लगानी सम्मेलनलाई विदेशी हाइप्रोफाइलले पत्याएनन्, राजदूत, बहुराष्ट्रिय कम्पनी र साना लगानीकर्ता मात्रै आउने




काठमाडौं । सरकारले आगामी आइतबार र सोमबार आयोजना गर्दै गरेको तेस्रो लगानी सम्मेलनलाई विदेशी हाईप्रोफाइल तथा बिजनेश टाइकुनले पत्याएनन् ।

लगानी सम्मेलनमा सहभागि हुन ३ महिना अगाडि नै फेसबुकका संस्थापक मार्क जुकरवर्ग, भारतीय धनाड्य अडानी ग्रुपका अध्यक्ष गौतम अडानी, अलिबाबाका संस्थापक ज्याक मा, टेस्लाका संस्थापक एलन मस्कससहित विश्वका धनी तथा बिजनेश टाइकुनलाई निम्ता पठाएको थियो ।

बोर्डले १४ सय भन्दा बढीलाई निम्तो पठाएको भएपनि सम्मेलनमा सहभागि हुन कन्फर्म गरेका विदेशी भने जम्मा ३३५ मात्रै रहेको बोर्डले जानकारी दिएको छ ।

बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार निम्तो पठाउन ढिलो भएको र विदेशी हाईप्रोफाइलको एक वर्ष अगाडि नै कार्यक्रम तय भइसकेको हुने भएकोले आउन नसकिने जानकारी गराएका छन ।

कतिपय विदेशी धनाड्यले भने आउने र नआउने कुनै प्रतिकृया नै दिएनन् भने केहीले भने आउन नसक्ने भनेर जवाफ दिएको उपाध्यायले क्लिकमाण्डुलाई बताए ।

बोलाएका र अपेक्षा गरेका विदेशी हाइप्रोफाइल नआउनुनेको कारण उनीहरुको व्यस्तता बढेको र डिसेम्बरभन्दा अगाडिको कार्यक्रम सबै सेट भइसकेकोले केही लगानीकर्ताले बताएको पनि बोर्डको भनाइ छ ।

लगानी बोर्डका अनुसार हालसम्म बहुराष्ट्रिय कम्पनी युनिलिभर, कोकाकोला, डाबर, स्ट्याण्डर्ड चार्टर्ड सिंगापुर, विश्व बैंकका प्रतिनिधिले आउने पक्का गरेका छन् । सम्मेलनमा निम्तो पठाएका मध्ये एआईआईबी, आईएफसी, एडीबी, यूएनडीपी र डिप्लोमेटिक मिसनबाट प्रतिनिधि आउने पक्का भएको बोर्डको भनाइ छ ।

बहुराष्ट्रिय कम्पनी युनिलिभर, कोकाकोला, डाबर, स्ट्याण्डर्ड चार्टर्ड सिंगापुर, विश्व बैंकका प्रतिनिधिले आउने पक्का गरेका छन् । सम्मेलनमा निम्तो पठाएका मध्ये एआईआईबी, आईएफसी, एडीबी, यूएनडीपी र डिप्लोमेटिक मिसनबाट प्रतिनिधि आउने पक्का भएका छन्

विदेशी राजदूतहरु, कुवेती फण्ड फर एकोनोमिक डेभलपमेन्टसहितका प्रतिनिधिको लगानी सम्मेलनमा आउने पक्का भएको छ । अरु नाम चलेका तथा विदेशी विजनेश टाइकुनको भने प्रतिकृया नै नदिएकोले आउने सम्भावना पनि कमैको मात्र भएको लगानी बोर्डको भनाइ छ ।

तर, सम्मेलनमा ठूला लगानीलाई मात्रै नभएर नेपालले खोजेका साना तथा मध्यम खालका परियोजनामा लगानी गर्न भने इच्छुक लगानीकर्ता आउने छन् ।

लगानी सम्मेलनमा निजी क्षेत्रका ३१ वटा आयोजाना सोकेशमा छन् । यसमध्ये कतिपय जलविद्युत् र अरु क्षेत्रमा पनि लगानीकर्ताको चासो देखिएको छ । सम्मेलनमा सरकारी र निजी क्षेत्रका गरी १५२ वटा आयोजना सोकेशमा रहेको पनि लगानी बोर्डले जानकारी दिएको छ ।

लगानी सम्मलेनका लागि विभिन्न ५० देशबाट ३३५ लगानीकर्ता नेपाल आउने तय भएका छन् । लगानी बोर्डले १४ सय भन्दा बढी लगानीकर्तालाई नम्तो गरेको भएपनि हालसम्म ५० देशबाट नेपालीसहित ७७६ लगानीकर्ताले सम्मेलनमा सहभागि हुने बताएका छन् ।

सम्मेलनमा २४१ जना नेपालीमात्रै हुने छन् । नेपालमा विदेशी लगानी भित्र्याउन र लगानीको वातावरण बनाउन सरकारले तेस्रो पटक सम्मेलन गर्न लागेको हो । सम्मेलनमा सबैभन्दा बढी विदेशी सहभागि चीनबाट २१५ लगानीकर्ता र भारतबाट ११३ लगानीकर्ता आउने भएका छन् ।

सम्मेलनमा अमेरिकाबाट ३२ जना, जापानबाट २५ जना, वेलायतबाट १४ जना, बंगलादेशबाट १३ जना, संयुक्त अरब इमिरेट्स र जर्मनीबाट १०, १० जना आउने भएका छन् । अरु मुलुकबाट भने १ देखि ९ जना आउने छन । अधिकांश मुलुकबाट भने २ देखि ३ जना आउने गरी कम्र्फसमेसन दिएको लगानी बोर्डले जानकारी दिएको छ ।


क्लिकमान्डु