४१७ मेगावाटको नलगाडमा लगानी गर्न भारतीय सरकारी कम्पनी इच्छुक, २ खर्ब लगानी चाहिने



काठमाडौं । भारत सरकारको स्वामित्व रहेको कम्पनी नेशनल थर्मल पावर कर्पोरेशन लिमिटेड (एनटीपीसी) ले जाजरकोट नलगाड जलविद्युत् आयोजना निर्माणमा इच्छा देखाएको छ ।

तेस्रो लगानी सम्मेलनमा कम्पनीले आयोजनामा लगानी गर्ने इच्छा देखाएको हो । आइतबारदेखि सुरु भएको लगानी सम्मेलन सोमबार सकिएको छ । सोमबार सम्मेलन सकिँन लाग्दा कम्पनीले नलगाडमा लगानीको गर्ने इच्छा प्रकट गरेको हो । ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतसँग समेत कम्पनीका प्रतिनिधीहरुले छलफल गरेका छन् ।

लगानी बोर्डको कार्यालयका सहसचिव बाबुराज अधिकारीले विभिन्न कम्पनीहरुले नलगाडमा चासो देखाएको बताए । उनका अनुसार लगानी सम्मेलनमा नलगाड र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा लगानीको इच्छा प्रकट भएको छ । लगानी बोर्डको कार्यालयका अनुसार निजगढमा जापानीज बैंकले लगानीको इच्छा देखाएको हो ।

प्रस्तावित जलविद्युत् आयोजना जाजरकोटको नलगाड नदीमा पहिचान भएको छ । यो आयोजना नलगाड नगरपालिका-२, ५, ७ र ८ तथा बोरेकोट गाउँपालिका-१,२,५,६,७,८ र ९मा निर्माण हुनेछ । आयोजनाबाट १ हजार १७२ घरपरिवारका ७ हजार २८४ जना प्रभावित हुनेछन् ।

विस्तृत अध्ययन पूरा भएको आयोजनाका लागि सरकारले लगानी खोजिरहेको थियो । लगानी जुटाउन नसक्दा आयोजना निर्माण अघि बढेको थियो । सोही क्रममा लगानी बोर्डको कार्यालयले लगानी सम्मेलनमा आयोजना शोकेस गरेको थियो ।

आयोजनाको साइट कार्यालय

यो जलाशययुक्त प्रकृतिको जलविद्युत् आयोजना हो । यो आयोजनाले वार्षिक ३६५५ गिगावाट आवर विद्युतीय ऊर्जा उत्पादन  गर्न सक्छ । सुक्खायाममा ६०४.९ गिगावाट आवर उत्पादन गर्न सक्छ ।              

यो आयोजनाको विस्तृत अध्ययन ७ वर्ष लागेर स्मेक र एमडब्लुएच र नेपाली कम्पनी उदय कन्सल्ट्यान्टले अध्ययन पूरा गरेको हो ।

३१ महिनमा सक्ने गरी २०७३ सालमा ठेक्का पाएको थियो । विभिन्न बाहाना बनाएर कम्पनीले काम गर्न नसकेको हो । लामो समय अध्ययन प्रक्रिया नै अलपत्र परेको थियो ।

भारतीय नाकाबन्दी, पहुँचमार्गको अभाव,कोभिड-१९ को संक्रमण लगायतका कारणहरु देखाएर काम अलपत्र परेको थियो । कम्पनीका तत्कालीन प्रमुख कार्यकारी अधिकृत तथा सहसचिव सुनिल पौडेलले ठेक्का तोड्ने चेतावनी दिएपछि कम्पनीले तिव्रता दिएर पूरा गरेको हो । यो आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) प्रतिवेदन वन तथा वातावरढ मन्त्रालयबाट स्वीकृत भइसकेको छ ।

नलगाड नदी

यो आयोजनाको सन् २०१२ मा नै सर्वे भएको थियो ।१ खर्ब २३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । अहिले यो लागत करिब २ खर्ब रुपैयाँ हुने अनुमान छ ।  

निर्माण थालेको ६ वर्षमा पूरा गर्न सकिने अध्ययन प्रतिवेदनमा उल्लेख छ । साढे ८ किमी सुरुङमार्ग निर्माण गर्नुपर्नेछ । भूमिगत विद्युत गृह हुनेछ । ८ किमीको कृतिम ताल निर्माण हुनेछ । ५०० रोपनी जग्गा ४ अर्ब रुपैयाँ खर्चेर अधिग्रहण भइसकेको छ । संरचनाहरु भने अधिग्रहण हुन बाँकी छ । साना ठूला गरी ७०० संरचनाहरु अधिग्रहण गर्नुपर्नेछ ।

नलगाड जलविद्युत आयोजनालाई क्षेत्रीय ऊर्जा सन्तुलन कायम गर्न तथा कर्णालीको विकासमा कोसेढुंगा सावित हुने अपेक्षा गरिएको छ ।

नेपालमा कुलेखानी (१०० मेगावाट)बाहेक जलाशय प्रकृतिका जलविद्युत् आयोजना निर्माण भएका छैनन ।अधिकांश नदी प्रवाहमा आधारित छन् । जसको उत्पादन सुक्खायाममा ३० प्रतिशतभन्दा तल झर्छ । ३००० मेगावाट जडित क्षमता पुगेको भएपनि हिउँदको १५०० मेगावाट पीक डिमाण्ड पूरा गर्न नेपालले भारतबाट ५०० मेगावाटसम्म आयात गरिरहेको छ ।


दिनेश खड्का