष्णका छोरा रिचेनले जेठ ७ गते चोभार चाल्नाखेलमा ब्लेडले घाँटी काटेर आत्महत्याको प्रयास गर्दै गर्दा प्रहरीले उद्धार गरेको जनाएको छ ।

प्रहरीकाअनुसार कागेश्वरी ५ स्थित मिलनचोक ओरालोमा बन्दै गरेको सडकको पर्खाल नजिक कृष्णको शव आज बिहान फेला परेको थियो ।

प्रहरीका अनुसार नगरकोटी बिगत १५ वर्षदेखि ट्याक्सी चलाउँदै आएका थिए ।

श्रीमतीले छाडेपछि उनी छोरी रश्मि र छोरा रिचेनसहित काठमाडौंको रवि भवन, गणेशथानमा कोठा लिएर बस्दै आएका थिए।

ट्याक्सी चलाउँदै आएको भए पनि आर्थिक अभावमा उनीहरुले कोठाभाडा तिर्न नसकेपछि तीन महिनायता उनी छोरा छोरीसहित ट्याक्सीमै बस्दै आएको प्रहरीले जनाएको छ ।

कृष्णका छोरा रिचेन र छोरी रश्मी दुबैको मानसिक अवस्था साधारण नदेखिएको प्रहरीले जनाएको छ ।

जेठ ७ गते बिहान १० बजे सेतोपुल नजिक ट्याक्सी बिग्रिएकोले मिस्त्री बोलाएर ल्याउँछु भन्दै कृष्णले २८ वर्षीया छोरी रश्मीलाई त्यही छोडी छोरा रिचेनलाई साथमा लिएर गएका थिए ।

पारिवारिक अवस्था, गरिबी लगायतले जिन्दगीबाट दिक्क भएर छोरासमेतलाई आत्महत्याको लागि मुखमा कपडा राखि ब्लेडले घाँटी काट्ने तरिका सिकाएर २ वटा ब्लेड र १२५ रुपैयाँ गाडी भाडा दिएर दक्षिणकालीको जंगलमा गई आत्महत्या गर्नु म पनि कुनै स्थानमा गएर आत्महत्या गर्छु भनि बाबुले पठाएको बयान प्रहरीसमक्ष छोरा रिचेनले दिएका छन् ।

रिचेनको घाँटीको बायाँ भागमा ७/८८ सेन्टिमिटर लामो ब्लेडले काटिएको डोब छ भने मृतक कृष्णको दाहिने हातको बुढीऔंला र चौर औंलाको रिडमा ब्लेडले काटेको देखिएको प्रहरीले जनाएको छ । कृष्णको शव नजिक ४ वटा ब्लेड र रिचेनको साथबाट २ वटा ब्लेड फेला परेको प्रहरीले जनाएको छ ।

बा १ ज ९६५ नंको ट्याक्सी र छोरी रश्मि नगरकोटीलाई खोज गर्ने क्रममा सेतोपुल सडक खण्डमा ट्याक्सीभित्र बसिरहेको अवस्थामा उद्धार गरि जिल्ला प्रहरी परिसरमा राखिएको प्रवक्ता नवराज कार्कीले बताए ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी बृत्त बौद्धवाट थप अनुसन्धान भइरहेको उनले बताए ।


क्लिकमान्डु