एक दशक अघिसम्म उच्च नाफा रहेको भुटानसँग पछिल्ला वर्ष करोडौंको व्यापारघाटा



काठमाडौं । करिब ४ गुणा सानो देश भुटानसँग नेपालले वार्षिक करौडौंको व्यापारघाटा व्यहोर्दै आएको पाइएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार भुटानसँग पछिल्लो एक दशकदेखि नेपालले करौडौंको व्यापारघाटा व्यहोर्दै आएको हो ।

समान भूबनोट र भौगोलिक अवस्था, मिल्दोजुल्दो संस्कृति, नेपाली भाषी समेत रहेका भुटानसँग नेपालको वैदेशिक व्यापारमा निकै कमजोर देखिन्छ । भुटानसँग वार्षिक करौडौंको व्यापारघाटा व्यहोर्दै आएको तथ्याङ्कले पनि नेपालबाट निकै कम मात्रामा निर्यात हुने गरेको पाइन्छ ।

नेपालले भुटानसँगको वैदेशिक व्यापारमार्फत् उच्च नाफा कमाउने सम्भावना हुँदाहुँदै पनि उत्पादनमा जोड दिन नसक्दा व्यापार झनै खस्किँदै गएको हो । सन् १९६९ मा कुटनीतिक सम्बन्ध कायम भएको छिमेकी मुलुक भुटानसँग नेपालले सन् १९८३ मा मात्रै कुटनीतिक व्यापार सम्झौता गरेको थियो ।

व्यापार सम्झौता गरेको करिब ४ दशक वितिसक्दा नेपालले भुटानसँग वार्षिक डेढ अर्बको हाराहारीमा वैदेशिक व्यापार गर्दै आएको छ । नेपालले एक दशक अघिसम्म भुटानसँगको वैदेशिक व्यापारबाट उच्च नाफा कमाएको थियो । तर अहिले आयात बढी निर्यात कम हुँदा वर्षेनी व्यापारघाटा चुलिँदो अवस्थामा पुगेको छ । नेपालले पछिल्लो १५ वर्षमा भुटानसँग १७ अर्ब ८१ करोड ८६ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ ।

१५ वर्षमा नेपालले ५ अर्ब ७८ करोड ४६ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको छ भने भुटानबाट १२ अर्ब ३ करोड ३९ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ । जसमा नेपालले सो अवधिमा ६ अर्ब २४ करोड ९२ लाख रुपैयाँको व्यापारघाटा व्यहोरेको विभागको तथ्याङ्कले देखाउँछ ।

नेपालले आर्थिक वर्ष २०६६/६७ मा १ अर्ब ६८ करोड ७९ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको थियो । नेपालले उक्त वर्ष १ अर्ब ५५ करोड ४८ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको थियो । सोही अवधिमा नेपालले भुटानबाट १३ करोड ३१ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ । जसमा नेपालले वैदेशिक व्यापारबाट १ अर्ब ४२ करोड १६ लाख रुपैयाँ नाफा कमाएको छ ।

नेपालले लगातार आर्थिक वर्ष २०६९/७० सम्म भुटानसँगको वैदेशिक व्यापारबाट नाफा कमाएको थियो । तर त्यसपछि भने नेपालले निरन्तर घाटा व्यहोर्दै आएको छ ।

नेपालले आव २०६७/६८ मा ५३ करोड ७७ लाख रुपैयाँको वैदेशिक व्यापार गर्दा नेपालले ३१ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यसैगरी आव २०६८/६९ मा ७९ करोड ३२ लाख रुपैयाँको वैदेशिक व्यापार गर्दा २९ करोड ४४ लाख रुपैयाँ र आव २०६९/७० मा ६० करोड ६९ लाख रुपैयाको वैदेशिक व्यापार गर्दा ६ करोड ८ लाख रुपैयाँ नाफा कमाएको विभागले जनाएको छ ।

तर त्यसपछि भने नेपालले वार्षिक करौडौंको व्यापारघाटा व्यहोर्दै आएको छ । नेपालले आव २०७०/७१ मा ४५ करोड २७ लाख रुपैयाँको वैदेशिक व्यापार गर्दा २५ करोड ३६ लाख रुपैयाँ व्यापारघाटा व्यहोरेको थियो । विभागअनुसार नेपालले आव २०७१/७२ मा ५२ करोड ७१ लाख वैदेशिक व्यापार गर्दा २८ करोड ४४ लाख रुपैयाँ, आव २०७२/७३ मा ३९ करोड ५१ लाख रुपैयाँ, आव २०७३/७४ मा ४५ करोड ४० लाख रुपैयाँ, आव २०७४/७५ मा १ अर्ब ५६ करोड १९ लाख रुपैयाँ र आव २०७५/७६ मा १ अर्ब ५१ करोड १३ लाख रुपैयाँ नेपालले व्यापारघाटा व्यहोरेको थियो ।

त्यसैगरी भुटानसँगको वैदेशिक व्यापारबाट नेपालले आव २०७६/७७ मा ९९ करोड ५५ लाख रुपैयाँ, आव २०७७/७८ मा ५६ करोड ७० लाख रुपैयाँ, आव २०७८/७९ मा ८५ करोड ४० लाख रुपैयाँ, आव २०७९/८० मा ८५ करोड ४० लाख रुपैयाँ र आव २०८०/८१ को चैत मसान्तसम्ममा ४६ करोड ७१ लाख रुपैयाँ व्यापारघाटा व्यहोरेको छ ।

नेपाल भुटानबीच के के हुन्छ आयात/निर्यात ?

नेपालले भुटानबाट विशेषगरी सिमेन्ट उत्पादन गर्न आवश्यक जीपसम आयात गरेको पाइन्छ । चालु आवको चैत मसान्तसम्ममा मात्रै नेपालले भुटानबाट ८९ करोड ९३ लाख रुपैयाँको जीपसम आयात गरेको छ । त्यस्तै भुटानबाट नेपालले ६३ लाख रुपैयाँको प्लास्टर, १५ लाख रुपैयाँको भान्साको टेबरवेयर, ३१ लाख रुपैयाँको अगरबत्ति, ५६ लाख रुपैयाँको सिलिकोनसहित अन्य विभिन्न वस्तु कम मात्रामा आयात गरेको पाइन्छ ।

त्यस्तै नेपालले चालु आवको चैतसम्ममा भुटानमा ३४ करोड ५९ लाख रुपैयाँकफ स्ल्याग अर्थात् स्टिलजन्य सामाग्री बनाउन प्रयोग हुने कच्चा पदार्थ निर्यात गरेको छ । विभागअनुसार नेपालले २४ लाख रुपैयाँको पास्ता, ४ करोड ५९ लाख रुपैयाँको कुरकुरे, ५४ लाख रुपैयाँको फुड प्रिपेरेशन, ८९ लाख रुपैयाँको रेडिमेड गार्मेन्ट, १ करोड ५८ लाख रुपैयाँको क्यास रजिष्टर, १५ लाख रुपैयाँको ट्रान्समिटर, १ करोड ५ लाख रुपैयाँको लेन्सेस, ४१ लाख रुपैयाँको स्पेक्ट्रोमिटर, ३६ लाख रुपैयाँ साँस्कृतिक म्यूजिकल सामग्री र २९ लाख रुपैयाँको पेन्टिङ निर्यात गरेको छ ।


क्लिकमान्डु